३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँच दलीय गठबन्धनमा किचलो

पाँच दलीय सत्ता साझेदार गठबन्धनका शीर्ष नेताहरुले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने बताई राखेको अवस्थामा बाराका स्थानीय तहहरुमा गठबन्धनभित्र किचलो देखिएको छ।

गठबन्धनभित्रका नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीका जिल्ला नेताहरुले गठबन्धन बिना नै चुनावमा जाने निर्णय गर्न थाले पछि गठबन्धनमा किचलो देखिएको हो।

कलैया उपमहानगरपालिकामा काँग्रेसलाई छोडेर जनता समाजवादी, माओवादी केन्द्र एवम् एकीकृत समाजवादी पार्टी गठबन्धन गरेर चुनावमा जाने सहमति गरेका छन् भने  जितपुरसिमरा उपमहानगरपालिकामा काँग्रेसले अन्य दलसँग गठबन्धन नै नगरि चुनावमा जाने निर्णय गरेको छ।  

काँग्रेस उपमहानगर कमिटीले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग गठबन्धन नगरी एक्लै लड्ने विज्ञप्तिमार्फत नै सार्वजनिक गरेको छ।‘नेपाली काँग्रेसको संगठनात्मक अवस्था विगतको तुलनामा राम्रो भएको र हाम्रो पार्टीबाट निर्वाचित वडाअध्यक्ष र वडा सदस्यहरुले राम्रो कार्यसम्पादन गरेकाले जीतपुर सिमरा उपमहानगरमा कुनै पनि पार्टीसँग गठबन्धन नगरी अगामी स्थानीय निर्वाचनमा भाग लिने निर्णय गरिएको नेपाली काँग्रेस जितपुरसिमरा उपमहानगर कमिटीका सभापति छबि शर्माले बताएका छन्।

२०७४ को निर्वाचनमा नगरप्रमुख र उपप्रमुख दुवै पदमा दोस्रो भएको नेपाली काँग्रेसलाई अहिले प्रमुख पद दिए मात्रै गठबन्धन हुने नत्र काँग्रेस एक्लै चुनाव जित्ने अवस्था रहेको शर्माले बताए। जीतपुर सिमरामा २०७४ को निर्वाचनमा नेपाली काँग्रेसले नगरप्रमुखमा नेकपा एमाले पछिको दोस्रो ११ हजार ९९५ मत ल्याएको थियो भने २४ वटा वडामध्ये ५ वडा जितेको थियो। जीतपुर सिमरामा २०७४ को निर्वाचनमा प्रमुख/उपप्रमुख जितेको नेकपा एमाले विभाजन भए काँग्रेसलाई सत्ता साझेदारहरुले प्रमुखमा दिनु पर्ने शर्माले बताए।

जितपुरसिमरा उपमहानगरपालिका औद्योगिक नगरिको रुपमा समेत रहेको र कम्युनिष्ट पार्टीबाट प्रमुख पदमा जितेकाहरुले धेरै उद्योगहरुमा तालाबन्दी गर्ने, जबरजस्ती चन्दा उठाउने कार्य गरेका कारणले यस क्षेत्रका उद्योग र व्यवसायीहरुको संरक्षण गर्न र रोजगारीको वृद्धी गर्न काँग्रेसको नेतृत्वमा स्थानीय सरकारको आवश्यकता रहेको शर्माले बताए। माओवादी केन्द्रले भने विगतको निर्वाचनमा १० वटा वडा अध्यक्ष सहित सम्मानजनक मत ल्याएकाले जीतपुर सिमरामा आफ्नो पहिलो दाबी हुने जनाएको छ।

कलैयामा काँग्रेस बाहेक गठबन्धन

पाँच दलिय गठबन्धन र सरकारको समेत नेतृत्व गरि रहेको नेपाली काँग्रेसलाई बाहिर राखेर कालैया उपमहानगरपालिकामा जनता समाजवादी,नेकपा माओवादी र नेकपा समाजवादी पार्टीले तीन दलिय  गठबन्धन गरेर स्थानीय चुनावमा जाने जनाएका छन्।

गत बिहीबार कलैयामा  पत्रकार सम्मेलन गरि तीन दलका नेताहरुले कलैया उमहानगरमा काँग्रेस बिना नै गठबन्धन गरेर चुनावमा जाने बताएका थिए। पत्रकार सम्मेलनमा सहभागी रहेका जनता समाजवादीका प्रमोद गुप्ताले काँग्रससँग गठबन्धन गर्दा उसैलाई प्रमुख पद चाहिने भएकोले काँग्रेस बाहेरका पार्टीहरुले गठबन्धन गरेर स्थानीय चुनावमा जाने सहमति भएको बताएका छन्।

कलैया उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट प्रमुख र उपप्रमुखमा  निर्वाचित भएका थिए। २०७४ सालको स्थानिय निर्वाचनमा नेपाली काँग्रेस पहिलो, एमाले दोस्रो, तत्कालिन फोरम नेपाल तेस्रो, नेकपा माओवादी चौथौ स्थानमा मत ल्याउन सफल भएको थियो।

बारा काँग्रेसमा विवाद

स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा नेपाली कांग्रेसका बाराका सभापति सभापति राजेश राय  यादवलले गरेका कामलाई लिएर विवाद सुरु भएको छ।

पार्टीका उपसभापतिद्वय मनोज भट्ट, अमिरीलाल राउत पाल, सचिवद्वय भैयाराम प्रसाद यादव, राजेशकुमार रौनियार, सहसचिवद्वय प्रमोद प्रसाद यादव र कृष्णदेव प्रसाद जैसवारले सभापति राजेश राय यादवको कामकारवाही प्रति असहमति राख्दै आईतबार संयुक्त विज्ञप्ति जारी गरे पछि विवादहरु बाहिर आएको हो।

१४औं महाधिवेशन पछि बारामा गुट उपगुटलाई समाप्त पार्ने भनिए पनि जिल्ला सभापति यादव एकलौटी ढंगले अघि बढेको र सभापतिको कार्यले काँग्रेस कमजोर हुने अवस्था आएकोले बिरोध गर्नुपरेको उपसभापति मनोज भट्टले आरोप लगाएका छन्।

अधिवेशन पछि जिल्ला कार्य समितिको एक पटक पनि बैठक नबसेको, स्थानीय तहको निर्वाचन लक्षित गतिविधिमा पनि सभापतिले आफू र आफ्नो पक्षका सदस्यहरुलाई मात्रै परिचालन गरेको, पत्राचार पनि सचिवलाई जिम्मा नदिई आफैंले गर्ने गरेको गुनासो भट्टले गरे।

असन्तुष्ट पदाधिकारीको मात्रै बैठकले स्थानीय तहको निर्वाचनका लागि १६ वटै पालिकामा छुट्टै प्रतिनिधि खटाउने समेत चेतावनी दिएका छन्। जिल्ला सभापतिले पार्टीको विधानलाई बेवास्ता गर्दै एकलौटी ढंगले अघि बढेपछि विरोध जनाउन बाध्य भएको अर्का सचिव भैयाराम यादवले बताए।

‘जिल्ला कार्य समितिको बैठक एक पटक पनि बसेको छैन, स्थानीय तहको निर्वाचनका लागि १६ वटै पालिकामा प्रतिनिधि खटाइसकेका छन्। एकलौटी ढंगले पार्टी चलाउन खोजेका छन्’ उनले भने, ‘मिलेर जाने छाँटकाँट देखिएन। सभापतिको गलत कदमको विरोध नगरी बस्न सकिएन।’

सभापतिको व्यवहारका कारण स्थानीय चुनावमा पार्टीको प्रचार प्रसार नै प्रभावित हुने उनी बताउँछन्। ‘स्थानीय तहको निर्वाचनमा पुरै कमिटि परिचालन गर्न पाउँदा नतिजा राम्रो आउँथ्यो’, उनले भने, ‘राम्रो भयो भने उहाँको पनि राम्रो हुने हो, नेतृत्व क्षमता राम्रो देखिरहेको छैन, जिम्मेवारी बाँडफाँट गरेर अघि नबढ्ने हो भने पदाधिकारी हुनुको के अर्थ?’

प्रकाशित: ५ वैशाख २०७९ १२:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App