तीनदिने औपचारिक भ्रमणमा आज अपराह्न ४ बजे काठमाडौं आइपुग्ने चीनका विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीले शनिबार प्रधानमन्त्री शेरबहादुरसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।
त्यस्तै चिनियाँ प्रतिनिधिले सोही दिन परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग पनि भेट गर्ने स्रोतले जनाएको छ।
‘ समयतालिका अनुसार चिनियाँ परराष्ट्रमन्त्रीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्नेछन्,’ स्रोतले भन्यो। परराष्ट्रमन्त्री डा.खड्काको निमन्त्रणामा वाङ नेपाल आउन लागेका हुन्।
उनले राजनीतिक दलका शीर्ष नेतासँग पनि भेट गर्ने कार्यक्रम रहेको तर विस्तृत विवरण भने खुलाइएको छैन।
अमेरिकी अनुदान मिलेनिम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट सम्झौतालाई संसदबाट व्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने नेपालका लागि चिनिया विदेशमन्त्रीको भ्रमण अर्थपूर्ण रहेको परराष्ट्र मामिला विज्ञहरू बताउँछन्।
एमसीसी कम्प्याक्ट सम्झौता नेपालले अनुमोदन गरोस् भन्ने चीन नचाहेको बुझिएको छ।
प्रकाशित: ११ चैत्र २०७८ ०७:४१ शुक्रबार