१८ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

एकीकृत समाजवादीको घोषणापत्र सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले आसन्न स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।

आज यहाँ आयोजित समारोहमा अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्दै पार्टीका उम्मेदवारले नेतृत्व गरेका स्थानमा स्थानीय सरकारमार्फत प्रत्येक घरपरिवारलाई २०० युनिटसम्म बिजुली निःशुल्क दिने र यसका लागि सङ्घीय र प्रदेश तहका सरकारसँग आवश्यक समन्वय गरिने घोषणा गरे।

विद्युत् सेवा नपुगेका हरेक घरमा आधारभूत विद्युत् सेवा पुर्‍याइने भन्दै उनले स्थानीय सरकारको बजेटमा पहिलो प्राथमिकतामा स्वास्थ्य, शिक्षाका साथै खानेपानी निःशुल्क गर्ने योजना रहेको बताए। घोषणापत्रमा नेपाल नेतृत्वको सरकारले गरेका काम, विसं २०५१ मा एमालेको नौ महिने सरकारले गरेका आफ्नो गाउँ आफैँ बनाऔँलगायतका कार्यक्रम समावेश गरिएको छ। स्थानीय सरकारका काममध्ये निःशुल्करूपमा आमजनतालाई स्वास्थ्योपचार उपलब्ध गराउने कुरालाई प्रमुख प्राथमिकता दिइने उल्लेख छ।

उक्त पत्रमा भनिएको छ, 'हावापछि पानी नै जीवन हो भन्ने तथ्यलाई मनन गरी स्वच्छ खानेपानीको सुविधा पुगेका पालिकाका हरेक घरपरिवारलाई मासिक पाँच हजार लिटर पानी निःशुल्करूपमा उपलब्ध गराइने छ। खानेपानी नपुगेका स्थानमा पिउने पानी अनिवार्यरूपमा पुर्‍याइने छ।'

एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठनका कारणलाई प्रष्ट पारिएको घोषणापत्रमा देशको आन्तरिक उत्पादनबिना आत्मनिर्भर तथा दिगो अर्थतन्त्रको विकास सम्भव छैन। कृषि उत्पादनपछि स्थानीय साधन–स्रोत प्रयोग गरेर सुरु गर्न सकिने औद्योगीकरण भनेको घरेलु तथा ग्रामीण उद्योग नै भएको उल्लेख छ।

पालिकाले आफ्नो भूगोलभित्र के कस्ता घरेलु तथा ग्रामीण उद्योग खोल्नका लागि स्थानीय उद्यमीलाई प्रेरित गर्नु उपयुक्त हुनेछ भन्ने विषयमा गहन अध्ययन गर्ने, उत्पादित वस्तुको बिक्री हुने व्यवस्थाबारे लेखिएको छ।

प्रकाशित: ६ वैशाख २०७९ १४:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App