१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेमा प्रवेश गर्ने भनेर प्रचार गरेका नेता सिंह अन्ततः जसपा प्रवेश

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर नेकपा एमाले प्रवेश गर्ने भनी समाजिक सञ्जाल र पत्रकार सम्मेलनमार्फत् घोषणा गरिएका वीरगन्जका नेता राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गरेका छन्।

नेता सोमबार वीरगञ्जको नगर सभागृहमा आयोजित पार्टी प्रवेश कार्यक्रममा जसपा प्रवेश गरेका हुन्। जसपाका सङ्घीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई तथा केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थिती र मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतजस्ता नेताहरुको उपस्थितीमा नेता सिंहलाई फूलमाला लगाएर जसपा प्रवेश गराइएको हो।

सङ्घीय सांसद् प्रदीप यादव, प्रदेश सांसदहरु तथा जिल्लाका नेताहरुको उपस्थितीमा सिंहसँगै लोसपा र अन्य राजनीति दल त्यागेर युवाहरुको एउटा ठूलो समूह पनि जसपा प्रवेश गरेको छ। सिंहलाई आगामी स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर लडाउने जसपाको तयारी रहेको एक नेताले बताए।

नेता सिंह पनि आफू आगामी निर्वाचनमा मेयरको चुनाव लड्ने बताएका छन्। यसअघि सिंहले एमाले प्रवेशको घोषणा गरेका थिए। हालको जसपा तत्कालिन सङ्घीय समाजवादी फोरम नेपालबाट निर्वाचित वीरगन्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी सिंह अगावै एमाले प्रवेश गरे।

त्यसपछि उता एमालेमा सिंहको मेयरमा टिकटको सम्भावना घटेको थियो भने यता जसपामा मेयरको उम्मेदवार को बन्ने भन्ने चर्चा सुरु भएको थियो। अब सिंहको प्रवेशपछि जसपाले सिंहलाई मेयरको उम्मेदवारका रुपमा अगाडी सार्ने पक्का भएको आंकलन गरिएको छ।

मधेस आन्दोलनको एक जना चर्चित नेताको रुपमा उनको उदय भएको थियो। अघिल्लो निर्वाचनमा सिंह तत्कालिन राष्ट्रिय जनता पार्टीबाट मेयर लडेर तेस्रो लोकप्रीय मत ल्याएका थिए। त्यतिबेला निर्वाचित भएका सरावगीले १९ हजार ३ सय ९३ मत ल्याउँदा निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका अजयकुमार द्विवेदीले १७ हजार १ सय ५७ मत र तेस्रो भएका सिंहले १२ हजार १६५ मत ल्याएका थिए।

सिंहको जसपा प्रवेशसँगै आगामी स्थानीय तह निर्वाचनमा वीरगन्ज महानगरपालिकाको प्रतिश्पर्धा रोचक हुने भएको छ। कांग्रेस र एमाले र जसपा अहिले मुख्य प्रतिस्पर्धी देखिएका छन्। कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने सार्वजनिक हुन सकेको छैन।

प्रकाशित: ७ चैत्र २०७८ १०:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App