राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि विद्युतीय मतदान प्रणालीमार्फत निर्वाचन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ।
महाधिवेशनको चौथो दिन हुने निर्वाचनका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिन (ईभीएम) तयारी अवस्थामा राखिएको निर्वाचन समितिले जनाएको छ।
निर्वाचन समितिका अनुसार प्रतिनिधिहरूले विद्युतीय माध्यमबाट मत हाल्ने व्यवस्था मिलाइएको छ भने मतदान प्रक्रिया सहज र व्यवस्थित बनाउन आवश्यक प्राविधिक तयारी पूरा गरिएको छ।
समितिले दिएको जानकारीअनुसार एक प्रतिनिधिले मतदान गर्न औसत १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। यही समय व्यवस्थापनलाई आधार बनाएर बुधबार राति ८:३० बजेदेखि मतदान प्रक्रिया सुरु गर्ने तयारी गरिएको छ।
मतदानअघि प्रतिनिधिहरूलाई विद्युतीय प्रणालीबारे जानकारी दिन तथा मतदान प्रक्रिया सहज बनाउन डेमो अभ्यास सञ्चालन भइरहेको छ। प्रतिनिधिहरूलाई मतदान मेसिनको प्रयोगबारे प्रत्यक्ष अभ्यास गर्ने अवसर पनि प्रदान गरिएको निर्वाचन समितिले जनाएको छ।
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनमा सुरुमा केन्द्रीय सदस्य पदका लागि मतदान हुनेछ। त्यसपछि प्राप्त परिणामका आधारमा पदाधिकारी चयनको निर्वाचन प्रक्रिया अघि बढाइने कार्यक्रम तय गरिएको छ।
विद्युतीय मतदान प्रणालीको प्रयोगले मतदान प्रक्रिया छिटो, व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।
प्रकाशित: १० असार २०८३ १८:२३ बुधबार


-600x400.jpg)


