१४ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

तालमेलकै पक्षमा कांग्रेस

नेपाली कांग्रेसले स्थानीय आवश्यकता र औचित्यका आधारमा स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलसँग तालमेल गर्ने भएको छ। केन्द्रीय समितिको जारी बैठकमा सदस्यहरूको धारणा सुनेसँगै कांग्रेस नेतृत्व वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका दलसँग स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने निष्कर्षमा पुगेको हो।

बैठकमा सबैजसो केन्द्रीय सदस्यले तालमेलकै पक्षमा मत राखेको जानकारी दिँदै नेता रामचन्द्र पौडेल भने, ‘केन्द्रले सैद्धान्तिक वा नीतिगत निर्णय गर्नेछ। तालमेल कुन तरिकाले गर्नेलगायत बाँकी कुरा पार्टीका तल्ला तहले नै टुंयाउनेछन्।’

केन्द्रीय कार्यालय सानेपामा शुक्रबारदेखि सुरु केन्द्रीय समितिको बैठक आइतबार पनि बस्यो। बैठकमा बोल्ने नेताहरूले स्थानीय आवश्यकताअनुसार निर्वाचनमा तालमेल गर्नुपर्ने तर त्यसका लागि पार्टीले सैद्धान्तिक निर्णय लिनुपर्नेमा जोड दिँदै विपक्षमा उभिन उपयुक्त नहुने धारणा राखेका थिए। निर्वाचन प्रणालीका कारण पनि संघ र प्रदेशमा सरकार सञ्चालनका लागि गठबन्धन आवश्यक रहेको भन्दै उनीहरूले स्थानीय तहको चुनावमा पनि तालमेलका पक्षमा जोड दिएका हुन्।

अहिले २०७४ सालमा निर्माण भएको वाम गठबन्धन भत्कनुका साथै एमाले विभाजन हुँदा कांग्रेसका नेता–कार्यकर्तामा केही उत्साह आएको तर्क गर्दै केन्द्रीय सदस्य एनपी साउदले कम्युनिस्टहरूले साढे तीन वर्षसम्म केन्द्रदेखि स्थानीय तहसम्म दोहन गरेको स्रोतसाधन आगामी निर्वाचनमा कांग्रेसविरुद्ध प्रयोग गर्न सक्नेतर्फ सचेत हुनुपर्ने धारणा राखेका थिए।

कर्मचारी प्रशासन अहिले पनि कम्युनिस्टहरूकै पक्षमा रहेको तर्क गर्दै उनले निर्वाचन प्रणालीका कारण पनि गठबन्धन गर्नुपर्ने आवश्यकता औंल्याए। राजनीतिक र भौगोलिक आधारमा ‘भोट ट्रान्सफर’ हुनेगरी तालमेल गर्नुपर्ने बताउँदै उनले भनेका थिए, ‘तालमेल नहुँदा विगतको निर्वाचनमा पनि कांग्रेस दोस्रो हुन पुग्यो। अहिले गठबन्धन सरकार पनि भएकाले त्यसलाई निरन्तरता दिँदै अघि बढे परिणाम कांग्रेसको पक्षमा आउन सक्छ।’

अर्का केन्द्रीय सदस्य दीपक गिरीले पनि निर्वाचनमा तालमेलका पक्षमा धारणा राखेका थिए। उनले निर्वाचन तालमेल स्थानीय आवश्यकता र औचित्यका आधारमा हुनुपर्ने बताएका थिए। एकमहिने अभियानअन्तर्गत केन्द्रीय प्रतिनिधिका रूपमा बाँके खटिएका गिरीले नेपालगन्जको ऐतिहासिक पक्षको स्मरण गराउँदै उम्मेदवार छनोटदेखिका कुरामा स्थानीय आवश्यकता र अवस्थाको ख्याल गर्नुपर्नेमा जोड दिएका थिए।

केन्द्रीय सदस्य श्यामकुमार घिमिरेले पनि संसदीय प्रजातन्त्र भएका देशमा चुनावी तालमेल गर्ने कुरा नौलो विषय नभएको तर्क गरेका थिए।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मात्र होइन, प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि गठबन्धन गरेर जानुपर्नेमा जोड दिँदै उनले भने, ‘ठिक छ हामीले तालमेल नगरी एक्लै प्रतिष्पर्धा गरौं। तर अन्य दलबीच गठबन्धन भयो भने हाम्रो अवस्था के हुन्छ त्यो पनि ख्याल गरौं। तीनै तहको चुनावमा तालमेल गरेर जानुपर्छ।’

सुजाता कोइरालाले पनि निर्वाचनमा गठबन्धन गरेर जानु पार्टीका लागि उपयुक्त हुने बताइन्। गठबन्धनकै कारण कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्री पाएको भन्दै चुनावका मुखमा आएर दलहरूसँगको गठबन्धन तोड्नु ठिक नहुने उनको तर्क थियो। ‘गठबन्धन गरेर जाने कि नजाने भन्ने छलफल भइरहेको छ। गठबन्धन गरेरै जानुपर्छ,’ उनले भनिन्, ‘हामी कमजोर भएको ठाउँमा छाड्नुपर्छ, बलियो भएको ठाउँमा हामीले उम्मेदवारी दिनुपर्छ।’

कांग्रेस प्रवक्ता प्रकाशशरण महतले हरेक वडा, पालिका र महानगरपालिकामा पार्टीले कसरी धेरैभन्दा धेरै सिट जित्छ र पार्टी बलियो बन्छ भन्ने कुरालाई ध्यानमा राखेर चुनावी तालमेल हुने बताए। सबै सदस्यहरूको धारणा सुनिसकेपछि पार्टीले यसबारेमा आधिकारिक निर्णय गर्ने बताउँदै उनले भने, ‘अहिलेसम्म बोलेकामध्ये जेरैजसोले कतिपय ठाउँमा सत्ता गठबन्धनमा रहेका दलसँग समझदारी गरेर नै जानुपर्ने धारणा राख्नुभएको छ। बाँकीको धारणा सुनेर पार्टीले निर्णय लिन्छ।’ बैठक सोमबार फेरि बस्नेछ।

प्रकाशित: १४ चैत्र २०७८ ००:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App