८ वैशाख २०८१ शनिबार
राजनीति

काँग्रेस जिताऔं अभियान, नेताहरु घरघरमा

अघिल्लो निर्वाचन पछि गाउँघरमा नदेखिएका काँग्रेसका नेताहरु यत्तिखेर जनताको घर आँगनमा देखिएका छन्। 

यहि फागुन १५ गते संसदबाट बहुमतले अनुमोदन भएको बहुचर्चित विकास अनुदान परियोजनाको रुपमा रहेको एमसीसी प्रति कम्युनिष्टहरुले फैलाएको नकरात्मक भ्रम चिर्न र आउँदै गरेको स्थानीय तहको निर्वाचनमा जनताको मन जित्न घरघरमा जाऔं नेपाली काँग्रेसलाई जितऔं भन्ने अभियानका साथ यत्तिखेर काँग्रेसका नेताहरु डोल्पाका गाउँघरमा पुगेका हुन्।

डोल्पामा पुगेका पूर्वभूमिसुधार मन्त्री तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा.गोपाल दहितले नेपालका कम्युनिष्ट पार्टीहरुले एमसीसी परियोजनामा दोहोरो चरित्र देखाएको बताए। दोहोरो चरित्र र अस्थिर भएकै कारण कम्युनिष्टहरु विश्वका कुनै पनि देशमा सफल हुन नसकेको उल्लेख गर्दै नेपालमा पनि अप्राकृतिक गठबन्धनबाट विजय हाँसिल गरेको केपी ओली नेतृत्वको दुई तिहाईको सरकार असफल भएको पनि केन्द्रीय सदस्य दहितले बताए।

देशमा जब विषम परिस्थती आउँछ जब राष्ट्रिय मुद्दाहरुको समाधान गर्न नसक्ने परिस्थती कम्युनिष्टमा निर्माण हुन्छ त्यो अवस्थामा देशको नेतृत्व नेपाली काँग्रेसले गर्ने गरेको पनि केन्द्रीय सदस्य दहितले दाबी गरे।

नेपालको भूगोललाई नै नदेखेर प्रत्येक नेपालीको घरघरमा ग्यासको पाइप लाईन , पानी जहाज  रेल पुर्याउने कोरा र भ्रमपुर्ण उखाने नारा दिएर सिन्काे भाँची दुई काम नगर्ने कम्युनिष्टले कहिल्यै पनि गरिब दिनदुखी र बेसहाराको हितमा काम नगर्ने ठोकुवा समेत डा.दहितले गरे। जुन देशमा गरिवी अशिक्षा वेरोजगार र अबिकसित हुन्छ त्यो देशमा मात्र कम्युनिष्ट सरकार हुने भएकाले उनीहरुले कहिल्यै पनि जनताको पक्षमा नलाग्ने ठोकुवा गरे।

यसै गरि नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले कम्युनिष्टले गरेका नराम्रा कामको भण्डाफोर र काँग्रेसले गरेका राम्रा कामहरुको प्रचारप्रसार गरेर जनताको घरआगनमा जान कार्यकर्तालाई आग्रह गरे। यसैगरी देश र डोल्पा जिल्लाको माग अनुसार अवको तिनै तहको निर्वाचनमा डोल्पामा कम्युनिष्टको लालकिल्लालाई तोडेर नेपाली काँग्रेसलाई पहिलो पाटी बनाउन जनताले सहयोग गर्ने ठोकुवा पनि केन्द्रीय सदस्य दहितले गरे। 

विशेष अतिथी तथा जिल्ला पार्टी सभापति दिपेन्द्र बहादुर शाहीले डोल्पामा आगामी निर्वाचनमा पहिलो पार्टी बनाउन आफूले कुनै कसुर वाँकी नराख्ने बताए। पार्टीको विजयीताको लागि सबै कार्यकर्ताहरुलाई एक ढिक्का बनाएर अगाडि बढ्नु आफ्नो मुल उदेश्य  रहेको र आउँदो स्थानीय तहको निर्वाचनमा वडा नगर र प्रदेश हुँदै संघीय निर्वाचनमा वडास्तरका कार्यकर्ताको भावना धारणलाई मध्यनजर राखेर जित्न सक्ने कार्यकर्तालाई उम्मेदवार बनाइने समेत पार्टी सभापति शाहीले प्रतिबद्दता व्यक्त गरे।

नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरेर १५ जना काँग्रेसमा प्रवेश गरेका छन। केन्द्रिय सदस्य डा.दहितले नवप्रवेशीलाई अविर टिका र साधारण सदस्यता दिएर स्वागतका साथ सम्मान गरेका थिए।यसैगरि वडासभापति पालिका सभापति र प्रदेश सदस्यलाई समेत अभियानमा कमाण्डरको रुपमा खटाउनुका साथै कम्युनिष्टले गरेका नराम्रा कामको भण्डाफोर गर्न र जनताको मन जित्न अभियानलाई प्रभावकारी रुपमा संचालन गरिने जिल्ला पार्टी उपसभापति पूर्णबहादुर शाहीले बताए।

प्रकाशित: २ चैत्र २०७८ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App