२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भागबन्डाको आधार कोर्दै गठबन्धन

सत्तारुढ पाँच राजनीतिक दलहरू महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख र उपप्रमुखको भागबन्डा टुंगो लगाउन असफल भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दुईपटक बसेको शीर्ष नेताहरूको बैठकमा भरतपुर, वीरगन्ज, पोखरा महानगरपालिकाको दाबी प्रमुख तीन दलले नै नछाडेपछि भागबन्डा नमिलेको हो। काठमाडौं, ललितपुर र विराटनगर महानगरपालिकाको प्रमुख कांग्रेसलाई दिन गठबन्धनका दलहरू सहमत भइसकेका छन्।

वीरगन्ज र भरतपुर महानगरपालिका जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रलाई दिनेमा प्रमुख दलहरूबीच करिबकरिब सहमति जुटेको दाबी गर्दै बैठकमा सहभागी एक नेताले पोखरा महानगरपालिकाचाहिँ के गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको जानकारी दिए। कांग्रेसले भरतपुर महानगरपालिकाको दाबी कायमै राखे पोखराको नेतृत्व माओेवादी केन्द्रलाई दिएर प्रतिनिधिसभा निर्वाचनमा माओेवादी केन्द्रलाई चितवनमा सहयोग गर्ने प्रस्ताव राखिएको छ। तर एकीकृत समाजवादीले पोखरा महानगरपालिकाको नेतृत्व दाबी गर्दै आएको छ।

कांग्रेस नेता तथा सरकारका प्रवक्ता सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सहमतिका लागि विभिन्न विकल्प र प्रस्तावहरूमा छलफल जारी रहेको बताए। ‘हामीले तालमेलका विषयमा छलफल गरेका छौं। तर निष्कर्षमा पुगेका छैनौं,’ मन्त्री कार्कीले भने, ‘निष्कर्षको नजिक पुगेका छौं। भोलि (मंगलबार) बिहान साढे ११ बजे फेरि बस्छौं र निर्णयमा पुग्छौं।’

बैठकमा सत्ता गठबन्धनमा रहेका अन्य तीन दलले ११ उपमहानगरपालिकामध्ये कांग्रेसलाई पाँच दिने प्रस्ताव गरेका छन्। अन्य तीन दलले दुईदुई उपमहानगरपालिका लिने प्रस्ताव गरेका थिए। तर कांग्रेसले पाँच उपमहानगरपालिकामा चित्त नबुझाएको बैठकमा सहभागी एक नेताले बताए। ‘अधिकांश महानगर र उपमहानगरपालिकामा गठबन्धनभित्रका दलहरूबीच कांग्रेस नै ठुलो दल हो,’ उनले भने, ‘तर तालमेल गरेर जाने भनेपछि सबै उसले नेतृत्व पाउनुपर्छ र राख्नुपर्छ भन्ने जायज कुरा होइन।’

सत्ता साझेदार दलहरूबीच लामो छलफल भएको जानकारी दिँदै माओवादी केन्द्रका नेता देवप्रसाद गुरुङले सहमतिका लागि धेरै आधार तय भएको दाबी गरे। केही जटिलता र समस्या भए पनि दलहरू करिबकरिब सहमतिनजिक पुगेको तर निर्णय भने भइनसकेको उनले जानकारी दिए।

प्रकाशित: ६ वैशाख २०७९ ००:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App