५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

मोरङमा मिलेन भागबन्डा

गठबन्धनका दलहरूबीच भागबन्डा मिलाउन नसक्दा मोरङमा गठबन्धन गर्ने या नगर्ने भन्ने अन्योलमा दलहरू परेका छन्। सबै दलले धेरै भाग खोजेपछि मोरङमा गठबन्धन दलहरूबीच भागबन्डा मिलाउन सकस परेको हो।  

भागबन्डा मिलाउन दलहरूले प्रयास गरिरहे पनि भागबन्डा नमिल्दा विना निश्कर्ष गठबन्धनको बैठक स्थगित हुँदै आएको छ। शुक्रबार विहान विराटनगरमा वसेको गठबन्धनको बैठक पनि विना निश्कर्ष टुंगिएको छ। भागबन्डाको विषयमा अझै पनि विवाद कायमै रहेका कारण शुक्रबार विहानको बैठकले कुनै निश्कर्ष निकाल्न नसकेको नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुले बताए। बैठकमा भागबन्डा मिलाउने हदैसम्मको प्रयास गरिए पनि मिल्न नसकेको लिम्बुले बताए।

शुक्रबारको बैठकले भागबन्डा मिल्न नसकेपछि बैठक शनिबार विहान बस्नेगरी स्थगित गरिएको लिम्बुले जानकारी दिए। उनले प्रयास जारी रहेकाले उम्मेदवारी फिर्ता लिने समयसम्ममा भए पनि गठबन्धनमा सहमति जुट्ने विश्वास व्यक्त गरे। ‘गठबन्धनको प्रयास भइरहे पनि सहमति हुन बाँकी रहेको छ,’ लिम्बुले भने, ‘उम्मेदवारी फिर्ता लिने समयसम्ममै भए पनि भागबन्डा मिलाउँछौं।’ मोरङको विराटनगर महानगरपालिकामा केन्द्रबाटै गठबन्धनको निर्णय भइसकेको छ।

मेयरमा नेपाली कांग्रेस र उपमेयरमा जसपाका उमेदवार हुने निश्चित भइसके पनि अन्य वडाहरू र मोरङका अरु नगरपालिका र गाउँपालिकामा अझै सहमति हुन सकिरहेको छैन। विराटनगरलगायतका स्थानीय तहहरूमा जनप्रतिनिधिहरू राजीनामा दिएर उमेदवार बन्न तम्सीरहे पनि गठबन्धनका दलहरूमा सहमति नहुँदा निर्वाचनको तयारीमा जुट्न दलका नेता कार्यकर्तालाई अलमल भइरहेको छ।  

निर्वाचनको मिति नजिकिइसके पनि अझै भागबन्डामा कुरो नमिल्दा निर्वाचनको प्रचारप्रसार समेत सुस्त बनेको छ। मोरङका गाउँगाउँमा केही दिन पहिलेसम्म सबै पार्टीका नेता कार्यकर्ता उत्साहकासाथ निर्वाचनको प्रचारमा लागेको देखिए पनि गठबन्धनका कारण ५ दलका नेता कार्यकर्ताहरूको उत्साह घट्दै गएको देखिएको छ। यता अन्य दलका नेता कार्यकर्तामा अलमल भइरहँदा नेकपा एमालेका नेता कार्यकर्ताहरू भने आक्रमक रुपमा चुनावी प्रचारप्रसारमा लागेका छन्।

मोरङमा विशेष गरी नेपाली कांग्रेसभित्र गठबन्धन गर्ने या नगर्ने भन्नेमा नेता कार्यकर्ता दुई भागमा विभाजित भएका छन्। संस्थापन पक्षका नेताहरू गठबन्धनको पक्षमा छन् भने संस्थापन इतरका नेताहरू भागबन्डाको विरोधमा दबाबमुलक कार्यक्रम सञ्चालन गरिरहेका छन्।

प्रकाशित: ९ वैशाख २०७९ १३:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App