२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचनः उम्मेदवार खुट्याउनै सकस

स्थानीय तह निर्वाचनको दिन नजिकिँदै गएको छ। निर्वाचन नजिकिएसँगै राजनीतिक दल तल्लोस्तरसम्म उम्मेदवार छान्न व्यस्त छन्। स्थानीय तह अन्तर्गत वडा तहसम्म उम्मेदवार छान्न अहिले दलहरुलाई हम्मेहम्मे छ। आकांक्षी धेरै हुँदा उम्मेदवार खुट्याउन सकस भईरहेको दलले बताएका छन्। सबैजसो दललाई अहिले उम्मेदवार चयनमा सकस छ।  

सामान्यतया वडास्तरदेखि नै माथिल्लो तहसम्म सहमति जुटेमा एकजना र सहमति जुट्न नसके सम्भावित तीनजना (एकजना महिला अनिवार्य) उम्मेदवारको नाम शिफारिस गरिने भएपनि आकांक्षी बढी भएपछि १०–१२ जनासम्मको नाम पठाउने गरिएको दलहरुले बताएका छन्। कांग्रेस कास्कीका सचिव भानु ढकालका अनुसार वडास्तरमा उम्मेदवार चयन गर्दा सकेसम्म सर्वसम्मतको प्रयास भईरहेको छ। तर, सर्वसम्मत नभएमा एकजना महिलासहित तीनजनाको नाम पठाउनुपर्ने हुन्छ। तर, आकांक्षी धेरै भएपछि अहिले आएजतिका नाम माथिल्लो निकायमा पठाउने गरिएको छ।  

कांग्रेसले उम्मेदवार चयन गर्ने क्रममा गाउँपालिकाबाट आएको सम्भावित उम्मेदवारको नाम प्रदेशमा र प्रदेशले क्षेत्रमा पठाउँछ। क्षेत्रीयस्तरको बोर्डले बल्ल गाउँपालिकाका वडाध्यक्षका उम्मेदवारको टुंगो लगाउँछ। त्यस्तै गाउँपालिका अध्यक्षको हकमा गाउँपालिकाले सर्बसम्मत उम्मेदवार चयनको प्रयास गर्छ। तर सर्वसम्मत नभए आएका सबै आकांक्षीको नाम प्रदेश हुँदै जिल्लासम्म आउँछ। गाउँपालिकाका उम्मेदवारको अन्तिम निर्णय जिल्लाको बोर्डले गर्छ। महानगरस्तरमा पनि महानगरले सर्वसम्मत प्रयास गर्ने र नभए जिल्ला हुदै केन्द्रले निर्णय गर्ने ढकालले बताए। केन्द्रीय संसदीय बोर्डले महानगरका आकांक्षी टुंगो लगाउने उनले बताए।

‘उम्मेदवार बन्न सबैतिरको दवाव छ। आकांक्षी धेरै छन्। त्यसैले सकेसम्म एकजना सर्वसम्मत गर्नु, नत्र तीनजनाको नाम मात्र पठाउनु भनेरपनि रोक्न सकिएन, आएजतिका नाम पठाइएको छ,’ ढकालले भने, ‘खासमा बढीमा तीनजनाको नाम मात्र आउनुपर्नेमा १०–१२ जनासम्म आकांक्षी देखिएका छन।’ आकांक्षी धेरै हुँदा उम्मेदवार चयनमा सकस भएपनि त्यो नराम्रो भने नरहेको उनले बताए।

‘पार्टीमा योगदान गरेका व्यक्ति नै उम्मेदवार हुन खोज्ने भएकोले धेरै आकांक्षी हुनु नराम्रो होईन,’ ढकालले भने। कांग्रेसमा अहिले पोखरा महानगरमा व्यवसायीदेखि दलकै पुराना नेताहरु मेयरको आकांक्षीको रुपमा देखिएका छन्। केही आकांक्षीले आफू मेयरको दावेदार भन्दै भेटघाट सुरु गरेका छन्।

अर्काे पार्टी एमालेमा पनि वडास्तरसम्म उम्मेदवारका आकांक्षी थुप्रै छन्। एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ भन्छन्, ‘हामीले पनि सकेसम्म एकजनामा निर्णय गर्ने हो, तीनजनाको नाम शिफारिस गर्ने हो। उनीहरुमध्येबाट एकजना छानिनेछन्। स्थानीय तह अनुसार उम्मेदवार छनोट हुनेछ।’ उनका अनुसार अहिले स्थानीय तहमा उम्मेदवार हुन खोज्ने आकांक्षी धेरै छन। तर, तिनै आकांक्षीमध्येबाट छनोट गर्ने अध्यक्ष गुरुङले बताए। ‘निर्वाचनमा उम्मेदवार हुन नचाहने भन्ने नै हुँदैन। यो बेलामा पनि आकांक्षी नभए कहिले हुन्ने भन्ने हो,’ उनले भने, ‘उम्मेदवार हुन चाहनु स्वभाविक हो।’

गाउँपालिकाका वडा सदस्यको उम्मेदवार जिल्ला कमिटिले टुंगो लगाउने उनले बताए। त्यस्तै गाउँपालिका अध्यक्षको प्रदेश र महानगरका वडा सदस्यको पनि प्रदेशले टुंगो लगाउँछ। महानगर प्रमुख र उपप्रमुखको टुंगो भने केन्द्रीय कमिटिले टुंगो लगाउने अध्यक्ष गुरुङले बताए। ‘तीनतीनजनाको नाम शिफारिस गर्ने हो। सकेसम्म त एकजना मात्र नाम पठाउन पाए झनै राम्रो हुन्छ,’ उनले भने, ‘अहिलेसम्म आकांक्षीको नाम धेरै सुनेका छौ। तर, शिफारिस भईसकेको छैन।’

एक महिलासहित तीनजना सम्भावित उम्मेदवारबाट एकजना चयन गर्ने भएपनि यो उत्तिसारो समस्याको विषय नभएको उनले बताए। एमालेमा पनि महानगरदेखि गाउँपालिकाको वडास्तरसम्मै आकांक्षी देखिएका छन्। सबैभन्दा बढी चाँसो पोखरा महानगरमा छ। एमालेमा पनि व्यवसायी सहित लामो समयदेखि राजनीतिमा लागेका व्यक्ति उम्मेदवारको आकांक्षी देखिएका छन्।  

यस्तै अवस्था अर्काे दल माओवादी केन्द्रमा पनि छ। तर, माओवादी केन्द्रले भने सत्ता गठबन्धन गरेका दलहरुबीच मिलेर अघि बढ्ने निर्णय भएकोले त्यही अनुसार तयारी गरेको बताएको छ। माओवादी केन्द्रका कास्की संयोजक बखानसिंह तमुले अहिले अनिवार्य रुपमा दलहरुबीच गठबन्धन गर्ने भएकोले त्यही अनुसारको तयारी भएको बताए। उनका अनुसार गठबन्धन गर्ने सबै दलहरुले आफ्नो उम्मेदवार तयार पार्ने तर भागबण्डा हुँदा छाड्नुपर्ने अवस्था आएमा जसको भागमा पर्छ उसलाई अरु दलले सहजै छाड्ने भन्ने रहेको छ।

‘कुनकुन वडा, गाउँपालिका, नगरपालिका देखि महानगरसम्म कसले लिने भन्नेमा गठबन्धनका दलहरुबीच भागबण्डा हुनेछ,’ उनले भने, ‘त्यही अनुसार नै अघि बढ्ने हो। गठबन्धन दलका साझा उम्मेदवार नै तय हुने छन्।’ अहिले गठबन्धन आवश्यक रहेको पनि उनले बताए। प्रतिगमन आउन नदिनका लागि गठबन्धन निरन्तरता दिन जरुरी रहेको उनले बताए। गठबन्धन भएपनि दलहरुमा उम्मेदवारका आकांक्षी हुन नराम्रो नभएको उनले बताए। ‘कुनैपनि दलमा आकांक्षी हुनु नराम्रो पनि होइन। तर, गठबन्धन गर्ने कुराको आवश्यक छ,’ उनले भने।  

आकांक्षी धेरै भएपनि सहमति नभएमा मात्र तीनजनाको नाम पठाउने, अन्यथा एकजनामै टुंगो लगाउने पनि उनले बताए। ‘तीनजनाको नाम अनिवार्य होईन। सकेसम्म सहमति गर्ने हो, सहमति जुट्न नसकेमा मात्र तीनजनाको नाम शिफारिस गर्ने हो,’ उनले भने, ‘लामो समयदेखि राजनीति गरेका व्यक्ति उम्मेदवार हुन खोज्नु अन्यथा होईन।’

विश्लेषकहरु पनि राजनीतिक दलमा उम्मेदवारका आकांक्षी बढी हुनुलाई सकारात्मक ठान्छन्। आकांक्षी बढी हुनु भने त्यो दलभित्र सक्षम व्यक्ति धेरै रहेछन् भन्ने बुझाउने उनीहरु बताउँछन्। राजनीति शास्त्रका प्राध्यापक कपिलमणि दाहाल भन्छन्, ‘चुनाव भनेको पाँच वर्षको फरकमा आउने अवसर हो। त्यसैले हरेक चुनावमा आकांक्षी बढी हुनु स्वभाविक मानिन्छ। महिनैपिच्छे आउने नभई पाँच वर्षको अन्तरालमा आउने अवसर भएकोले पनि आकांक्षा राख्नुलाई सकारात्मक लिनुपर्छ।’ आकांक्षी बढी भएपनि पार्टीले गरेको निर्णय पनि उनीहरुले मान्ने भएकोले खासै समस्या नहुने उनले बताए।  

‘आफूले अवसर नपाउँदा केहीले असन्तुष्टि जनाउने गर्छन, त्यो दलीय अनुशासनमा विकार हो,’ दाहालले भने, ‘आकांक्षी बढी हुनु भनेको सक्षम व्यक्ति नेतृत्व लिन तयार रहेको भन्ने बुझाउँछ।’ आकांक्षी धेरै हुँदा सक्षम मध्येको पनि सक्षम व्यक्ति ल्याउने अवसर दललाई प्राप्त हुने उनले बताए। ‘निर्वाचन प्रजातन्त्रको पर्व भएकोले चाहना राख्नु स्वभाविक हो। चाहना राख्नु, सक्षमता देखाउनु नराम्रो होईन। सक्षमता उसँग लिने कुरा हो,’ दाहालले भने। आकांक्षीको कामको मूल्यांकन गरेर दलहरुले उम्मेदवार टुंग्याउनुपर्ने उनले बताए। यो बेला राजनीतिक दललाई गाह्रो हुन्छ। तर, सहजै समाधान पनि हुन्छन्,’ उनले भने।  

प्रकाशित: २६ चैत्र २०७८ १०:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App