२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

धरानका जनप्रतिनिधिहरु धमाधम राजीनामा दिँदै

धरान उपमहानगरपालिकामा राजीनामा पत्र दर्ता गर्दै धरानका जनप्रतिनिधिहरु। तस्बिरः रोहित राई

स्थानीय तह निर्वाचन नजिकिदै गर्दा धरान उपमहानगरपालिकाका जनप्रतिनिधिहरु वैशाख ३० गतेको निर्वाचन नजिकिदै गर्दा धरानका जनप्रतिनिधिहरुले धमाधम राजीनामा दिन थालेका छन्।  

शनिबार मध्याह्नसम्म धरानका ६ जना वडाध्यक्षहरुले राजीनामा दिइसकेका छन्। यस्तै, विभिन्न वडाका दर्जन बढी वडा सदस्यहरुले पनि राजीनामा दिएर निस्सा लिइसकेका छन्। उम्मेदवार बन्न चाहने जनप्रतिनिधिहरुले मनोनयन दर्तामा अनिवार्य राजीनामा दिएको निस्सा पेश गर्नुपर्ने भएपछि धरानका जनप्रतिनिधिहरुले राजीनामा दिन थालेका हुन्।  

दिउँसोसम्म धरानको वडा नं ५ का अध्यक्ष सन्तोष लिम्बु, वडा नं ७ का अध्यक्ष जीवन सुवेदी, वडा नं १३ का अध्यक्ष नेत्र काफ्ले, वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भटट्राई, वडा नं १९ का अध्यक्ष पुर्ण लिम्बु, वडा नं १७ का अध्यक्ष सुर्यबहादुर भटट्राई (मनोज)ले राजीनामा दिइसकेका छन्।

यस्तै, वडा १० बाट दलित महिला सदस्य अरुणा सुन्दास, वडा सदस्यहरु सम्सेर वर्देवा र कृष्णबहादुर राईले पनि राजीनामा दिएका छन् भने वडा नं ६ का वडासदस्य हरिबहादुर राई, वडा १३ की दलित महिला उर्मिला परियार, वडा ७ की दलित महिलाकुमारी बिक, वडा ९ का सदस्य शरदरत्न पार्थिव, वडा १३ का सदस्य सन्तोष राई र वडा ४ का सदस्य गोरसमान गुरुंगले पनि राजीनामा दिइसकेको उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले जानकारी दिए। ‘जनप्रतिनिधिहरुले राजीनामा दिने क्रम अझै जारी छ,’ उनले भने।  

राजीनामा दिएका जनप्रतिनिधिहरुको निवेदन दर्ता भएपछि निस्सा प्रदान गरिएको पनि पौडेलले बताए। उम्मेदवारी मनोनयन दर्ता गर्दा जनप्रतिनिधिहरुले राजीनामा दिएको निस्सा पनि पेश गर्नुपर्ने भएकोले राजीनामा दिने क्रम जारी रहेको उनले बताए। ‘राजीनामाको निवेदन दर्ता भएपछि हामी निस्सा दिन्छौ, मनोनयन दर्ता गर्दा राजीनामा दिएको निस्सा देखाउनुपर्छ,’ उनले भने।  

वडाध्यक्षहरुले कार्यपालिका प्रमुखलाई सम्बोधन गरेर राजीनामा पत्र लेख्नुपर्ने हुन्छ भने वडा सदस्यहरुले नगरसभा अध्यक्षलाई सम्बोधन गरेर राजीनामा दिनुपर्नेछ। धरानमा जनप्रतिनिधिहरुलाई राजीनामा दिएको निस्सा प्रदान गर्न आज शनिबार पनि उपमहानगरपालिका खुल्ला गरिएको छ। यस्तै, दलित महिला सदस्यमा उम्मेदवारी दिन चाहनेहरुलाई पनि निस्सा दिनुपर्ने भएकोले शनिबार उक्त सेवा दिइएको पौडेलले बताए।

प्रकाशित: १० वैशाख २०७९ ०९:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App