७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

निर्वाचन आचारसंहिता पालनामा जोड

इलाम सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय। तस्बिरः भीम/नागरिक

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिताको कार्यान्वयन ‘नाम मात्रैको’ हुने गरेको छ। यसअघिका निर्वाचनमा आचारसंहिताको पालना हुन नसकेको र उल्लंघन भएको देखेर पनि अनुगमनकर्ताले बेवास्ता गर्ने गरेको सरोकारवालाको गुनासो छ।

आचारसंहिता पालना नहुँदा नागरिकको जनमत मोडिने र वास्तविक जनमत प्रकट नहुनेगरेको सरोकारवालाले बताएका छन्। उनीहरूले आचारसंहिता पालना नहुँदा निर्वाचन अत्यन्त खर्चिलो हुने गरेको पनि जनाए।

आउँदो ३० गते हुने स्थानीय तह निर्वाचनको आचारसंहिता जारी भएपनि उल्लंघनका घटना अहिले पनि भइरहेको अग्रज पत्रकार सोम सुुसेलीले बताए। ‘आचारसंहिता लागेका बेला सरकारी सवारी साधन दुरुपयोग भइरहेका छन्,’ उनले भने, ‘अनुगमन समितिले त्यसप्रति वास्ता नगरेको देखिन्छ।’

नेकपा (एमाले) जिल्ला सचिव उमेश गुरुङले दलहरू नै आचारसंहिता पालनामा इमान्दार हुनुपर्ने बताए। ‘निर्वाचनलाई भयरहित र नागरिकको वास्तविक जनमत प्रकट हुनेखालको बनाउन हामी सबैले आचारसंहिता पालना गर्नुपर्छ,’ उनले भने, ‘आचारसंहिता  हामी सबैले पालना गरेमा निर्वाचन स्वच्छ र विश्वसनीय हुन्छ।’

नेपाली काङ्ग्रेसका जिल्ला सभापति डम्बर खड्काले विगतका निर्वाचनमा जस्तो अब कसैले पनि आचारसंहिता उल्लंघन गर्न नहुने बताए। ‘विगत निर्वाचनहरूमा आचारसंहिताको व्यापक उल्लंघन भएको देखियो,’ उनले भने, ‘अब त्यस्तो नहोस्, पूर्ण कार्यान्वयनका लागि प्रयास गरियोस्।’ नेकपा (माओवादी केन्द्र)की नेतृ शान्ता बस्नेतले आचारसंहिता पालना गर्नु सबैको दायित्व भएको तर केही बुँदा स्पष्ट नभएको बताइन्। ‘भोट माग्न गाउँ जाँदा ४०–५० जनासम्मको टोली हुन्छ, उनीहरूले एकसाथ खाना खानुलाई भोजभतेर गरेको भन्न मिल्छ कि मिल्दैन?’ उनले भनिन्, ‘आचारसंहिता नागरिकका लागि सहज र मिल्दोजुल्दो पनि हुनुपर्छ।’

नेकपा (एकीकृत समाजवादी) अध्यक्ष भक्त केसीले आचारसंहिता पालना गर्नु सबैको जिम्मेवारी भएपनि विगतमा कार्यान्वयन नदेखिएको बताए। ‘हामी आफैंले बनाएको नियम हामीले नै पालना गरेनौं भने हामीप्रतिको आस्था कमजोर बन्नसक्छ,’ उनले भने, ‘सबैले आचारसंहिता पालना गरौं। निर्वाचनलाई स्वच्छ बनाऔं।’

जिल्लाका मुख्य निर्वाचन अधिकृत हरिषचन्द्र इङ्नामले निर्वाचन आचारसंहिताको बारेमा जानकारी दिए। आचारसंहिता पालना गर्नु सबैको कर्तव्य भएको भन्दै उनले जिल्लामा शान्तिपूर्ण, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नेमा ढुक्क रहन आग्रह गरे। ‘निर्वाचन आचारसंहिता पालना गर्नु सबैको कर्तव्य हो,’ उनले भने, ‘जिल्ला र पालिकामा गठन भएका निर्वाचन अनुगमन समितिले त्यसबारे अनुगमन गर्नेछन्।’

सदरमुकामस्थित जिल्ला समन्वय समितिको नयाँ भवनमा जिल्ला मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। जिल्लाका १० वटै पालिकाका केन्द्रमा समेत निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लाको कुल मतदाता संख्या २ लाख २४ हजार ७ सय ४८ छ। तीमध्ये पुरुष १ लाख १५ हजार ५ सय ५४, महिला १ लाख ९ हजार १ सय ९२ र अन्य २ मतदाता छन्। सूर्योदय नगरपालिकामा सबैभन्दा बढी ४५ हजार १ सय ९४ मतदाता छन्। इलाम नगरपालिकामा ३६ हजार ७ सय ३०, देउमाईमा २५ हजार ८ सय ५८ र माई नगरमा २४ हजार २ सय ९४ मतदाता छन्।  

गाउँपालिकामध्ये चुलाचुलीमा १८ हजार ५ सय ८०, फाकफोकथुममा १६ हजार ५ सय ३५, माइजोगमाईमा १६ हजार ५ सय ६६, माङ्सेबुङमा १२ हजार ५ सय ६८, रोङमा १५ हजार ३३ र सन्दकपुरमा १३ हजार ३ सय ९० मतदाता छन्। जिल्लामा एक सय ५१ मतदानस्थल र २ सय ८५ मतदान केन्द्र रहेको निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले जानकारी दिए। 

प्रकाशित: १० वैशाख २०७९ ०३:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App