नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका साइबर सेनाहरुले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरुको निन्द्रा खराब भएको बताएका छन्।
बुधबार काठमाडौंमा भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै उनले ओलीका अपराधहरुलाई जम्मा गरेर जनतासमक्ष लैजाने बताएका हुन्। अध्यक्ष नेपालले केपी ओली झुटो बोल्न माहिर रहेको र जे पनि भनिदिन सक्ने आरोप लगाए।
अध्यक्ष नेपालले भने, ‘तपाईको र एमालेको पार्टीमा के फरक छ कमरेड? तपाईका दुई मन्त्रीहरु एमालेमा जान लाग्नुभएको हो कमरेड? अरु पार्टी र तपाईको पार्टीमा के फरक छ र तपाईलाई जिताउने कमरेड? भनेर धेरै प्रश्नहरु उदाहरणको निम्ति एउटा प्रचार गरिएछ, दुई मन्त्री प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठमध्यरातमा बालकोट पुगेछन्, केपी ओलीसँग गोप्य वार्ता गरेछन्, अब उनीहरुको टिकटबाट चुनावमा लड्ने रे। त्यसले कतिपय हाम्रा कमरेडहरुको निन्द्रा खराब। विरोधीले, केपी ओलीको साइबर स्यालले प्रचार गरेको कुरालाई पत्याएर हो कमरेड भनिरहेका छन्। हैरान। हो को जवाफ दिँदा हैरान। सिधै ती त फटाहाहरु हुन् भनेर जवाफ दिने हो। जसमा कुनै सत्यता छैन। गलत सूचना हो। एक पैसा पनि सत्यता छैन। यस्ता कुराले गर्दा तपाईको हाम्रो दिमाग खराब भएको छ। त्यसैले झुटो कुराको पछाडि जाने होइन। बरु केपी ओलीका अपराधहरु के के हुन्? जति छन् त्यो तयार गरेर हामीले जनताको माझमा लैजानुपर्छ। भ्रष्टाचारसँग जोडिएका, राष्ट्रघातसँग जोडिएका, जनविरोधी कामसँग जोडिएका, अनुचित कामसँग जोडिएका, कम्युनिष्टहरुको आचरणसँग मेल नै नखाने, आदर्शसँग मेल नै नखाने, त्यस्ता खालका। एउटा कुरा त हामीले बुझेका छौँ, केपी ओली झुटो बोल्न माहिर छन्। उनले जे पनि भनिदिन सक्छन्।’
यस्तै सोही कार्यक्रममा अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्ताहरुलाई अरुको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गरे। उनले आफ्नो शक्ति बलियो भएमात्र अरुसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्नु नहुने बताए।
अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा समाज र पार्टीले चिनेको मान्छेलाई मात्रै उम्मेदवारीमा उठाउनु पर्ने बताए। अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीदवय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न गएको कुरा झुटो भएको दाबी गरे।
अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत् नेपाललाई इण्डोप्यासिफिकको अंग बनाउने कुरा ल्याएको आरोप लगाए। उनले आफूले त्यसको विरोध गरेपछि अहिले अमेरिकाले इण्डोप्यासिफिकको अंग बन्ने कुरा काटेको बताए। अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारीता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताए।
अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजन सम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताए। उनले केपी ओली १४ वर्षसम्म जेल बसेको र १४ वर्षपछि केन्द्रिय कमिटीमा आएको भन्दै फुर्ति नदेखाउन चेतावनी दिए। अध्यक्ष नेपालले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताए।
फरक प्रसंगमा अध्यक्ष नेपालले नेपालको नेपालको शिक्षा, स्वास्थ्य लगायतका धेरै क्षेत्रमा परिवर्तन आवश्यक रहेको बताए। उनले जनतालाई रोजगारी, सीपप्रदान गर्ने लगायतका नीति तर्जुमा गर्न आवश्यक रहेको पनि बताए।
अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिष्पर्धा गरेमात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताए। उनले ओलीको घमण्डलाई चक्नाचुर पार्ने कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको बताए। अध्यक्ष नेपालले ओलीलाई विदेशीको आड रहेको आरोपसमेत लगाए।
प्रकाशित: ९ चैत्र २०७८ १३:२० बुधबार