२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

देश चलाउन ठूला दल असफलः राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनलाई केन्द्रित गर्दै शुक्रबार राजधानीमा शक्ति प्रदर्शन गरेको छ। पार्टीका पूर्वअध्यक्ष कमल थापा नयाँ दल खोलेर संगठन विस्तारमा सक्रिय भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टीले राजनीतिक शक्ति प्रदर्शन गरेको हो। 

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा शुक्रबार राजधानीमा भएको सभामा काठमाडौं, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोटालगायत जिल्लाका नेता तथा कार्यकर्ताको उपस्थिति थियो। पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, पूर्वअध्यक्षहरू पशुपतिशमशेर राणा, प्रकाशचन्द्र लोहनीसहितका शीर्ष नेताहरू सभाका आकर्षण थिए। सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले देश चलाउन नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र असफल भएको आरोप लगाए।

मुलुक सीमित नेताहरूको अघोषित गठबन्धनको चंगुलमा परेको भन्दै उनले अब कांग्रेस, एमाले र माओवादीले देशको विकास गर्न नसक्ने बताए। यी दलहरूलाई सत्ता चलाउन कति वर्ष म्याद थपिदिने हो भने प्रश्न गर्दै लिङ्देनले जनताले आगामी निर्वाचनमार्फत उनीहरूको विकल्प खोज्नुपर्ने बताए। उनले मतदातालाई अपिल गर्दै भने, ‘अब यिनीहरूले देश बनाउँदैनन्, आगामी चुनावमा राप्रपालाई जिताउनुहोस्। हामी इमानको राजनीति र देशको विकास गर्न चाहन्छौं।’ लिङ्देनले अक्षम सरकार र नेताहरूका कारण देशमा भ्रष्टाचार मौलाएको तर्क गरे। उनले देशभित्र गरिखाने स्थिति नभएकाले दिनहुँ १५ सयजनाभन्दा बढी रोजगारीका लागि विदेश जानुपरेको बताए।

सभालाई सम्बोधन गर्दै राप्रपाका पूर्वअध्यक्ष पशुपतिशमशेर राणाले नेपाललाई हिन्दु राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरे। ‘नेपाललाई हामी हिन्दु राष्ट्र बनाउँछौं,’ उनले भने, ‘नेपाल शक्ति राष्ट्रहरूको खेल मैदान भएको छ। ठूला पार्टीका नेताहरूले यसतर्फ सावधानी अपनाएका छैनन्। विदेशी मुद्राको सञ्चिति रित्तिने क्रम जारी भएको हुँदा हामीले खबरदारी गर्नु जरुरी छ। राजनीति गर्नेहरूमा इमान र धर्म नहुँदा देश चलाउन गाह्रो परिरहेको छ।’ राणाले केन्द्रबाट गाउँ तहसम्म अधिकार विकेन्दीकरण हुनुपर्नेमा भ्रष्टाचार विकेन्द्रीकरण भइरहेको बताए। ‘जनप्रतिनिधिहरूका कारण स्थानीय तहमा केही प्रगति भए पनि व्यापक भ्रष्टाचार मौलाएको छ। तर राप्रपाले जितेका क्षेत्रमा विकासका काम भएका छन्।’

त्यस्तै पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीले राप्रपाले देशमा शान्तिपूर्ण क्रान्तिको सुरूआत गरेको बताए। ‘देशमा शान्तिपूर्ण क्रान्तिको सुरूआत भएको छ,’ उनले भने, ‘हामी युवाका लागि देशभित्र रोजगार सिर्जना गर्न सक्छौं। देशको परराष्ट्र नीति कमजोर भएका कारण विदेशीले हामीलाई गन्न छाडिसकेका छन्। परराष्ट्रनीतिमा खेलाँची गर्दा देश डुब्छ भने अर्थनीति कमजोर हुँदा जनता डुब्छन्।’ उनले देशमा सही नेतृत्वको अभाव भएको तर्क गरे। ‘यो देशमा पैसाको कमी होइन,’ उनले भने, ‘पुँजीगत बजेटको ५० प्रतिशत पनि खर्च भएको छैन। यो स्थितिमा कसरी देशको विकास हुन्छ ? साधनस्रोत भए पनि योग्य नेतृत्वको अभाव भएको छ।’

सभामा नेताहरू बुद्धिमान तामाङ, विक्रम पाण्डे, धु्रवबहादुर प्रधान, रोशन कार्की, कुन्ती शाही, हेमजंग गुरुङलगायतले आआफ्ना धारणा राखेका थिए। सभामा विभिन्न पार्टी छाडेका सात सयजना राप्रपामा प्रवेश गरेको जानकारी प्रवक्ता मोहन श्रेष्ठले दिएका थिए। मंसिरमा भएको महाधिवेशनबाट लिङ्देन राप्रपा अध्यक्ष निर्वाचित भएका थिए।‘यिनीहरू असफल हुँदा हामीलाई दुःख छैन तर देश असफल बनाउन लागे,’ लिङ्देनले भने, ‘यो हाम्रो चिन्ताको विषय हो। उनीहरू असफल भए पनि राप्रपालाई असफल हुने छुट छैन।’

प्रकाशित: २६ चैत्र २०७८ ०६:३० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App