१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसायमा लाग्नुहोस्ः उपराष्ट्रपति पुन

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गर्न स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसायमा लाग्न उद्योगी व्यवसायीलाई आग्रह गरेका छन्।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले मुलुकमा बढ्दै गएको व्यापार घाटा कम गर्दै समृद्ध मुलुक निर्माणका लागि स्वदेशमै उत्पादनमूलक व्यवसाय बढाउनुपर्ने बताए।  

'विदेशी मुलुकबाट आयात गरी व्यवसाय गर्नेतर्फ नभई स्वदेशमै उत्पादन बढाउने किसिमको व्यवसाय गर्नुपर्छ, जसले देशको विकासमा टेवा पुर्‍याउँछ,' उनले भने। निर्यात कम हुने र आयात धेरै हुँदा अर्थतन्त्रलाई नकारात्मक असर परेको उनको भनाइ थियो।

संविधानको मर्म र भावनाअनुसार सिंहदरबारको अधिकार गाउँगाउँमा पुगे पनि नेपाली जनताको आर्थिक विकासमा अपेक्षाकृत परिवर्तन र पर्याप्त रोजगारीको अवसर बन्न नसकेको उनले बताए। विसं २०६२/६३ मा भएको राजनीतिक परिवर्तनसँगै सकारात्मक दिशामा अगाडि बढेको देशको अर्थतन्त्र कोरोनाको कारण पुनः चपेटामा परेको उनको भनाइ थियो।

उपराष्ट्रपति पुनले नेपाली पुँजीपतिलाई ढुक्क भएर नेपालमा लगानी गर्नसमेत आग्रह गरे। 'म नेपाली पुँजीपतिहरुसँग आग्रह गर्न चाहन्छु, पुँजी विदेशमा लैजाने नसोच्नुस्, उल्टो विदेशी पुँजीसमेत नेपालमा भित्र्याउनुहोस्,' उनले भने।

आत्मनिर्भर अर्थतन्त्र बनाउनका लागि सरकार निजी क्षेत्रसँग मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो। उपराष्ट्रपति पुनले साना तथा मझौला उद्योगी व्यवसायीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षणसमेत गरेका छन्।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मुलुकको आर्थिक विकासका लागि उद्योगी व्यवसायीको महत्वपूर्ण भूमिका रहेको बताए। 'तपाईँहरु ढुक्क भएर लगानी गर्नुहोस्, तपाईँको लगानीको ग्यारेन्टी तीन तहकै सरकारले गर्नेछ,' उनले भने।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष नरेश कटुवालले मुलुकको विकासका लागि सरकारले निजी क्षेत्रलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने बताए। उनले व्यवसायीका समस्या समाधानका लागि सरकारले पहल गर्नुपर्ने उल्लेख गरे।

नेपाल चेम्बर अफ कमर्शका उपाध्यक्ष सुरेन्द्रकुमार श्रेष्ठले कोरोनाका कारण साना तथा मझौला उद्योगी मारमा परेको भन्दै यस्ता व्यवसायीलाई राज्यले उचित सम्बोधन गर्नुपर्ने बताए। उनले मुलुकको अर्थतन्त्र सकारात्मक गतिमा हिँड्न नसकेको भन्दै यसलाई सकारात्मक गतीमा हिँडाउनका लागि सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने स्पष्ट पारे।

नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष कुमार कार्कीले कोरोना महामारीको विषम् परिस्थितिका बाबजुद महासङ्घमा आबद्ध सम्पूर्ण उद्योगी व्यवसायीको हकहित र अधिकारका लागि निरन्तर सङ्घर्ष गर्दै आएको बताए।

विसं २०७३ मा स्थापना भएको महासङ्घमा हाल देशभरका २२ व्यवसायी सदस्यको आबद्धता छ। महासङ्घमा १० हजारभन्दा बढी व्यवसायी आबद्ध रहेको अध्यक्ष कटुवालले जानकारी दिए।

प्रकाशित: २२ चैत्र २०७८ १३:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App