२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

२२ जिल्लाको ‘मधेसप्रदेश’ मुद्दा ब्युताउँदै लोसपा

वीरगन्जमा लोसपा, नेपालद्वारा आयोजित स्वाभिमान यात्रा। तस्बिरः रितेश/नागरिक

अघिल्लो स्थानीय तह तथा प्रदेश र संघको निर्वाचनमा जस्तो यसपाली मधेश ‘सेन्टिमेट’ चुनावी नारा बन्ने सम्भावना घटेको बेला त्यसलाई सकेसम्म आफूतिर तान्ने रणनीतिमा ‘लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपाल’ लागिपरेको छ। आगामी स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा लोसपाले वीरगन्जमा एकै दिन दुई कार्यक्रम गरेर शक्ति प्रर्दशन गरेको छ। शनिवार वरिगन्जको नगरभागृहमा लोसपाले स्वभिमान सभामा आयोजन गरेको छ।  

उक्त सभामा सम्बोधन गर्दै पार्टीका अध्यक्ष महन्थ ठाकुरले मधेसीमाथि शासकले अहिले पनि राजनीतिक, सामाजिक, कानुनी र आर्थिक विभेदहरु गरिरहेका कारण मधेस आन्दोलन अहिले पनि जारी रहेको बताए। मधेस विद्रोह अहिले पनि नसकिएको भन्दै उनले उनले मधेसका मुद्दा सम्बोधन नभएसम्म यो निरन्तर चलिरहने बताए। अब निर्णायक मधेस आन्दोलन हुने त्यसको तयारीमा आफूहरु लागिसकेको उनको भनाई थियो। मधेसीलाई अल्पमत पार्नका लागि २२ जिल्ला भएको मधेसलाई शासकले ८ जिल्लामा मात्रै सीमित पारिदएको उनले आरोप लगाए।  

लोसपा पर्साका अध्यक्ष पुरुषोत्तमलाल झाको अध्यक्षतामा भएको सभालाई सम्बोधन गर्दै पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले पनि झापादेखि कञ्चनपुरसम्मका २२ जिल्ला मधेस प्रदेश हुनुपर्ने माग आफूहरुको रहेको बताए। मधेस प्रदेशको राजधानी जनकपुर बनाउन भूमिका गरेको भन्दै पछिल्लो समयमा वीरगन्जमा आफ्नै कार्यकर्ताबाट सवालको घेरामा परेका महतोले २२ जिल्लाको मधेस प्रदेश भए प्रादेशिक राजधानी वीरगन्ज हुने आश्वासन दिन छुटाएनन्।

मधेसको अधिकार, माग, मुद्दा र स्वाभिमानका लागि संघर्ष जारी रहेको उनको दावी थियो। केही जना अवसरवादीहरु मधेसी दल छाडेर जाँदैमा मधेसको मुद्दा समाप्त नहुने उनको भनाई थियो। अधिकारका लागि चाँडै अर्को मधेस आन्दोलन अन्तिम र निर्णायक रुपमा सुरु हुने भन्दै त्यसको लागि तयार रहन अह्वान गरे। पार्टीका अर्का नेता अनिलकुमार झाले मधेसको मुद्दा भजाएर सत्तामा पुग्ने साधन बनाएको भन्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीउपर मधेस मुद्दा छोडेको आरोप लगाए। लोसपा नेता सर्वेन्द्रनाथ शुक्ला, लक्ष्मणलाल कर्ण, प्रहलाद गिरीलगायतकाले सम्बोधन गरेका थिए।  

स्वाभिमान यात्रा

सभाअघि चार जना प्रमुख नेताहरुलाई सामेल गरेर सो पार्टीले शनिवार वीरगन्जमा स्वाभिमान यात्रा निकाल्दै शक्ति प्रदर्शनको प्रयास गरेको थियो। मधेशको नारा जोडिएका गीतसंगीत बजाउँदै बाजागाजासहित निकालिएको र्‍यालीमा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अनिलकुमार झा र सर्वेन्द्रनाथ शुक्लाले खुल्ला गाडीमा सवार भई हाथ हल्लाउँदै सहभगी भए। वीरगन्जको पिपरा लिंकरोडबाट सुरु भएको र्‍याली नगरमा प्रदर्शन गर्दै नगरसभा गृहमा दिउँसो करिब साढे २ बजे पुगेको थियो। उमेरले पाको भइसकेका अध्यक्ष महन्थ ठाकुरलाई अगाडि राखेर महतो, शुक्ला र झा पछिपछि बेग्लै गाडीमा थिए।  

आम जनताभन्दा कार्यकर्ताहरुले नेताले हात हल्लाएर गरेको सम्बोधन त्यसै गरी फर्काए। पैदल जुलुसको अगुवाई लोसपा, नेपालका पर्सा अध्यक्ष पुरुषोत्तम झा, प्रदेश सांसद रमेश पटेल लगायतले गरेका थिए। सय वटा चारचक्के गाडी र डेढ हजार बढी मोटरसाइकल र्‍यालीमा सहभागी रहेको पार्टीका जिल्ला नेता शशिकपुर मियाँले बताए। र्‍याली लगतै लोसपा, नेपालले नगरसभागृहमा ‘स्वभिमान सभा’ आयोजन गरेको छ।

प्रकाशित: १९ चैत्र २०७८ १५:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App