१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

गठबन्धन दलसँग कांग्रेसले चुनावी तालमेल गर्ने

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनमा रहेका राजनीतिक दलहरूसँग स्थानीय आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने भएको छ।

शुक्रबार सुरु भएको कांग्रेस केन्द्रीय समितिको बैठकले गठबन्धनका सदस्य दलहरूबीच रहेका आशंका हटाउँदै तालमेलको पक्षमा निर्णय लिने भएको हो। सदस्यहरूले सोमबार बोल्ने क्रम सकिएलगत्तै बसेको पदाधिकारीसहितका नेताहरूको बैठकमा निर्वाचनमा तालमेल गरेर जानेगरी प्रस्ताव तयार गर्ने समझदारी भएको छ। मंगलबार ३ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठकमा चुनावी तालमेलसहितका विषयमा प्रस्ताव पेस हुनेछ।

‘गठबन्धनका विषयमा उठेका आशंका चिर्दै तालमेलको पक्षमा साझा प्रस्ताव बैठकमा आउँछ,’ नेता रामचन्द्र पौडेलले भने, ‘तालमेलकै पक्षमा पार्टीले सर्वसहमतिबाट साझा निर्णय लिनेछ।’ स्थानीय तहको निर्वाचनमा उम्मेदवारी छनोट गर्ने अधिकार पार्टी विधानले विभिन्न निकायलाई दिएको उल्लेख गर्दै नेता पौडेलले स्थानीय आवश्यकताअनुसार केन्द्रको समेत निगरानी रहनेगरी प्रदेश, जिल्लासहितका निकाय तालमेलको निर्णयमा पुग्ने बताए। ‘कांग्रेसको विधान छ, त्यसले कहाँ के गर्ने भन्ने स्पष्ट गरेको छ,’ पौडेलले भने, ‘त्यही अनुसार आवश्यकताका आधारमा तालमेलको निर्णय लिइनेछ।’

काठमाडौंसहित ६ महानगरपालिका र उपमहानगरपालिकाहरूका हकमा गठबन्धनका दलहरूसँग छलफलबाट भागबन्डाको टुंगो केन्द्रले लगाउने निकट स्रोतको दाबी छ।

केन्द्रीय समिति बैठकमा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवासहित अधिकांश नेता अहिलेको गठबन्धनलाई कायमै राख्दै स्थानीय आवश्यकताअनुसार चुनावी तालमेलको पक्षमा उभिएका थिए। गठबन्धन नहुँदा २०७४ को आमनिर्वाचनमा आफूले पनि बालबाल निर्वाचन जितेको बताउँदै सभापति देउवाले तालमेल गरेर जानुपर्ने धारणा राखेका थिए। २०७४ मा भएको तीनै तहको निर्वाचनमा तालमेल नहुँदा पार्टीका धेरै नेताले पराजय बेहोर्नुपरेको उल्लेख गर्दै देउवाले बैठकमा भनेका थिए, ‘गठबन्धन गरेर जाने हो भने अहिले हामी सबै सिट जित्छौं।’

बैठकमा नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा स्थानीय आवश्यकताअनुसार तालमेल गर्नुपर्ने बताए। अहिलेको निर्वाचन प्रणालीले पनि गठबन्धनको आवश्यकतालाई औंल्याएको जनाउँदै पौडेलले स्थानीयसहित तीनै तहको निर्वाचनमा मुख्य प्रतिस्पर्धी एमाले भएको धारणा राखेका थिए। उसलाई साइजमा राख्न पनि गठबन्धन आवश्यक रहेको धारणा राख्दै पौडेलले भने, ‘अहिले ओलीलाई बलियो बनाउन हुँदैन। पुष्पकमल दाहाल र माधव नेपाललाई हामीले मत दिएर पनि राख्नुपर्छ। नभए लोकतन्त्र संकटमा पर्छ।’

पूर्वमहामन्त्री शशांक कोइरालाले स्थानीय तहको निर्वाचनमा तालमेलको अधिकार तल्लो तहलाई नै छाडिदिनुपर्ने धारणा राखेका छन्। स्थानीय तहको निर्वाचन सकिएपछि प्रदेश र संघमा गठबन्धन गरेर जाने विषयमा छलफल गर्नुपर्ने धारणा राख्दै शशांकले बैठकमा भने, ‘पार्टीभत्रै एक मत हुन नसकेको अवस्थामा स्थानीय तह निर्वाचनमा तालमेलपट्टि नलागौं, प्रदेश र केन्द्रमा गठबन्धन गर्नेनगर्ने विषयमा सल्लाह गरौं।’

महामन्त्री विश्वप्रकाश शर्माले पनि स्थानीय आवश्यकता हेरेर मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिएका थिए। तर अर्का महामन्त्री गगनकुमार थापा, नेता शेखर कोइरालासहितका केही नेता भने स्थानीय तहको निर्वाचनमा गठबन्धनको विपक्षमा उभिएका छन्। स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कुरा सैद्धान्तिक हिसाबले पुष्टि गर्न नसकिने बताउँदै महामन्त्री थापाले भने, ‘देशभरमा लाखौं नयाँ मतदाता जो पहिलो पटक मतदान गर्दैछन्, उनीहरूलाई रुखमा भोट हाल्न नलगाउने हो भने त्यसपछि कांग्रेसमा भोट हाल्ने बनाउन सकिँदैन।’

गठबन्धनको पक्षमा नउभिए कम्युनिस्टहरू मिल्न सक्ने नेताहरूको धारणाको विपक्षमा उभिँदै थापाले भने, ‘कम्युनिस्टलाई मिल्न नदिनु नै लोकतन्त्र हो त? म चुनावी गठबन्धनको पक्षमा छैन।’  

नेता शेखर कोइरालाले स्थानीय तहको निर्वाचनमा तालमेलको निर्णय केन्द्रबाट गर्न नहुने धारणा राखे।

केन्द्रले गरेको निर्णय तल्लो तहका नेता तथा कार्यकर्ताले मानेनन् भने के हुन्छ भन्ने प्रश्न गर्दै उनले भने, ‘गठबन्धन केका लागि र किन गर्ने ? गठबन्धन गर्नतिरभन्दा कांग्रेस नै एक गर्न लागौं, यसमै कांग्रेसलाई फाइदा छ।’

सोमबारको बैठकमा नेता पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय थापा र शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे र जीवन परियार, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, डा. शशांक कोइराला, चित्रलेखा यादव, रामशरण महत, अर्जुननरसिंह केसी, प्रवक्ता प्रकाशशरण महत, डा. शेखर कोइराला, बलबहादुर केसी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी, पद्मनारायण चौधरी, दिलेन्द्रप्रसाद बडू, सुरेन्द्रराज पाण्डेसहितले आआफ्नो धारणा राखेका थिए। मंगलबार दिउँसो ३ बजे पुनः बस्ने बैठकले चुनावी तालमेलसहितका विभिन्न विषयमा निर्णय लिनेछ।

प्रकाशित: १५ चैत्र २०७८ ०१:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App