६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

‘हाम्रो होइन, राम्रो छानौं’

नेपाली कांग्रेसले महानगर र उपमहानगरपालिको उम्मेदवार छनोटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिएको छ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा शनिबार दिउँसो बसेको कार्य सम्पादन समितिको बैठकमा बोल्ने नेताहरूले पार्टीभित्रको सबै पक्षलाई समेटेर सक्षम र प्रभावशाली नेतालाई अघि सार्न नेतृत्वलाई सुझाएका हुन्।

राम्रोभन्दा हाम्रोलाई मात्र उम्मेदवार बनाएको अवस्थामा निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन कठिन हुने भन्दै उम्मेदवार छनोटमा ध्यान दिनुपर्नेमा जोड दिएका छन्। गठबन्धन मात्रभन्दा त्यसको असर तल्लो तहमा नराम्रो पर्नसक्नेतर्फ ख्याल गर्नुपर्ने धारणा राख्दै सहभागीहरूले स्थानीय आवश्यकता र अवस्थालाई ध्यान दिनुपर्नेमा जोड दिएका छन्।

पार्टीका अधिकांश तल्लो तहका निकाय गठबन्धनको विपक्षमा रहेको जानकारी आएपछि त्यसका विषयमा पनि छलफल गरेको कांग्रेसले स्थानीय अवस्था र आवश्यकताका आधारमा नै अघि बढ्नुपर्ने धारणा राखेका छन्।

सत्ता गठबन्धनमा रहेका राजनीतिक दलबीच तालमेलका बारे देखिएका जटिलताका विषयमा छलफल भएको जानकारी दिँदै सहमहामन्त्री बद्री पाण्डेले भने, ‘सकेसम्म गठबन्धनका दलहरूबीच तालमेल गरेर जाउँ त्यसका लागि स्थानीय अवस्था र आवश्यकताका आधारमा गर्ने भनिएकाले स्थानीय तहले जे भन्छन् त्यसै अनुसार अघि बढ्नुपर्छ भन्ने नै छ।’

तालमेल हुन नसक्ने स्थानीय तहमा गठबन्धनमा रहेका दलहरूसँग मित्रवत प्रतिस्पर्धा गर्नुपर्नेमा नेताहरूले जोड दिएका छन्। बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माका साथै समहामन्त्री बद्री पाण्डे सहितका नेताहरूले भरतपुर महानगरपालिकाले गर्दा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनभित्र चुनावी तालमेल गर्न कठिन हुने धारणा राखेका छन्।

२०७४ को स्थानीय चुनावमा माओवादीलाई भरतपुर छाडेको भन्दै अहिले कांग्रेसलाई छाड्नु पर्ने धारणा राखेका छन्। माओवादी त्यसका लागि तयार नभए भरतपुरमा मित्रवत प्रतिस्पर्धा गर्नुपर्ने धारणा राखेका छन्। तर, प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादर देउवाले भरतपुरमा माओवादीलाई नै नेतृत्व छाड्ने संकेत गरेका छन्।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले पनि स्थानीय तहको निर्वाचनमा सत्तारूढ दलहरूबीच नै प्रतिस्पर्धा पनि हुनसक्ने बताएका छन्। एमालेले चुनाव हार्ने तर सत्तारूढ गठबन्धन दलहरूबीच भने आफैंले चुनाव जित्छु भन्ने लागेमा त्यहाँ फ्रेन्ड्ली प्रतिस्पर्धा हुनसक्ने भन्दै महतले भने, ‘कुनै ठाउँमा समझदारी हुन सकेन। त्यहाँ सबैको आआफ्नो दाबी रह्यो। मेरै त्यहाँ ज्याँदा शक्ति छ, मेरै जनाधार बढेको छ। हामीले नै जित्छौं र विपक्ष दल एमालेले जित्दैन भन्ने त्यस्तो स्थिति आयो भने त्यस्तो धेरै ठाउँमा आउन पनि सक्छ। त्यस्तो ठाउँमा फ्रेन्ड्ली प्रतिस्पर्धा हुन पनि सक्छ।’

महानगरपालिका र उपमहानगरपालिका मेयर, उपमेयर बाहेकका अन्य सबै स्थानीय तहको उमेदवार सम्बन्धित पार्टी समितिले टुंगो लगाउने बताउँदै महतले भने, ‘महानगर र उपमहानरपालिकाका विषयमा शनिबार सुझाव लिने काम भएको छ। कुनै निर्णय भएको छैन।’

प्रकाशित: ४ वैशाख २०७९ ०४:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App