प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा जिल्लाका सबै पालिकामा पार्टीका उम्मेदवारलाई जिताउन निर्देशन दिएका छन्। सदरमुकाम गाईघाटमा शुक्रबार आयोजित जनसभामा बोल्दै अध्यक्ष ओलीले चुनावपछि देशभर एमालेले कब्जा जमाउने गरी परिचालन हुन कार्यकर्तातालाई निर्देशन दिएका हुन्।
ओलीले एमाले जनताको पार्टी भएको दाबी गर्दै आफूले सुरु गरेका राम्रा कार्यक्रमहरु सबै गठबन्धन सरकारले रोकेको आरोप लगाए। एमालेले ल्याएका सडक, विद्युत, भवन, खानेपानी, विश्वविद्यालयजस्ता राम्रा योजनाहरु वर्तमान सरकारले अवरुद्ध गरेको उनको गुनासो थियो।
ओलीले गठबन्धन सरकार सस्तो लोकप्रियताका लागि हचुवाका कार्यक्रम ल्याएको आरोप लगाए। भारतलाई प्रतियुनिट ४ रुपैयाँमा बेचेको विद्युत उसैबाट ३८ रुपैयाँले किन्ने अनि जनतालाई छुट दिएको डिङ हाँकेको उनको आरोप थियो। त्यस्तो हावादारी गफ दिएर जनतामा भ्रम नछर्न पनि उनले सुझाए।
वृद्धवृद्धालाई माया गर्ने, बालबालिकालाई पढाउने पार्टी एमाले भएको जिकिर गर्दै ओलीले ०५३ सालमा १ सय रुपैयाँबाट सुरु गरेको वृद्धभत्ता अहिले दिनको १ सय ३३ रुपैयाँ पुगेको बताए। एमालेले अरु पनि थुप्रै जनमैत्री काम गरेको ओलीको दाबी थियो।
जिल्ला, स्थानीयतह, प्रदेश र संघलाई जोड्ने २ सय ६६ वटा सडक, ३ सय ९६ वटा अस्पताल र मदन भण्डारी लोकमार्ग तथा हुलाकी राजमार्ग निर्माण गरेको दाबी गरे। यस्ता कामबाट आत्तिएर षड्यन्त्रपूर्वक एमालेलाई सरकारबाट हटाइएको उनको आरोप थियो।
राष्ट्रियताको सवालमा स्पष्ट अडान राख्ने पार्टी एमाले नै भएको दाबी गर्दै ओलीले नाकाबन्दीको सामना, भारतले हडपेको जमिन फिर्ता गर्ने जस्ता काम गरेको देखेर अन्य पार्टीबरु आत्तिएर एमालेविरुद्ध एकजुट हुन पुगेको बताए। तर जतिसुकै खेदो गरे पनि एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको दावा उनको थियो।
उनले पार्टी छाड्नेहरु चोक्टा खान गएको भन्दै अब झोलमा डुबाउनु पर्ने बताए। त्यस्तै उनीहरुलाई पिलोको संग्या दिँदै पिलो निचोरेपछि पार्टी र शरीर हलुका भएको बताए।
'यो वैशाख ३० गतेको चुनावमा चोक्टा खान गएकाहरुलाई झोलमा डुबाउनु पर्छ,' ओलीले धारेहात लगाउँदै भने, 'पिलो निचोरेपछि तौल घट्छ भनेको होला, तर, निर्वाचनपछि बरु २/३ किलो एमालेको वजन बढेको पो छ।'
स्थानीय तहको चुनावका लागि चैत मसान्तभित्र उम्मेदवारको नाम सिफारिस गरिसक्न जिल्ला पार्टीलाई ओलीको निर्देशन थियो।
गाईघाटमा आयोजित कार्यक्रममा सहभागी हुनुअघि अध्यक्ष ओलीले सदरमुकाममै त्रियुगा नगरपालिका ९ बासबारीमा निर्मित 'मदन भण्डारी आँखा अस्पताल'को भवनको उद्घाटन गरेका थिए। विगत दशकयता सञ्चालन हुँदै आएको प्राथमिक आँखा उपचार केन्द्र नया भवन बनेपछि अस्पतालमा रुपान्तरित हुन पुगेको छ।
तत्कालीन सांसद मन्जु चौधरीको संसदीय विकास कोषको ४० लाख, जापान सरकारको १ करोड र प्रदेश सरकारको ५० लाख तथा अन्य स्रोत जुटाएर ३ तले आधुनिक भवन निर्माण भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष भागवत राउतले बताएका छन्।
प्रकाशित: ११ चैत्र २०७८ १४:५५ शुक्रबार