५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

वैशाख ३० गते नै चुनाव हुन्छ, द्विविधामा पर्नुपर्दैनः दाहाल

पोखरामा बोल्दै माओवादी अध्यक्ष दाहाल। तस्बिरः उमेश पुन/नागरिक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले स्थानीय तहको चुनाव तोकिएकै मितिमा हुने दाबी गरेका छन्। प्रेस सेन्टर गण्डकी प्रदेशले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै दाहालले स्थानीय तहको चुनाव वैशाख ३० गते नै हुने बताए।

निर्वाचन के हुन्छ भन्ने प्रश्न पनि अहिले बारम्बार उठ्ने गरेको बताउँदै उनले त्यसमा द्विविधामा बसिरहन आवश्यक नरहेको बताए। ‘निर्वाचन तोकिएकै मितिमा हुन्छ, बैशाख ३० गते नै स्थानीय तहको निर्वाचन हुन्छ,’ उनले भने, ‘यसमा अन्योलमा बस्नुपर्दैन।’ उनले कहिँकतैबाट पनि निर्वाचन रोकिने स्थिति नरहेको बताए।  

प्रधानमन्त्री शेरबहादुर देउवाले चुनाव हुने दिन विहानसम्म पनि चुनाव हुन्छ कि हुन्न भन्ने बहस नेपालमा भइराख्ने भनेको सुनाउँदै दाहालले थपे, ‘तर म प्रष्ट भन्न चाहन्छु। निर्वाचन हुन्छ तोकिएकै मितिमा।’ उनले निर्वाचन प्रक्रियामा सामेल हुन र त्यसको तयारीमा लाग्न अपिल पनि गरे।

पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष दाहालले गठबन्धनबाट चुनाव जितौंला भनेर बस्न नहुने बताए। बरु आफ्नै खुट्टामा उभिएर चुनाव जित्नुपर्ने उनको भनाई थियो। ‘हामी गठबन्धन होला, त्यहिँबाट चुनाव जितौंला भनेर बस्नु हुँदैन,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनको शक्तिलाई बलियो पार्ने हो। आफ्नै जनतासँगको सम्बन्धलाई बलियो पार्ने हो।’ उनले आगामी चुनावमा माओवादी केन्द्र सबैभन्दा ठूलो पार्टी हुने सम्भावना रहेको बताए। त्यसका लागि पार्टी पंक्ति चलायमान भइरहेको उनको दाबी थियो।

प्रचण्डले माओवादीको जनमत बढ्दै गएको बताए। जता गयो त्यतै माओवादीको उभार देखिरहेको भन्दै उनले भने, ‘जनताले पनि माओवादीलाई फेरी एकपटक जिताउनु पर्छ भन्ने महसुस गरेका छन् । किनकी संघीय लोकतान्त्रिक गणतन्त्र, संघीयता, संविधान, धर्मनिरपेक्षता, समावेशीता लगायत माओवादीले नै लडेर ल्याएको हो। अब यसको रक्षा र कार्यान्वयनपनि माओवादीले नै गर्छ भन्ने जनतामा विश्वास छ।’

प्रकाशित: ६ चैत्र २०७८ ०६:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App