जिल्ला सदरमुकाम रहेको चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले बिहीबार पदबाट राजीनामा दिएका छन्। उनले उपप्रमुख जानुका पराजुलीलाई राजीनामापत्र बुझाए।
आगामी स्थानीय तह निर्वाचनमा पुनः नगर प्रमुखमा उम्मेदवारी दोहोर्याउने योजनासहित तामाङले पदबाट राजीनामा दिएका हुन्। निर्वाचन आयोगले पुनः उम्मेदवारी दिन चाहे जनप्रतिनिधिले राजीनामा दिनै पर्ने बाध्यकारी व्यवस्था गरेको छ। २०७४ को निर्वाचनमा उनी माओवादी केन्द्रबाट प्रमुखमा विजयी भएका थिए।
राजीनामा दिनुअघि उनले अन्तिम कार्यपालिका बैठक बसाले। पहिलो स्थानीय तहको निर्वाचनमा विजयी भएपछिको पाँच वर्षमा सहयोग पुर्याएकोमा सबैलाई धन्यवाद दिँदै उनले भने, ‘पार्टीबाट पुनः उम्मेदवार बन्ने चहानाअनुरुप राजीनामा दिँदैछु।’ बैठक लगत्तै उनले राजीनामा बुझाए।
माओवादीबाट तामाङसँगै केन्द्रीय नेता कृष्णप्रसाद सापकोटाले चौतारा नगर प्रमुखको उम्मेदवारको आकांक्षा राखेका छन्। सापकोटा केन्द्रीय सदस्यका साथै सिन्धुपाल्चोक इन्चार्ज पनि हुन्। माओवादी नगरपार्टीमा उनीहरुसहित पाँच जनाले प्रमुखमा दाबेदारी पेश गरेका छन्। दाबेदारमध्ये सापकोटा सबैभन्दा बलिया उम्मेदवार हुन्।
‘यसपटक सापकोटालाई पार्टीले नगर प्रमुखको उम्मेदवारमा अघि सार्छ,’ माओवादी जिल्ला स्रोतले भन्यो, ‘गठबन्धन हुँदा वा एक्लै लड्नु पर्दा पनि उहाँ (सापकोटा) नै पार्टीको उम्मेदवार हो।’ १४ वटा वडा रहेको यो नगरको अघिल्लो स्थानीय तह निर्वाचनमा माओवादी एक्लैले प्रमुख, उपप्रमुख र सातवटा वडा जितेको थियो। नगरमा माओवादी पहिलो पार्टी हो। त्यसैले गठबन्धन गर्दा पनि प्रमुख माओवादीको भागमा आउने उसको विश्वास छ।
तर यो नगरसहित जिल्लैभर सत्तारुढ पाँच दलीय गठबन्धन हुने सम्भावना ज्यादै न्यून रहेको नेताहरुको बुझाइ छ। पार्टीमा त्याग गरेका नेतालाई अवसर दिने नीतिअनुरुप सापकोटालाई पार्टीले अघि बढाउने एक नेताले बताए। निवर्तमान प्रमुख तामाङसमेत जसरी पनि दोहोरिन चहान्छन्। ‘पहिलो कार्यकालमा अघि सारेका योजना सम्पन्न गर्न दोहोर्याउने इच्छा हो,’ उनले भने।
आकांक्षी सापकोटा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाका भाइ हुन्। पार्टीले सञ्चालन गरेको जनयुद्धमा भूमिगत भएर केन्द्रीय नेतृत्वमा पुगेका सापकोटा माओवादीमा त्यागी र शालीन नेताको रुपमा परिचित छन्। युद्धमा उनले छोरी गुमाएका थिए। पहिलो कार्यकाल नगर हाँकेका तामाङ पनि लोकप्रिय नेतामा चिनिन्छन्। उनले अवसर पाइसकेकाले यो पटक अरुलाई बाटो खाली गरिदिनुपर्ने मत माओवादी नगर समिति र जिल्ला समितिमा बलियो छ।
पार्टीबाट आफूले पुनः उम्मेदवार दोहोर्याउन नपाउने सम्भावना देखेपछि निवर्तमान तामाङ राजीनामा दिएर पार्टी फेरि टिकटको माग राखेर अध्यक्ष पुष्पकमल दाहाल भेट्न राजधानी पुगेका छन्। स्रोतका अनुसार कुनै पनि हालतमा दाबेदारीबाट पछाडि नहट्ने मनस्थितिमा तामाङ छन्। ‘पार्टीले टिकट दिए धेरै राम्रो। नदिए पनि अरु धेरै बिकल्प छन्। मनोनयन दर्ता भइछाड्छ,’ उनी निकट एक नेताले बताए।
पार्टीले पेलेरै टिकट नदिएको खण्डमा कसरी अघि बढ्ने भन्ने विषयमा एमाले, कांग्रेस लगायत पार्टीसँग छलफल भइरहेको ती नेताले दाबी गरे। ‘एमालेसँग छलफल अलि बाक्लो भइरहेको छ,’ उनले भने। माओवादीले नदिए अन्तिममा तामाङले एमालेबाट टिकट ल्याउने चर्चा जिल्लामा छ। तर स्वयम् तामाङ र उनी पक्षीय नेताले यसलाई नकार्दै आएका छन्।
निर्वाचन अधिकृतको कार्यालय
उम्मेदवारी मनोनयनको चार दिनअघि बिहीबार जिल्लाका सबै १४ स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ। सम्वन्धित तहमा आयोगबाट तोकिएका निर्वाचन अधिकृतले कार्यालय स्थापना गरेर काम सुरु गरिसकेको मुख्य निर्वाचन अधिकृत चन्द्रप्रकाश तिवारीले बताए।
उनी चौतारा साँगाचोकगढी नगरपालिकाका निर्वाचन अधिकृतसमेत हुन्। उनका अनुसार सम्वन्धित स्थानीय तहको केन्द्रमा कार्यालय स्थापना गरिएको हो। मुख्य निर्वाचन अधिकृतको कार्यालय भने चौतारा नगरको भवनमा सञ्चालनमा ल्याइएको छ। यो नगरको निर्वाचन अधिकृतको कामसमेत यही कार्यालयबाट हुने छ।
प्रकाशित: ८ वैशाख २०७९ १३:४९ बिहीबार