स्थानीय तह निर्वाचनको मिति वैशाख ३० लाई ताकेर अहिले निर्वाचनको प्रक्रिया सुरु भैसकेको छ। निर्वाचनमा उम्मेदवार बन्नेहरुले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय निर्धारण भएको छ। निर्वाचनको मिति नजिकै आउँदै गर्दा राजनीतिक दलहरु चुनावी माहोल बनाउनमा सक्रिय छन्। निर्वाचनमा एकल वा गठबन्धन गरेर जसरी पनि निर्वाचन आफ्नो पोल्टमा पार्ने रणनीतिमा दलहरु देखिन्छन्। स्थानीय निर्वाचनमा प्रमुख या उपप्रमुख मध्ये एक पदमा अनिवार्य महिला हुनुपर्ने व्यवस्था गरेको छ।
तर बागलुङ गत निर्वाचनमा गठबन्धनको नाममा अनिवार्य महिला सहभागितालाई दलहरु लत्याउँदा बागलुङका ४ स्थानीय तहमा मुख्य पदमा महिला सहभागिता भएन। बागलुङ नगरपालिका, जैमिनी नगरपालिकामा प्रमुख उपप्रमुख दुबै पुरुष निर्वाचित भए। काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकामा पनि अध्यक्ष उपाध्यक्ष नै पुरुष निर्वाचित भएका छन्। बागलुङ नगरपालिकामा नेकपा एमाले, राष्ट्रिय जनमोर्चा र राप्रपाले गठबन्धन गर्दा दुबै पदमा पुरुष उम्मेदवार बनेर उनीहरु नै विजयी भए। जैमिनी नगरपालिकामा एमाले र जनमोर्चाले गठबन्धन गरेर दुवै पदमा पुरुष उठाए।
मेयरमा नेपाली काँग्रेसका इन्द्रराज पौडेल निर्वाचित हुँदा उपमेयरमा नेकपा एमालेका लिला राना विजयी भए। काठेखोलामा पनि एमालेले जनमोर्चासंग गठबन्धन गरेर निर्वाचिनमा गयो। एमालेबाट अमर थापा अध्यक्ष र राजमोबाट अर्जुन खत्री उपाध्यक्ष निर्वाचित भए। बडिगाड गाउँपालिकामा एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गर्दा एमालेका मेहरसिंह पाईजा र माओवादीका राजिब घिमिरे उम्मेदवार बने। एमालेबाट मेहरसिंह पाईजा अध्यक्ष निर्वाचित हुँदा उपाध्यक्षमा काँग्रेसबाट उम्मेदवार बनेको अमरबहादुर श्रीस निर्वाचित भए।
गठबन्धनको बहानामा संविधानमै व्यवस्था भएको प्रमुख पदमध्ये एकमा महिला अनिवार्यतालाई लत्याए। अहिले निर्वाचनको सरमर्गी बढ्दै गर्दा दलहरु उम्मेदवार छनोटको चरणमा छन्। यस पटक पनि दलहरु गठबन्धन गरेर निर्वाचनमा जाँदै गर्दा महिलाले संवैधानिक व्यवस्था अनुसार पाउनुपर्ने पदिय जिम्मेवारी पनि नखोसियोस भनेर यहाँका महिलाहरु सचेत देखिएका छन्। आगामी निर्वाचनमा महिलालाई पनि पुरुष सरह उम्मेदवार बनाउन अन्तरपार्टी महिला सञ्जाल मार्फत महिला नेतृहरु लबिङ थालेका छन्।
महिला नेतृहरुले विगतमा झै गठबन्धनको बहानामा महिलालाई उम्मेदवार बन्नबाटै रोक्ने परिपाटीको अन्त्यका लागि सशक्त रुपमा लाग्ने निर्णय गरेका छन्। अन्तरपार्टी महिला सञ्जाल बागलुङकी अध्यक्ष कुशुम बुढाले स्थानीय निर्वाचनमा महिलाको सहभागिता बढाउने विषयमा आ-आफनो पार्टीमा लबिङ बढाउने बताईन्। ‘हामीले प्रारम्भीक चरणको छलफल थालेका छौं,’ उनले भने,‘पार्टीका नेताहरुसंग छलफल गर्ने महिलाको सहभागिता बढाउनका लागि दबाब सिर्जन ागर्ने काम गर्छौं। तालमेलको नाममा महिलालाई उम्मेदवार बन्नै नदिने खालको समस्या त्यसको विरुद्ध पार्टी भित्रै लड्नुपर्ने अवस्था छ।’
महिलालाई सकेसम्म उम्मेदवार बन्नबाटै रोक्ने र उम्मेदवार बनाउनैपर्ने भए पनि जित्ने ठाउँमा टिकट नदिने समस्या देखिएको उनको भनाई छ। ‘जित्ने ठाउँमा पुरुष उम्मेदवार बन्ने र हार्ने ठाउँमा महिलाई उम्मेदवार बनाउने चलन छ,’ उनले भनिन्,‘यसका विरुद्ध पार्टीमा दबाब सिर्जना गर्नुपर्नेछ।’ नेपाल महिला संघ बागलुङकी अध्यक्ष शकुन्तला शर्माले विभिन्न आन्दोनले महिलाहरुलाई पनि सक्षम बनाएकाले प्रमुख पदमा महिलाले दाबी गर्नुपर्ने बताईन्। ‘अहिले महिलाहरु सक्षम भएका छन्, प्रमुख पद भनेको प्रमुख नै हो,’ उनी भन्छिन्,‘स्थानीय निर्वाचनमा सक्षम महिलाहरुले प्रमुख पदमा दाबी गर्नुपर्छ र पार्टीले पनि टिकट दिनुपर्छ।’
शर्माले विगतमा मौका पाएका वडाध्यक्ष महिलाले राम्रोसंग काम गरेर महिलाल पनि काम गर्न सक्छन् भन्ने प्रमाणित गरेको बताईन्। एमाले नेतृ ममतादेवी शर्माले संरचना बदलिए पनि सोंच नबदलिएका कारण अहिले पनि समस्या देखिएको उल्लेख गरिन्। ‘अहिलेको परिवेशमा सक्षम महिला नै पछि परेका अवस्था छ,’ शर्मा भन्छिन्,‘अरु कसैले भनेको मान्दासम्म अगाडि बढाउने र आफै अगाडि बढ्ने अवस्था हुँदा अगाडि जान नदिने समस्या बढ्दो छ।’
विगतमा महिला भएकै कारण पछि परेको र अहिले पनि महिलालाई हेर्ने नजर ठिक नभएकाले महिलाले आफुलाई अब्बल साबित गर्नेुपर्ने उनको तर्क छ। बागलुङ नगरपालिका-३ की वडाध्यक्ष लक्ष्मी बास्कोटाले अरुको विश्वास जित्नका लागि पहिले आफ्नै आत्मविश्वास जित्नुपर्ने उल्लेख गरिन्। ‘पहिले हामी सक्छौं भनेर आत्मविश्वास आर्जन गरौं र पार्टी भित्र उम्मेदवार बन्नका लागि लडौं,’ उनले भनिन्,‘महिलालाई उपमा थन्क्याउने चलन छ, गठबन्धनका नाममा त्यही पनि खोस्ने गरिएको छ। उप पनि नछाडौं, प्रमुख पदमा पनि दाबी नछोडौं।’
उनले संविधानमै व्यवस्था भएको व्यवस्था कार्यान्वयनमा दलहरुलाई बाध्य पार्न सबै महिला एक हुनुपर्ने बताईन्। बास्कोटाले महिलाको हक अधिकार सुरक्षित भए मात्रै संविधानको रक्षा हुने दाबी गरिन्। महिला अधिकारकर्मी गीता श्रीसले आफ्नो अधिकार सुरक्षित गर्नका लागि महिला नेतृहरुले पार्टी भित्र विद्रोह गर्न तयार हुनुपर्ने बताईन्। ‘हाम्रो समाजको सोंच र चिन्तन उहीं हो, सजिलै कसैले दिँदैनन्,’ उनले भनिन्,‘महिला नेतृहरुले विद्रोह गर्ने हिम्मत नराख्दासम्म मागेर मात्रै अधिकार पाउन कठिन छ।’
पार्टीको उम्मेदवारलाई टिकट बाँड्ने पदाधिकारी तहमा महिलाको सहभागिता नै नभएका कारण पनि महिलाहरु उम्मेदवार बन्नबाट बञ्चित हुने देखिएको उनको गुनासो छ। बागलुङका ८५वडामध्ये कम्तीमा ३० वडामा वडाध्यक्षमा महिला उम्मेदवार बनाउन पार्टीसंग माग गर्ने बताएका छन्।
प्रकाशित: १६ चैत्र २०७८ १४:५२ बुधबार