४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सत्ता साझेदार पाँच दलिय गठबन्धनमा किचलो

पाँचदलीय सत्ता साझेदार गठबन्धनका शीर्ष नेताहरूले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बताइराखेको अवस्थामा बाराका स्थानीय तहहरूमा गठबन्धनभित्र किचलो देखिएको छ।

गठबन्धनभित्रका कांग्रेस, नेकपा समाजवादी, माओवादी केन्द्र , जनता समाजवादी पार्टीका जिल्ला नेताहरूले गठबन्धनविना नै चुनावमा जाने निर्णय गर्न थालेपछि गठबन्धनमा किचलो देखिएको छ।

कलैया उपमहानगरपालिकामा कांग्रेसलाई छोडेर जनता समाजवादी, नेकपा माओवादी एवम् नेकपा समाजवादी पार्टी गठबन्धन गरेर चुनावमा जाने सहमति गरेका छन् भने जितपुरसिमरा उपमहानगरपालिकामा नेपाली कांग्रेसले अन्य दलसँग गठबन्धन नै नगरी चुनावमा जाने निर्णय गरेको छ। कांग्रेस उपमहानगर कमिटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै लड्ने विज्ञप्तिमार्फत नै सार्वजनिक गरेको छ।

‘नेपाली कांग्रेसको संगठनात्मक अवस्था विगतको तुलनामा राम्रो भएको र हाम्रो पार्टीबाट निर्वाचित वडाध्यक्ष र वडा सदस्यहरूले राम्रो कार्य सम्पादन गरेकाले जितपुर सिमरा उपमहानगरमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी अगामी स्थानीय निर्वाचनमा भाग लिने निर्णय गरिएको कांग्रेस जितपुरसिमरा उपमहानगर कमिटीका सभापति छवि शर्माले बताए।

२०७४ को निर्वाचनमा नगरप्रमुख र उपप्रमुख दुवै पदमा दोस्रो भएको कांग्रेसलाई अहिले प्रमुख पद दिए मात्रै गठबन्धन हुने नत्र कांग्रेस एक्लै चुनाव जित्ने अवस्था रहेको शर्माले बताए।। जितपुरसिमरामा २०७४ को निर्वाचनमा कांग्रेसले नगरप्रमुखमा नेकपा एमाले पछिको दोस्रो ११ हजार ९ सय ९५ मत ल्याएको थियो भने २४ वटा वडामध्ये ५ वडा जितेको थियो।

जीतपुर सिमरामा २०७४ को निर्वाचनमा प्रमुख/उपप्रमुख जितेको नेकपा एमाले विभाजन भए कांग्रेसलाई सत्ता साझेदारहरूले प्रमुखमा दिनु पर्ने शर्माले बताए। जितपुरसिमरा उपमहानगरपालिका औद्योगिक नगरीको रूपमा समेत रहेको र कम्युनिस्ट पार्टीबाट प्रमुख पदमा जितेकाहरूले धेरै उद्योगहरूमा तालाबन्दी गर्ने, जबरजस्ती चन्दा उठाउने कार्य गरेका कारणले यस क्षेत्रका उद्योग र व्यवसायीको संरक्षण गर्न र रोजगारीको वृद्धि गर्न कांग्रेसको नेतृत्वमा स्थानीय सरकारको आवश्यकता रहेको शर्माले बताए।

माओवादी केन्द्रले भने विगतको निर्वाचनमा १० वटा वडा अध्यक्षसहित सम्मानजनक मत ल्याएकाले जितपुर सिमरामा आफ्नो पहिलो दाबी हुने जनाएको छ।

कलैयामा कांग्रेसबाहेक गठबन्धन

पाँचदलीय गठबन्धन र सरकारको समेत नेतृत्व गरिरहेको कांग्रेसलाई बाहिर राखेर कालैया उपमहानगरपालिकामा जनता समाजवादी, नेकपा माओवादी र नेकपा समाजवादी पार्टीले तीन दलिय गठबन्धन गरेर स्थानीय चुनावमा जाने जनाएका छन्।

गत बिहीबार कलैयामा पत्रकार सम्मेलन गरी तीन दलका नेताहरूले कलैया उमहानगरमा कांग्रेसबिना नै गठबन्धन गरेर चुनावमा जाने बताएका थिए। पत्रकार सम्मेलनमा सहभागी रहेका जनता समाजवादीका प्रमोद गुप्ताले कांगे्रससँग गठबन्धन गर्दा उसैलाई प्रमुख पद चाहिने भएकोले कांग्रेस बाहेरका पार्टीहरूले गठबन्धन गरेर स्थानीय चुनावमा जाने सहमति भएको बताएका छन्।

कलैया उपमहानगरपालिकामा कांग्रेसबाट प्रमुख र उपप्रमुखमा निर्वाचित भएका थिए। २०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेस पहिलो, एमाले दोस्रो, तत्कालीन फोरम नेपाल तेस्रो, नेकपा माओवादी चौथौ स्थानमा रहेको थियो।

बारा कांग्रेसमा विवाद  

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसका बाराका सभापति सभापति राजेश राय यादवलले गरेका कामलाई लिएर विवाद सुरु भएको छ। पार्टीका उपसभापतिद्वय मनोज भट्ट, अमिरीलाल राउत पाल, सचिवद्वय भैयाराम प्रसाद यादव, राजेशकुमार रौनियार, सहसचिवद्वय प्रमोद प्रसाद यादव र कृष्णदेव प्रसाद जैसवारले सभापति राजेश राय यादवको कामकारवाही प्रति असहमति राख्दै आईतबार संयुक्त विज्ञप्ति जारी गरेपछि विवाद बाहिर आएको हो।

१४औं महाधिवेशनपछि बारामा गुट उपगुटलाई समाप्त पार्ने भनिए पनि जिल्ला सभापति यादव एकलौटी ढंगले अघि बढेको र सभापतिको कार्यले कांग्रेस कमजोर हुने अवस्था आएकाले विरोध गर्नुपरेको उपसभापति मनोज भट्टले आरोप लगाएका छन्। अधिवेशनपछि जिल्ला कार्य समितिको एकपटक पनि बैठक नबसेको, स्थानीय तहको निर्वाचन लक्षित गतिविधिमा पनि सभापतिले आफू र आफ्नो पक्षका सदस्यहरूलाई मात्रै परिचालन गरेको, पत्राचार पनि सचिवलाई जिम्मा नदिई आफैंले गर्ने गरेको गुनासो भट्टले गरे।

असन्तुष्ट पदाधिकारीको मात्रै बैठकले स्थानीय तहको निर्वाचनका लागि १६ वटै पालिकामा छुट्टै प्रतिनिधि खटाउने समेत चेतावनी दिएका छन्। जिल्ला सभापतिले पार्टीको विधानलाई बेवास्ता गर्दै एकलौटी ढंगले अघि बढेपछि विरोध जनाउन बाध्य भएको अर्का सचिव भैयाराम यादवले बताए।

‘जिल्ला कार्य समितिको बैठक एकपटक पनि बसेको छैन, स्थानीय तहको निर्वाचनका लागि १६ वटै पालिकामा प्रतिनिधि खटाइसकेका छन्। एकलौटी ढंगले पार्टी चलाउन खोजेका छन्,’ उनले भने, ‘मिलेर जाने छाँटकाँट देखिएन। सभापतिको गलत कदमको विरोध नगरी बस्न सकिएन।’

सभापतिको व्यवहारका कारण स्थानीय चुनावमा पार्टीको प्रचार प्रसार नै प्रभावित हुने उनी बताउँछन्। ‘स्थानीय तहको निर्वाचनमा पूरै कमिटी परिचालन गर्न पाउँदा नतिजा राम्रो आउँथ्यो,’ उनले भने, ‘राम्रो भयो भने उहाँको पनि राम्रो हुने हो, नेतृत्व क्षमता राम्रो देखिरहेको छैन, जिम्मेवारी बाँडफाँट गरेर अघि नबढ्ने हो भने पदाधिकारी हुनुको के अर्थ?’

प्रकाशित: ६ वैशाख २०७९ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App