८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कपिलवस्तु नगरपालिकाः उम्मेदवारको टुंगो लगाउन सकेनन् कांग्रेस र एमालेले

स्थानीय निर्वाचन २०७९

चुनाव आउन २७ दिन मात्र बाँकी रहँदा पनि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवारको टुंगो लगाउन सकेका छैनन्। गाउँदेखि शहरसम्म चुनावी चर्चा बढेसँगै उम्मेदवारको टुंगा नलाग्दा अन्यौलता पनि उतिक्कै छ। मनोनयन पत्र दर्ता गर्ने दिन नजिकिएको छ तर, अझै प्रमुख दलले नै उम्मेदवार छनौट गर्न सकेको छैन। मेयर, उपमेयर र वडाध्यक्षमा आकांक्षी धेरै हुँदा कांग्रेस र एमालेलाई उम्मेदवार छनौटमा सकस परेको छ। यसैक्रममा नेपाल कै पुरानो नगरपालिका मध्ये एक कपिलवस्तु नगरपालिकामा समेत अझैसम्म कांग्रेस र एमालेले उम्मेदवारको टुंगो लागाएको छैन।

कपिलवस्तु नगरपालिकामा कांग्रेसबाट मेयर, उपमेयरमा धेरै आकांक्षी रहेको पार्टीका नगर कार्य समितिका अध्यक्ष खुर्सेद अहमद खाले बताए। उनले मेयर र उपमेयर वडाध्यक्ष र वडा सदस्यहरुमा समेत धेरै अकांक्षी रहेको बताए। कांग्रेसबाट मेयरमा ८ र उपमेयरमा ९ जना आकांक्षी छन्। कपिलवस्तु नगरपालिकाका वर्तमान मेयर किरण सिंह, वर्तमान उपमेयर लक्ष्मी गुप्ता, राजुप्रासद अर्याल, ललित गुरुङ, मोहन शर्मा, रबिन्द्रनाथ ठाकुर र शोहरत तेलीर खुर्सेद अहमद खाले नगर कार्य समितिमा मेयरका लागि आफ्नो नाम दर्ता गराएका छन्।

यस्तै उपमेयरमा राजेश ज्ञवाली, प्रकाश घिमिरे, गोपीकृष्ण शर्मा, निर्मला पराजुली, बसन्तकुमारी सिंह, प्रशान्त कार्की, गयादीन कुर्मी, निर्मलादेबी कसौधनले नाम दर्ता गराएका छन्। नगर अध्यक्ष खाले मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुको आएको नामलाई सोमबार बैठक बसेर छलफल गरिने बताए। बैठकले गरेको निर्णयको आधारमा आएको नामावलीलाई जिल्ला र प्रदेश कार्य समितिमा पठाउने उनले बताए।

मेयरको टिकटका लागि कांग्रेसमा तीव्ररुमपा लबिङ सुरु भएको छ। नगर अध्यक्ष खाले आफूहरुले जित्ने उम्मेदवारलाई टिकट दिनुपर्ने भन्दै सुझाव संकलन गरेको बताए। उनले सांसद बृजेशकुमार गुप्ता र उनका सबै समर्थकहरु एमालेमा प्रवेश गरेपछि कांग्रेस र एमालेबीच झन प्रतिस्पर्धा बढेको उनले बताए। ‘हामीले जित्ने उम्मेदवारलाई नै टिकट दिनुपर्छ भन्ने माग गरेका छौ,’ उनले भने।

उता १२ वटै वडा समितिका अध्यक्षले आफूहरु भने गठबन्धनको पक्षमा नरहेको खाले बताए। तर कांग्रेस नेता सुधाकर पाण्डेय भने वर्तमान अवस्थामा केन्द्रीय निर्णय अनुसार ५ दलबीच गठबन्धन हुनु पर्नेमा जोड दिए। कांग्रेस सभापति अब्दुल कलामले जिल्लाका १० वटै पालिका र ९६ वटै वडाबाट आकांक्षी उम्मेदवारका आउने नामहरुका बिषयमा छलफल गरी टुंगो लगाउने बताए।

२०७४ सालको निर्वाचनमा कांग्रेसले मेयर, उपमेयर र ६ वटा वडाध्यक्ष जितेको थियो। मेयर किरण सिंहले गत निर्वाचनमा ९ हजार २५४ मत ल्याई विजयी भएका थिए।  

कपिलवस्तु नगरपालिकाको मेयरमा लड्न एमालेबाट ८ जना र ५ जना उपमेयरमा नाम दर्ता भएको पार्टी नगर अध्यक्ष श्याम प्रकाश प्रजापतिले बताए। राजेशकुमार गुप्ता, बासुदेश कसौधन, स्ुदीप पौडेल, आजाद अहमद दर्जी, शान्ति देबी हरिजन, बावुराम खनाल, श्याम प्रकाश प्रजापतिले मेयरमा नाम दर्ता गराएका  हुन्। यस्तै उपमेयरमा सरिता आचार्य, पार्वती पाण्डेय, ताहिरा खातुन, रुकैया खातुन, गीता पोख्रेल, तुलसा पाण्डेय गैर र सुनीता गुप्ताको नाम दर्ता भएको छ। पार्टी प्रवेश गर्नुपूर्व एमाले केन्द्रीय कमिटीसँग भएको सहमति अनुसार सांसद बृजेशकुमार गुप्ताले मेयरमा राजेश गुप्ता, बासुदेव कसौधन र सुदीप पौडल र उपमेयरमा तुल्सा पाण्डेय गैरे र सुनीता गुप्ताको नाम दर्ता गराएको एमाले पार्टी श्रोतले जनाएको छ। सांसद गुप्ताको कोटामा कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिका परेकोले उनले सिफारिस गरेका उम्मेदवारले नै टिकट पाउने बताइएको छ।

कपिलवस्तु नगरपालिका मेयरमा सांसद गुप्ताको सिफारिसमा काकाका छोरा डाक्टर राजेशकुमार गुप्ताले टिकट पाउने निश्चित प्रायः रहेको श्रोतको भनाइ छ। बुटवलको आम्दा अस्पतालमा एनेसथेसियाका डाक्टर राजेश गुप्ताले २ महिनाअघि नै राजीनामा दिएर चुनावमा होमिएका छन्। कपिलवस्तु नगरपालिकाका पूर्व मेयर रामदास गुप्ताका कान्छा छोरा रहेका राजेशले आफूलाई टिकट पाउनेबारे अझैसम्म कसैले जानकारी नगराएको बताए। उनले पार्टीले टिकट दिए आफू मेयरको चु्नाव लड्न तयार रहेको बताए। दुई साताअघि उनी आफ्ना दाजु सांसद बृजेश गुप्ता बुबा रामदास गुप्तासंगै तौहिलवामा राखिएको आमसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाई एमालेमा पार्टी प्रवेश गराएका थिए।  

सांसद गुप्ताका समर्थक पौडल रुष्ट

सांसद बृजेशकुमार गुप्ताले आफ्ना भाइ राजेशकुमार गुप्तालाई कपिलवस्तु नगरपालिकाको मेयरमा लड्न चयन गरेको भन्दै उनका समर्थक तथा वडा नम्बर १ का वडाध्यक्ष सुदीप पौडेल रुष्ट बनेका छन्। सांसद गुप्ता २ दशक बढीदेखि साथ दिँदै आएका पौडेलले मेयरमा टिकट नपाउने भएपछि निकै दुःखी बनेका बताए। ‘२५ वर्ष बढी सयमदेखि सांसद गुप्तासँग सहकार्य गरेर काम गरे तर मेरो मूल्यांकन भएन,’ उनले भने। उनले नगरको गाउँदेखि शहरसम्म मेयरमा लड्न सुझाव दिएको बेला सांसद गुप्ताले अन्तिम सयममा साथ नदिँदा आफू राजनीतिको कठिन मोडमा आएको बताए। उनले एमालेबाट टिकट नपाए पनि आफू मेयरमा चुनाव लड्ने बताए। उनले कांग्रेस, जनता समाजवादी पार्टी, राप्रपा लगायतका दलहरुसँग उम्मेदवारीका बिषयमा छलफल जारी राखेको उल्लेख गरे।

एमाले र कांग्रेसबीच नै प्रतिस्पर्धा  

आउने वैशाख ३० गते हुने निर्वाचनमा कपिलवस्तु नगरपालिकामा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। गत निर्वाचनमा २०७४ मा कांग्रेसले मेयर, उपमेयर र वडा नम्बर २, ३, ५, ७, ८ र १० मा जितेको थियो। गत निर्वाचनमा पूर्व मेयर रामदास गुप्ता स्वतन्त्ररुपमा मेयरमा उम्मेदवार बनेका थिए। उनी ५ हजार ६३१ मतका साथ दोश्रोे भएका थिए। त्यस बेलाका एमालेका उम्मेदवार अब्दुल रउफ खाले २ हजार ४६१ मतका साथ चौथो भएका थिए। अहिले दुबैको मत जोड्दा एमालेका उम्मेदवार मजबुत स्थानमा जाने देखिन्छ। गत निर्वाचनमा बृजेशका समर्थक र एमालेले ५ वडाध्यक्ष जितेका थिए।  

चुनाव रोचक हुने  

आगामी वैशाख ३० गते हुने निर्वाचन रोचक हुने भएको देखिएको छ। एमालेबाट राजेशकुमार गुप्ताले टिकट पाए उनी र कांग्रेसका उम्मेदवारबीच नै प्रतिस्पर्धा हुने भएपछि सुदीप पौडल कुन पार्टीबाट चुनाव लड्छन् त्यसले पनि चुनाव रोचक बनाउने मतदाताहरु बताउँछन्। युवामाझ लोकप्रिय रहेका पौडेल जनता समाजवादी पार्टीमा प्रवेश गरी मेयरमा लडे भने त्रिपक्षीय भिडन्त हुने मतदाताहरुको बुझाइ छ। तर, जनता समाजवादी पार्टीमा उनी प्रवेश गर्छन् या गर्दैनन् अझैसम्म त्यसबारे कुनै जानकारी आएको छैन। २०७४ को निर्वाचनमा जनता समाजवादी पार्टीले ४ हजार ५४ मत ल्याई तेश्रो भएको थियो। कपिलवस्तु नगरपालिकामा ४७ हजार ८० मतदाता छन्।

प्रकाशित: ३ वैशाख २०७९ १०:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App