नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर अंकित चुनावी पोस्टर सामाजिक सञ्जाल फेसबुकबाट हटाएका छन्।
बुधबार बिहान प्रचण्डले सामाजिक सञ्जालमा आफू, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्बिर अंकित चुनावी पोस्टर राखेका थिए। सरकारी तलब बुझ्ने घिसिङको तस्बिरलाई चुनावी प्रचार प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै जनस्तरमै आलोचना भएको थियो।
कार्यकारी निर्देशक घिसिङले पनि आफूलाई नसोधी चुनावी पोस्टरमा आफ्नो तस्बिर राखिएकोमा आपत्ति जनाउँदै हटाउन प्रचण्डको निजी सचिवालयलाई निर्देशन दिएका थिए। ‘मलाई नसोधी चुनावी पोस्टरमा मेरो तस्बिर राखिएको रहेछ। यसमा मेरो विमति छ। मैले पोस्टर हटाउन भनेको छु,’ घिसिङले भनेका थिए।
प्रचण्डले राखेको प्रचार सामग्रीमा प्रचण्डसहित माओवादी नेता जनार्दन शर्मा र कुलमान घिसिङको तस्वीर राखेर ‘अँध्यारोबाट उज्यालोको यात्रा’ लेखिएको थियो।
प्रकाशित: ३० चैत्र २०७८ ०६:२८ बुधबार