१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

स्थानीय तहको चुनावी तयारी: माहोल बनाउन गाउँघरमा राजनीतिक दल

चुनावी माहोल बनाउन कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नेपाली कांग्रेसका नेताहरू। तस्बिरः नागरिक

फागुन अन्तिम साता नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदूरपश्चिमको विशेष प्रशिक्षणमा आए। उनले एक दिनभर यहाँका नेता तथा कार्यकर्तालाई स्थानीय तहको निर्वाचनका बारेमा राजनीतिक प्रशिक्षण दिए। प्रशिक्षणकै क्रममा नेता कार्यकर्तालाई जनताको घरदैलोमा जान र चुनावी माहोल तयार गर्न निर्देशन दिए।

केही दिनअघि कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य नेतृ आरजु राणा देउवा धनगढी आइपुगिन्। धनगढीका केही क्षेत्रमा पुगेर उनले स्थानीय नेता तथा कार्यकर्तासँग भेट गरिन्। नेता तथा कार्यकर्तालाई उनले स्थानीय तहको चुनावमा होमिन निर्देशनसमेत दिइन्। पछिल्लो समयमा प्रचण्ड र आरजु मात्रै हैनन् प्रमुख राजनीतिक दलका शीर्ष तथा प्रभावशाली नेताहरू सुदूरपश्चिममा चुनावी माहोल बनाउन धाउन थालेका छन्।

अहिले आफूहरु स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जनताका घरघरमा पुग्न थालेको बताउँदै नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य लक्षीराम आचार्यले भने,‘हामीले सुदूरपश्चिम प्रदेशका ९ वटै जिल्लाका प्रशिक्षणहरु सकेर ८८ वटै स्थानीय तहमा विशेष प्रशिक्षण सञ्चालन गरिरहेका छौँ।’ स्थानीय तहको प्रशिक्षणपश्चात् एक साताभित्रै वडादेखि पालिकासम्म ३/३ जनाका दरले उम्मेदवारहरुको नाम सिफारिस गर्न निर्देशन दिइएको उनले बताए। ‘हामी सुदूरपश्चिममा आक्रामकरूपमा चुनावी तयारीमा जुटेका छौँ,’ केन्द्रीय सदस्य आचार्यले भने,‘सुदूरपश्चिममा स्थानीय तहको निर्वाचनमा बहुमत ल्याउने तयारीका साथ नेता कार्यकर्ता परिचालन गरी प्रचार प्रसार गर्नुका साथै मतदाता रिझाउन घरघरसम्मै दौडधूप चलिरहेको छ।’  

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देल, नेकपा (एकीकृत समाजवादी)का महासचिव वेंदुराम भुषाल, नेकपा एमालेका सचिव योगेश भट्टराईलगायतका शीर्ष तथा प्रभावशाली नेताहरु सुदूरपश्चिममा आइपुगेका छन्। उनीहरुले यहाँका नेता तथा कार्यकर्तासँग भेटघाटका साथै प्रशिक्षण तथा आमसभा गरेर कार्यकर्तालाई स्थानीय तहको चुनावी माहोलमा होमिन निर्देशन दिए। अहिले सबै राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु गाउँमा राजनीतिक माहोल सपार्न गाउँ तथा टोल केन्द्रित भएका छन्।

अहिले राजनीतिक दलहरुले टोल गई टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी थालेका छन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै यहाँका सक्रिय राजनीतिक दलका नेताहरू मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिरेका हुन्।  

नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका महामन्त्री नरनरायण शाह ‘मनु’ ले अहिले कांग्रेस वडास्तरीय कार्यक्रममा गाउँ गाउँ पुगेर घरघर छिरेको बताए। उनले भने,‘हामी चुनावी रणनीति बनाउँदै मतदाताका पीर मर्का बुझ्न फेरि घरघर छिरेका छौँ।’  

यस्तै नेकपा एमालेले पनि सुदूरपश्चिममा आफ्ना गतिविधिलाई आक्रामकरुपमा अगाडि बढाएको छ। नेकपा एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकका अनुसार गत फागुन १५ र १६ गते स्थानीय तहको प्रशिक्षण कार्यक्रम गरिसकेर प्रदेशका ९ वटै जिल्लामा निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइरहेको छ। ‘हामीले सबै कमिटीका नेताहरुलाई एक तह तल ओर्लेर स्थानीय तहको निर्वाचनका लागि खट्न निर्देशन दिएका छौँ,’ प्रदेश सचिव पाठकले भने,‘निर्वाचनका लागि हामी वृहत योजनासहित अगाडि बढिसकेका छौँ।’

अहिले एमालेले सुदूरपश्चिम प्रदेशभरी गाउँ टोलमा भेला तथा प्रशिक्षण कार्यक्रम चलाइरहेको पनि उनले बताए। ‘हामीले सबै गाउँ तथा टोलमा भेला तथा प्रशिक्षण चलाइरहेका छौँ,’ उनले भने,‘यसका साथै जितेका पालिकामा गरिएको दस्तावेदीकरण गर्नुका साथै त्यसलाई प्रचार प्रसार पनि गरिरहेका छौँ।’  

यद्दपि राजनीतिक दलहरुले अहिलेसम्म स्थानीय तहको निर्वाचनका लागि आफ्ना उम्मेदवार दिई सकेका छैनन्। उम्मेदवार दिई नसक्दा पनि पार्टीको पक्षमा सैद्धान्तिक विचार दिँदै प्रचार प्रसार र पार्टीले उम्मेदवार बनाएको व्यक्तिलाई स्थानीय तहको निर्वाचनमा भोट हाल्न भन्दै मतदातालाई फकाउन थालेको कांग्रेस नेता लेखराज जोशीले बताए।

‘अहिले व्यवस्थाकै विरोध गरेर भ्रम छरिरहेको केही तत्व सक्रिय छ,’ उनले भने,‘त्यसको वास्तविकता कार्यकता, मतदाता तथा आम नागरिक समक्ष प्रस्तुत गर्दै पार्टीको पक्षमा मतदान गर्न भनेर गाउँ केन्द्रित भएका छौँ।’

प्रकाशित: १५ चैत्र २०७८ १५:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App