४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चुनावी तालमेलले महिला उम्मेदवारको प्रतिनिधित्व न्यून

राजनीतिक दलहरुबीच चुनावी तालमेल हुँदा स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवारको प्रतिनिधित्व न्यून देखिएको छ। स्थानीय तहका प्रमुख अथवा उपप्रमुख मध्ये एक पदमा महिला उम्मेदवार अनिवार्य गरेको भए पनि दलहरुबीच गठबन्धन हुँदा प्रमुख पदमा महिला उम्मेदवार छनौट हुन सकेका छैनन्। दुई दलहरुबीच तालमेल गर्दा महिला उम्मेदवार अनिवार्य नभएपछि महिला उम्मेदवार ओझेलमा परेका छन्।

चुनावी तालमेल गरेका बैतडीका स्थानीय तहमा प्रमुख तथा उपप्रमुख दुवै पदमा पुरुष उम्मेदवार बढी देखिएका छन्। अलग–अलग पार्टीबाट उम्मेदवार हुँदा अनिवार्य महिलाको प्रावधान नभएकाले दलहरुले पुरुष उम्मेदवारलाई प्राथमिकता  दिएका हुन्। पाटन नगरपालिकामा कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेलमा दुवै उम्मेदवार पुरुष मात्रै छन्। कांग्रेसका मेयरमा गौरीसिंह रावल र उपमेयरमा माओवादीका कमलसिंह बोहरालाई उम्मेदवार बनाइएको छ।

पञ्चेश्वरमा गठबन्धन दलहरुले अध्यक्षमा कांग्रेसका रमेशसिंह भण्डारी र उपाध्यक्षमा एकीकृत समाजवादीका राजेन्द्र चन्दलाई उम्मेदवार बनाइएको छ। दोगडाकेदार गाउँपालिकामा गठबन्धन दलहरुले अध्यक्षमा कांग्रेसका देवराज जोशी र उपाध्यक्षमा माओवादी केन्द्रका नवराज भट्ट (कुसुम)लाई उम्मेदवार बनाइएको छ। यस्तै डिलाशैनीमा गठबन्धन दलहरुले अध्यक्षमा माओवादी केन्द्रका लोकेन्द्र राना (शितल) र उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरालाई उम्मेदवार बनाइएको छ।

सुर्नयामा राप्रपासँग चुनावी तालमेल गरेको एमालेले अध्यक्षमा एमालेका अम्मरबहादुर कुँवर र उपाध्यक्षमा राप्रपाका देवबहादुर चन्दलाई उम्मेदवार बनाइएको छ। चुनावी तालमेल भएका पालिकामा महिला उम्मेदवार ओझेलमा परेकाले महिलाको प्रतिनिधित्व पनि कम हुने देखिएको छ। राजनीतिक दलहरुले महिला उम्मेदवारलाई अझै प्राथमिकता दिन नसकेको भन्दै दलहरुको आलोचना समेत भइरहेको छ।

प्रकाशित: १२ वैशाख २०७९ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App