२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

उम्मेदवार उठ्न धमाधम राजीनामा

फेरि चुनाव उठ्नका लागि बहालवाला जनप्रतिनिधिहरुले आइतबार धमाधम दिएका छन्। उनीहरुले आफू कार्यरत पालिकामा राजीनामा दिएका हुन्। फेरी चुनावमा उम्मेदवार हुन राजीनामा आइतबारसम्म दिनुपर्ने व्यवस्था निर्वाचन आयोगले गरेको थियो। साेही व्यवस्था अनुसार फेरि चुनावमा उम्मेदवार बन्न नगर प्रमुखदेखी वडा सदस्यसम्मले राजीनामा दिएका हुन्।  

कर्णालीमा गठबन्धन दलले तालमेल गर्न ढिलाई गर्दा जनप्रतिनिधिहरु राजीनामा दिन अन्यौल भएका छन्। भागबण्डामा कुन पालिका कसको पर्ने हो एकिन नहुँदा राजीनामा दिन समेत अन्यौल भएको थियो। प्रायः वडा अध्यक्ष, वडा सदस्य र जिल्ला समन्वय समितिका सदस्यहरुले राजीनामा दिएका छन्। राजीनामासंगै पालिकामा उनीहरु तिर्नुपर्ने बेरुजुदेखि प्रयोग गरेका सरसमान समेत फिर्ता गरेमा मात्र राजीनामा पालिकाले लिने व्यवस्था छ। कर्णालीका धेरै जिल्लामा जनप्रनिधिहरुले आइतबार राजीनामा दिएका छन्।

जाजरकोटस्थित भेरी नगरपालिकाका नगर प्रमुख सिपी धर्तीले पनि राजीनामा दिएका छन्। उनी एमालेबाट फेरि नगर प्रमुखमा चुनाव लड्दैछन्। त्यस्तै जिल्ला समन्वय समिति दैलेखका सदस्य सर्वजित महताराले पनि राजिनामा दिएका छन्। नेकपा समाजवादीबाट दैलेखको महावु गाउँपालिका अध्यक्ष जंगबहादुर शाही र नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्लले पनि राजीनामा दिएका छन्। दुवै पालिका गठबन्धनबाट पालिका प्रमुखका लागि उम्मेदवार दिने तयारीमा छन्।

महावु गाउँपालिका-५ का वडाअध्यक्ष जगत बहादुर हमाल, ६ का वडाअध्यक्ष डम्वरबहादुर थापा र वडा सदस्यहरुले राजीनामा दिएको प्रमुख प्रशासकिय अधिकृत भोलाराम पंगेनीले बताए। नारायण नगरपालिकाका ८ जना वडाअध्यक्षले राजिनामा दिएका छन्। राजीनामा दिने वडाअध्यक्षहरुमा ८ का वडाअध्यक्ष दलबहादुर खत्री, ९ का वडाअध्यक्ष ढालबहादुर थापा, ७ का वडाअध्यक्ष पूर्णबहादुर मल्ल, २ का वडाअध्यक्ष रेशमबहादुर थापा, ५ का वडाअध्यक्ष लालबहादुर बस्नते, १० का वडाअध्यक्ष लोकबहादुर थापा, ११ का वडाअध्यक्ष टंकबहादुर विष्ट र ४ का वडाअध्यक्ष विरबहादुर कटुवालसहित २२ जना वडा सदस्यले पनि राजिनामा दिएको प्रमुख प्रशासकिय अधिकृत भक्तबहादुर मल्ले बताए। भैरवी गाउँपालिकाका वडाअध्यक्ष विरेन्द्र शाहीले पनि राजीनामा दिएका छन्। 

चामुण्डाविन्दासैनी नगरपालिकाका कार्यपालिका सदस्य दिनेश विक नारायण नगरपालिकाका वडा सदस्य रमेश केसीले राजीनामा दिएका छन्। उनीहरु वडाअध्यक्षका लागि उम्मेदवार भएर चुनावमा होमिएका छन्। कर्णालीका प्राय पालिकामा जनप्रतिनिधिहरुले राजीनामा दिए पनि पूर्ण जानकारी आउन सकेको छैन्। सोमबारसम्म कुन पालिकामा कसले कुन पदमा राजीनामा दिएको पूर्ण विवरण आउने प्रदेश निर्वाचन आयोगले जनाएको छ।

प्रकाशित: ११ वैशाख २०७९ १२:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App