स्थानीय तहको निर्वाचन नजिकिँदै छ। राजनीतिक दलहरू उम्मेदवार छान्न व्यस्त छन्। आकांक्षी धेरै हुँदा उम्मेदवार चयनको विषय चुनौतीपूर्ण बनेको छ।
सामान्यतया वडादेखि नै माथिल्लो तहसम्म सहमति जुटे एकजना र सहमति जुट्न नसके सम्भावित तीन (एक महिला अनिवार्य) उम्मेदवारको नाम सिफारिस गर्नुपर्ने भनिए पनि आकांक्षी बढी भएपछि १०–१२ जनासम्मको नाम पठाउनुपर्ने बाध्यता आएको दलका नेताहरूको भनाइ छ।
कांग्रेस कास्कीका सचिव भानु ढकालका अनुसार वडास्तरमा उम्मेदवार सकेसम्म सर्वसम्मत रूपमा तय गर्ने प्रयास भइरहेको छ। सर्वसम्मत हुन नसकेको अवस्थामा एक महिलासहित तीन जनाको नाम माथिल्लो निकायमा पठाउनुपर्ने हुन्छ।
कांग्रेसले उम्मेदवार चयन गर्ने क्रममा गाउँपालिकाबाट वडाका लागि आएका सम्भावित उम्मेदवारको नाम प्रदेशसभा क्षेत्रमा र प्रदेशसभा क्षेत्रले प्रतिनिधिसभा क्षेत्रमा पठाउँछ। क्षेत्रीय स्तरको बोर्डले बल्ल गाउँपालिकाका वडाध्यक्ष उम्मेदवारको टुंगो लगाउँछ।
त्यस्तै गाउँपालिका अध्यक्षको हकमा गाउँपालिकाले सर्वसम्मत उम्मेदवार चयनको प्रयास गर्छ। तर सर्वसम्मत नभए आएका सबै आकांक्षीको नाम प्रदेश र प्रतिनिधिसभा क्षेत्र हुँदै जिल्लासम्म आउँछ। गाउँपालिकाका उम्मेदवारको अन्तिम निर्णय जिल्ला बोर्डले गर्छ। महानगरस्तरमा पनि त्यहीको समितिले सर्वसम्मतको प्रयास गर्ने र नभए जिल्ला हुँदै केन्द्रले निर्णय गर्ने ढकालले बताए।
केन्द्रीय संसदीय बोर्डले महानगरका आकांक्षी टुंगो लगाउने उनले बताए। ‘आकांक्षी धेरै छन्। सकेसम्म एकजना सर्वसम्मत गर्नू नत्र तीन जनाको नाम मात्र पठाउनू भने पनि रोक्न सकिएन, आएजतिका नाम पठाइएको छ,’ ढकालले भने, ‘खासमा बढीमा तीन जनाको नाम मात्र आउनुपर्नेमा १०–१२ जनासम्म आकांक्षी देखिएका छन्।’
आकांक्षी धेरै हुँदा उम्मेदवार चयनमा सकस भए पनि त्यो नराम्रो भने नरहेको उनले बताए। ‘पार्टीमा योगदान गरेका व्यक्ति नै उम्मेदवार हुन खोज्ने भएकाले धेरै आकांक्षी हुनु नराम्रो होइन,’ उनले भने। कांग्रेसमा अहिले पोखरा महानगरमा व्यवसायीदेखि दलकै पुराना नेताहरू मेयरको आकांक्षीका रूपमा देखिएका छन्। केही आकांक्षीले आफू मेयरको दाबेदार भन्दै भेटघाट सुरु गरेका छन्।
एमालेमा पनि वडास्तरसम्म उम्मेदवारका आकांक्षी थुप्रै छन्। एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङले भने, ‘हामीले पनि सकेसम्म एक जनाको नाम टुंगो लगाउने हो, नभए तीनजनाको नाम सिफारिस गर्ने हो। उनीहरूमध्येबाट एक जना छानिने हो। स्थानीय तहअनुसार उम्मेदवार छनोट हुनेछ।’
उनका अनुसार अहिले स्थानीय तहमा उम्मेदवार हुन खोज्ने आकांक्षी धेरै छन्। तर तिनै आकांक्षीमध्येबाट छनोट गर्ने अध्यक्ष गुरुङले बताए। ‘निर्वाचनमा उम्मेदवार हुन नचाहने भन्ने नै हुँदैन। यो बेलामा पनि आकांक्षी नभए कहिले हुने भन्ने हो,’ उनले भने, ‘उम्मेदवार हुन चाहनु अस्वाभाविक होइन।’ गाउँपालिकाका वडा सदस्यको उम्मेदवार जिल्ला कमिटीले टुंगो लगाउने उनले बताए।
त्यस्तै गाउँपालिका अध्यक्षको प्रदेश र महानगरका वडा सदस्यको पनि प्रदेशले टुंगो लगाउँछ। महानगर प्रमुख र उपप्रमुखको टुुंगो भने केन्द्रीय कमिटीले टुंगो लगाउने अध्यक्ष गुरुङले बताए। ‘तीनतीनजनाको नाम सिफारिस गर्ने हो। सकेसम्म त एकजना मात्र नाम पठाउन पाए झनै राम्रो हुन्छ,’ उनले भने, ‘अहिलेसम्म आकांक्षीको नाम धेरै सुनेका छौं तर सिफारिस भइसकेको छैन।’
एक महिलासहित तीन जना सम्भावित उम्मेदवारबाट एक जना चयन गर्ने भए पनि यो उति सारो समस्याको विषय नभएको उनले बताए। एमालेमा पनि महानगरदेखि गाउँपालिकाको वडास्तरसम्मै आकांक्षी धेरै देखिएका छन्। सबैभन्दा बढी चासो पोखरा महानगरमा छ। एमालेमा पनि व्यवसायीसहित लामो समयदेखि राजनीतिमा लागेका व्यक्ति उम्मेदवारका आकांक्षी देखिएका छन्।
माओवादी केन्द्रमा पनि योभन्दा फरक अवस्था छैन। तर माओवादी केन्द्रले भने सत्ता गठबन्धन गरेका दलहरूबीच मिलेर अघि बढ्ने निर्णय भएकाले त्यहीअनुसार तयारी गरेको जनाएको छ। माओवादी केन्द्रका कास्की संयोजक बखानसिंह तमूले अहिले अनिवार्य रूपमा दलहरूबीच गठबन्धन गर्ने भएकाले त्यहीअनुसारको तयारी भएको बताए।
उनका अनुसार गठबन्धन गर्ने सबै दलले आफ्नो उम्मेदवार तयार पार्ने तर भागबन्डा हुँदा छाड्नुपर्ने अवस्था आए जसको भागमा पर्छ, उसलाई अरू दलले सहजै छाड्ने भन्ने छ। ‘कुनकुन वडा, गाउँपालिका, नगरपालिकादेखि महानगरसम्म कसले लिने भन्नेमा गठबन्धनका दलहरूबीच भागबन्डा हुनेछ,’ उनले भने, ‘त्यहीअनुसार नै अघि बढ्ने हो। गठबन्धन दलका साझा उम्मेदवार नै तय हुनेछन्।’
अहिले गठबन्धन आवश्यक रहेको पनि उनले बताए। प्रतिगमन आउन नदिन गठबन्धन निरन्तरता दिन जरुरी रहेको उनले बताए। गठबन्धन भए पनि दलहरूमा उम्मेदवारका आकांक्षी हुन नराम्रो नभएको उनले बताए। ‘कुनै पनि दलमा आकांक्षी हुनु नराम्रो पनि होइन। तर गठबन्धन आवश्यक छ,’ उनले भने।
आकांक्षी धेरै भए पनि सहमति नभए मात्र तीनजनाको नाम पठाउने, अन्यथा एक जनामै टुंगो लगाउने पनि उनले बताए। ‘तीनजनाको नाम अनिवार्य होइन। सकेसम्म सहमति गर्ने हो, सहमति जुट्न नसके मात्र तीनजनाको नाम सिफारिस गर्ने हो,’ उनले भने, ‘लामो समयदेखि राजनीति गरेका व्यक्ति उम्मेदवार हुन खोज्नु अन्यथा होइन।’
विश्लेषकहरू पनि निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुनुलाई सकारात्मक ठान्छन्। राजनीतिशास्त्रका प्राध्यापक कपिलमणि दाहाल भन्छन्, ‘चुनाव भनेको पाँच वर्षको फरकमा आउने अवसर हो। त्यसैले हरेक चुनावमा उम्मेदवारका आकांक्षी बढी हुनु स्वाभाविक मानिन्छ। पाँच वर्षको अन्तरालमा आउने अवसर भएकाले पनि उम्मेदवार हुने आकांक्षा राख्नुलाई सकारात्मक रूपमा लिनुपर्छ।’
आकांक्षी बढी भए पनि पार्टीले गरेको निर्णय उनीहरूले मान्ने भएकाले खासै समस्या नहुने उनले बताए। ‘आफूले अवसर नपाउँदा केहीले असन्तुष्टि जनाउने गर्छन्, त्यो दलीय अनुशासनमा विकार हो,’ दाहालले भने, ‘निर्वाचनमा उम्मेदवारका आकांक्षी बढी हुनु भनेको सक्षम व्यक्ति नेतृत्व लिन तयार रहेको भन्ने बुझ्नुपर्छ।’
आकांक्षी धेरै हुँदा सक्षममध्येबाट पनि सक्षम व्यक्तिलाई उम्मेदवार तोक्ने अवसर दललाई प्राप्त हुने उनले बताए। ‘निर्वाचन प्रजातन्त्रको पर्व भएकाले राजनीतिमा लागेका जो कसैले उम्मेदवारको चाहना राख्नु स्वाभाविक हो। चाहना राख्नु, सक्षमता देखाउनु नराम्रो होइन,’ दाहालले भने। आकांक्षीहरूको काममा मूल्यांकन गरेर दलहरूले उम्मेदवार टुंग्याउनुपर्ने उनी बताउँछन्। ‘यो बेला उम्मेदवार टुंगो लगाउन राजनीतिक दललाई गाह्रो हुन्छ,’ उनले भने।
प्रकाशित: २७ चैत्र २०७८ ०१:३६ आइतबार