२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चीनको प्रमुख चासो सुरक्षा

उत्तरी छिमेकी मुलुक चीनले नेपाली भूभाग प्रयोग भएर चीन विरोधी गतिविधि हुनसक्ने भन्दै चासो व्यक्त गरेको छ। नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीले उच्चस्तरीय भेटघाटमा नेपाली भूमि तिब्बतसहित चीन विरोधी गतिविधिमा प्रयोग हुनसक्ने भन्दै सुरक्षा चासो व्यक्त गरेका हुन्।

नेपालमा बेलाबेलामा हुने तिब्बत विरोधी गतिविधिबाट सशंकित चीनले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्बाट अनुमोदन भएसँगै थप सुरक्षा चासो व्यक्त गरेको हो। एमसिसीलाई हिन्द प्रशान्त रणनीतिको अंगका रूपमा बुझेको चीनले त्यसको कार्यान्वयन हुँदा आफ्नो सुरक्षामा खतरा हुन सक्ने आकलन गर्दै आएको छ। विदेशमन्त्री वाङको आकस्मिक नेपाल भ्रमणका क्रममा भएका भेटवार्तामा उनले यही कुरालाई प्राथमिकताका साथ उठाएका हुन्।

‘चीन नेपालको सम्प्रभुता, स्वतन्त्रता र आन्तरिक मामिलामा हस्तक्षेप तथा नेपालमा भूराजनीतिक खेलका प्रयासको विरोध गर्छ,’ चिनियाँ विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा छ, ‘चीन नेपाल मामिलामा नेपाली जनता आफैंले निर्णय गर्नुपर्छ भन्ने कुरामा विश्वास गर्छ।’ चीनले नेपालको स्वतन्त्र आन्तरिक विदेशनीतिको समर्थन गर्ने, चीनको नजरमा साना वा ठूला मुलुक समान भएको तथा उनीहरू सबैको सम्प्रभुता, स्वतन्त्रता र भौगोलिक अखण्डताको सम्मान गर्ने विज्ञप्तिमा उल्लेख छ। ‘नेपाल चीन र दक्षिण एसियाबीचको सहयोगको राम्रो उदाहरण बन्नुपर्छ,’ विज्ञप्तिमा छ।

चिनियाँ विदेशमन्त्री वाङले आइतबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँगको भेटमा पनि क्षेत्रीय र अन्तर्राष्ट्रिय राजनीति तथा एमसिसी कार्यान्वयनपछिको अवस्था र हिन्द प्रशान्त रणनीतिको प्रभावबारे जिज्ञासा राखेको दाहाल निकट एक नेताले बताए। दाहालसँग वाङले बिआरआईलगायत चिनियाँ परियोजनाको प्रभावकारी कार्यान्वयनका विषयमा चासो राखेको जानकारी भेटमा सहभागी नेता शक्ति बस्नेतले दिए।

दाहालले आफ्नो पार्टी एक चीन नीति र नेपालको भूमि चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिने सरकारको नीतिप्रति प्रतिबद्ध रहेको बताएका थिए। यसअघि २०७६ भदौमा तीनदिने नेपाल भ्रमणमा आएका विदेशमन्त्री वाङले दाहालसँग हिन्द प्रशान्त रणनीतिका बारेमा चासो राखेका थिए। त्यतिबेला पनि दाहालले नेपालले चीनको सुरक्षा चासो र विकासमा अवरोध सिर्जना गर्ने कुनै पनि परियोजना स्वीकार नगर्ने बताएका थिए।

वाङसँगको भेटमा दाहालले नेपाल–चीन व्यापारिक नाकाहरूलाई नियमित गर्नेबारेमा छलफल गरेका थिए। भेटमा दुईपक्षीय सम्बन्ध र दुई पार्टीबीचको सम्बन्धबारे पनि चर्चा भएको थियो।

चिनियाँ विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा पनि नेपालको भूभागबाट चीन विरोधी गतिविधि हुनसक्नेबारे चासो राखेका थिए। ‘उहाँहरूको चासो नेपालको भूमिबाट स्वतन्त्र तिब्बतसम्बन्धी गतिविधि हुन्छन् कि भन्ने थियो,’ सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेसका प्रवक्ता तथा पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले भने, ‘हाम्रातर्फबाट चीन विरोधी गतिविधि हुन नदिने प्रतिबद्धता व्यक्त भएको छ।’

नेपाली कांग्रेस एक चीन नीतिप्रति सधै प्रतिवद्ध रहेको र त्यसलाई व्यवहारमा पनि लागु गरिरहेको बताउँदै महतले चिनियाँ पक्षलाई आश्वस्त बनाएको बताए। उनले नेपाल हिन्द प्रशान्त रणनीतिको अंग नभएकाले त्यसको प्रभाव नेपाल नपर्ने जानकारी दिए।

नेकपा एमालेका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीसँगको भेटमा पनि उनले चीनको सुरक्षा र दुई पक्षीय सम्बन्धका बारेमा चासो राखेका थिए। भेटमा बीआईसँग जोडिएका आयोजना अघी तत्काल बढाउने बारेमा कुरा भएको एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईले जानकारी दिए। भेटका क्रममा ओलीले बीआरआई अन्तर्गतका आयोजनाहरुलाई छिटो अघी बढाइदिँदा समृद्ध नेपालको आकांक्षा पुरा हुने बताएको भट्टराईले जानकारी दिएका छन्। 

‘कोरोना महामारी पछि बन्द भएका नाकाहरु खोल्नुपर्ने, कोरोना पछि फर्किएका नेपाली विद्यार्थीहरुको अध्ययनलाई निरन्तरता दिनुपर्ने र हुम्लाभन्दा पारी करिब पाँच सय नेपाली अडकिएको सुचना आएकाले उनीहरुलाई नेपाल आउने व्यवस्था मिलाउनु पर्ने लगायतका विषयमा छलफल भयो,’ भेटपछि पत्रकारहरुसँग भट्टराईले भने, ‘चिनियाँ विदेशमन्त्रीले तत्कालै सम्बोधन गर्नुपर्ने विषयहरु र दीर्घकालिन रुपमा बीआरआई अन्तर्गत र अन्य परियोजनाहरुलाई छिटो भन्दा छिटो कार्यान्वयनमा लगेर जाने तथा कोभिडको बेलामा चीनले गरेको सहयोग र त्यसलाई निरन्तरता दिने कुरामा पनि प्रतिवद्धता जनाउनुभयो।’

विदेशमन्त्री वाङले नेपाल र चीन अत्यन्त नजिकका छिमेकी भएकाले ठूलो राष्ट्र र सानो राष्ट्रबीचमा राम्रो सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले उदाहरण प्रस्तुत गरेको बताएका थिए। भेटमा ओलीले कोरोना नियन्त्रणका लागि चिनियाँ सहयोग र योगदानका लागि धन्यवाद व्यक्त गरेका थिए।

तीन दिवसिय नेपाल भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्किएका वाङले आइतबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका थिए। उनको नेपाल बसाईका क्रममा प्रतिनिधिमण्डलस्तरिय छलफल तथा केही सम्झौता पनि भएका छन्।

प्रकाशित: १४ चैत्र २०७८ ००:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App