२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विपद् जोखिम न्यूनीकरण गर्न तीन तहबीच सहकार्य आवश्यक: मुख्यमन्त्री

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विपद् जोखिम न्यूनीकरणका लागि तीनै तहबीच सहकार्य आवश्यक रहेको बताए।

नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका–७ इत्राम सुर्खेतमा निर्माण भएको मानवीय सहायतास्थलको उदघाट्न गर्दै मुख्यमन्त्री शाहीले विपद् जोखिम न्यूनीकरणको पूर्वतयारीमा सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

‘विपद्सँग सामना गर्न जनशक्ति परिचालन, उपकरणको उपलब्धता र पूर्वतयारी आवश्यक हुन्छ’, उनले भने, ‘त्यसका लागि तीन तहका सरकारबीचको समन्वय र सहकार्य नितान्त जरुरी छ।’ मुख्यमन्त्री शाहीले विपद् जोखिमको प्रतिकार्य, उद्धार, राहतका लागि पूर्वतयारी र समयको सदुपयोग महत्त्व पूर्ण कुरो भएको जनाए।

यस्ता प्राकृतिक विपद्मा सरकार विकास साझेदारको सहयोग आवश्यक रहेको बताउँदै उनले बेलायत सरकार तथा विश्वखाद्य सङ्गठनको लामो समयदेखिको योगदानको प्रशंसा गरे। कर्णालीमा पनि विपद्को उच्च जोखिम रहेकाले यसको पूर्वतयारी लाग्न हरेकले समय र महत्त्व दिएर काम गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री हिमबहादुर शाहीले विपद् मानव जातिको शत्रु भएकाले त्यसको रोकथाम, न्यूनीकरण र नियन्त्रणमा साझा प्रयास आवश्यक भएको बताए।

गृह मन्त्रालयले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा निर्माण गरेको मानवीय सहायतास्थलमा बेलायत सरकार तथा विश्वखाद्य सङ्गठनको सहयोग गरेकाप्रति धन्यवाद व्यक्त गर्दै उक्त संरचनालाई ठूलो पूँजीका रुपमा ग्रहण गरिने जनाए।

प्रदेश सरकारका निमित्त प्रमुख सचिव आनन्द सारुले विपद् व्यवस्थापनमा राज्यको अभिभावकीय भूमिका हुनुपर्ने जनाए। विश्व खाद्य सङ्गठनका कन्ट्री डाइरेक्टर रोबर्ट कास्काले लामो समयदेखि विपद् जोखिमको क्षेत्रमा सङ्गठनले काम गर्दै आएको र अब पनि कर्णालीमा समन्वय निरन्तर राख्ने जनाए।

गृह मन्त्रालय विपद् तथा द्वन्द्व शाखाका प्रमुख प्रदीपकुमार कोइरालाले संघ, प्रदेश तथा स्थानीय तहमा विपद् व्यवस्थापन समितिको संरचना भएको बताए। कर्णालीको विपद् जोखिमको अवस्थालाई ध्यानमा राखेर सुर्खेतमा आपत्कालीन सहयोगका लागि मानवीय सहायता केन्द्र राखिएको उनले जनाए।

उनले विपद्का सामग्री भण्डारणका लागि गोदाम घर निर्माण गरिएको र यो सातै प्रदेशमा नेपाल सरकारले व्यवस्थापन गरेको बताए। उनले वीरेन्द्रनगर नगरपालिकाका प्रमुखलाई खुला क्षेत्र बचाइराख्न र विपद् कोषको व्यवस्थापन गर्न अनुरोध गरे।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले कर्णालीमा विपद् प्रतिकार्यका लागि आवश्यक उपकरण नहुँदा समस्या भएको जनाउँदै यसलाई जनशक्ति र उपकरणयुक्त बनाउनुपर्नेमा जोड दिए।

विश्व खाद्य सङ्गठनका सञ्चार अधिकृत मोनिका उपाध्यायले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मानवीय सहायतास्थल करिब चार करोड रुपैयाँ लागनमा निर्माण भएको जनाए। रासस

प्रकाशित: १९ चैत्र २०७८ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App