घर सहरकै महँगो ठाउँमा थियो। अग्लो पर्खाल, स्वचालित ढोका, सुन्दर बगैंचा, चम्किलो भुइँ, महँगा चित्र र विदेशी फर्निचरले सजिएको विशाल बैठक। घरको मूल ढोकामा प्रवेश गरेपछि मानिसलाई लाग्थ्यो, यहाँ जीवनमा चाहिने कुनै कुराको अभाव छैन।
घरधनी अरुण श्रेष्ठ सफल व्यवसायी थिए। सहरका प्रतिष्ठित व्यक्तिमध्ये उनको नाम अग्रपंक्तिमा आउँथ्यो। महँगा गाडी, देशविदेशमा लगानी, ठुला होटलमा हुने बैठक र प्रभावशाली मानिससँगको उठबस उनको जीवनका सामान्य पक्ष थिए। सामाजिक कार्यक्रममा उनको उपस्थिति महत्त्वपूर्ण मानिन्थ्यो। अखबारमा उनको तस्बिर छापिन्थ्यो। मानिसहरू उनीसँग सम्बन्ध बनाउन चाहन्थे। उनकी श्रीमती मृणालिनी पनि सामाजिक वृत्तमा उत्तिकै परिचित थिइन्। परोपकारी कार्यक्रममा सहयोग गर्ने, महिला सशक्तीकरणका कार्यक्रममा सहभागी हुने र प्रतिष्ठित समारोहमा उपस्थित हुने उनको नियमित दिनचर्या थियो। उनका गहनाको चमक, पहिरनको आकर्षण र मुस्कानको चर्चा हुन्थ्यो।
छोरा विदेशमा पढ्थ्यो। छोरी पनि उच्च शिक्षाका लागि अर्को देशमा थिई। बाहिरबाट हेर्दा श्रेष्ठ परिवार सम्पन्नताको आदर्श थियो तर त्यो घरमा एउटा यस्तो अभाव थियो, जसको कुनै मूल्यसूची थिएन, जसलाई कुनै बैंक खाताले पूरा गर्न सक्दैनथ्यो र जसको समाधानका लागि संसारको सबैभन्दा महँगो वस्तु पनि पर्याप्त थिएन। त्यो अभाव थियो– एकअर्काको साथ। एकै घरमा चारवटा संसार बिहान घरमा सबैभन्दा पहिले भान्साकोठा जाग्थ्यो। भान्सामा काम गर्ने कर्मचारीले चिया तयार पार्थे। मालीले बगैंचामा पानी हाल्थे। घर सफा गर्ने कर्मचारीहरू आफ्नो काममा लाग्थे। चालक गाडी तयार पारेर बस्थ्यो। मृणालिनीको चिया शयनकक्षमै पुग्थ्यो। अरुणको बिहान फोन र व्यावसायिक सन्देशबाट सुरु हुन्थ्यो। दुवैको समयतालिका व्यवस्थित थियो तर उनीहरूबिचको संवाद दिन प्रतिदिन अव्यवस्थित हुँदै गएको थियो। कहिलेकाहीं बिहानको खाजाको टेबलमा दुवैको भेट हुन्थ्यो।
‘आज बेलुका कति बजे फर्किनुहुन्छ?’ मृणालिनी सोध्थिन्। ‘पक्का भन्न सक्दिनँ, बैठक छ।’
‘आज हाम्रो विवाहको वार्षिकोत्सव हो।’ अरुणले घडी हेर्थे। ‘अँ, हो नि। साँझ केही व्यवस्था गरौंला।’ त्यसपछि फोन बज्थ्यो। उनी कुरा गर्दै बाहिर निस्कन्थे।
मृणालिनी टेबलमा राखिएको चिसिँदै गरेको चियालाई हेरेर बस्थिन्। उनलाई ठुलो उपहार चाहिएको थिएन। महँगो रेस्टुरेन्टमा भोज पनि चाहिएको थिएन। उनी चाहन्थिन्– श्रीमान्ले एकपटक उनको आँखामा हेरेर सोधून्, ‘तिमी साँच्चै कस्ती छौ?’ तर त्यो प्रश्न उनीहरूको घरमा अनावश्यक भइसकेको थियो। उनीहरूको सम्बन्धमा झगडा थिएन। आरोप–प्रत्यारोप थिएन। घरमा चर्को आवाज सुनिँदैनथ्यो। उनीहरू एकअर्कालाई अपमान पनि गर्दैनथे। समस्या यही थियो– उनीहरूबिच भन्नुपर्ने सबै कुरा क्रमशः हराउँदै गएका थिए। कहिलेकाहीं सम्बन्ध झगडाले भत्किँदैन। संवाद हराउँदै जाँदा भित्रभित्रै खाली हुँदै जान्छ। त्यो घरमा सबै कुरा आफ्नो ठाउँमा थियो, केवल मानिसहरू एकअर्काको जीवनमा आफ्नो ठाउँ खोज्न छाडिसकेका थिए।
हरेक वर्ष श्रेष्ठ परिवारले आफ्नो विवाहको वार्षिकोत्सव भव्य रूपमा मनाउँथ्यो। सहरका प्रतिष्ठित पाहुना आउँथे। फूलले घर सजाइन्थ्यो। महँगो भोजनको व्यवस्था हुन्थ्यो। फोटोग्राफरले उनीहरूका मुस्कान कैद गथ्र्यो। तस्बिरमा अरुण मृणालिनीको काँधमा हात राखेर उभिएका हुन्थे। मृणालिनी श्रीमान्तिर फर्केर मुस्कुराइरहेकी हुन्थिन्। सामाजिक सञ्जालमा तस्बिर राखेपछि प्रशंसाका शब्दहरू ओइरिन्थे– ‘आदर्श जोडी !’, ‘सफलता र प्रेमको सुन्दर उदाहरण !’, ‘सधैं यस्तै खुसी रहनुहोस !’
मृणालिनी ती टिप्पणीहरू पढ्थिन्। कहिलेकाहीं उनलाई आफूले अभिनय गरिरहेजस्तो लाग्थ्यो। कहिलेकाहीं आफूलाई नै प्रश्न गर्थिन्– के बाहिरबाट खुसी देखिनु र वास्तवमै खुसी हुनु एउटै कुरा हो ? एक साँझ उनले पुराना तस्बिर पल्टाइन्। एउटा तस्बिरमा उनीहरू सानो भाडाको कोठामा थिए। अरुणको व्यापार भर्खर सुरु भएको थियो। घरमा महँगो फर्निचर थिएन। वर्षाको पानी चुहिने छानो थियो। भविष्य अनिश्चित थियो तर त्यतिबेला उनीहरू राति अबेरसम्म कुरा गर्थे। असफलताका डर बाँड्थे। सानो सफलतामा खुसी हुन्थे। एक कप चिया बाँडेर पिउँदा पनि उनीहरूलाई संसार आफ्नैजस्तो लाग्थ्यो। ‘हामी गरिब हुँदा यति नजिक थियौं,’ उनले आफैंसँग भनिन्, ‘धनी भएपछि किन यति टाढा भयौं ?’ उत्तर सजिलो थिएन।
सम्पत्तिले उनीहरूलाई सुविधा दिएको थियो तर सफलताको दौडमा उनीहरूले एकअर्कालाई समय दिनुपर्ने कुरा बिर्सेका थिए। उनीहरूले छोराछोरीका लागि उत्कृष्ट विद्यालय रोजे तर उनीहरूसँग बसेर मनका कुरा सुन्ने समय घटाउँदै लगे। उनीहरूले घरका हरेक कोठा सुन्दर बनाए तर घरभित्रको आत्मीयता कसरी जोगाउने भन्नेबारे कहिल्यै छलफल गरेनन्। उनीहरूले भविष्य सुरक्षित गर्न यति धेरै मेहनत गरे कि वर्तमानमा सँगै बाँच्न नै बिर्सिए।
एक रात अरुण आफ्नो अध्ययनकक्षमा आर्थिक प्रतिवेदन हेरिरहेका थिए। मृणालिनी बैठकमा बसेर छोराको फोनको प्रतीक्षा गरिरहेकी थिइन्। छोरा धेरै दिनदेखि सम्पर्कमा थिएन। राति करिब दश बजे फोन आयो।
‘बाबु, कस्तो छौ?’ उनले हतारिँदै सोधिन्।
‘ठिक छु ममी। तपाईंलाई कस्तो छ?’
‘म पनि ठिक छु। पढाइ कस्तो भइरहेको छ? खाना समयमा खान्छौ ? थाकेका त छैनौ?’
छोराले सामान्य जवाफ दियो। त्यसपछि केही क्षण मौनता छायो। ‘ममी, एउटा कुरा सोधूँ ?’
‘सोध न बाबु।’
‘तपाईंहरू घरमा सँगै बस्नुहुन्छ नि, हैन ?’ मृणालिनी एकछिन रोकिइन् र सोधिन्– ‘किन यस्तो सोधेको ?’
‘त्यत्तिकै। कहिलेकाहीं लाग्छ, हाम्रो घरमा सबै कुरा छ तर हामी कोही पनि कसैसँग मन खोलेर कुरा गर्दैनौं। तपाईंलाई फोन गर्दा पनि म आफ्नो कुरा भन्नुभन्दा तपाईंलाई चिन्ता नहोस् भनेर कुरा लुकाउँछु। बाबालाई फोन गर्दा उहाँ व्यस्त हुनुहुन्छ।’
मृणालिनीको हात चिसो भयो। छोराले फेरि भन्यो, ‘ममी, मलाई घरको याद आउँछ तर घर सम्झिँदा तपाईंको काख, बाबासँगको कुराकानीभन्दा पनि हाम्रो ठुलो बैठक, खाली भोजन टेबल र सबै जना आआफ्नै कोठामा बसेको दृश्य सम्झिन्छु।’
मृणालिनीले केही बोल्न सकिनन्। ‘मलाई यहाँ कुनै कुराको अभाव छैन तर कहिलेकाहीं कसैले केही नभनी मेरो छेउमा बसिदिए हुन्थ्योजस्तो लाग्छ।’
फोन राखेपछि उनी धेरै बेरसम्म त्यहाँ बसिरहिन्। उनले पहिलोपटक बुझिन्–एक्लोपन सधैं एक्लै हुँदा मात्र आउँदैन। कहिलेकाहीं आफूलाई माया गर्ने मानिसहरू नजिकै हुँदा पनि मनको ढोका बन्द रहँदा आउँछ र त्यो एक्लोपनले केवल श्रीमान्–श्रीमतीलाई होइन, छोराछोरीलाई पनि छोइरहेको हुन्छ।
केही दिनपछि अरुणकी आमाको जन्मदिन थियो। आमा गाउँबाट सहर आएकी थिइन्। उमेरले कमजोर बनाएको शरीर, आँखामा बाक्लो चस्मा र अनुहारमा छोराप्रतिको अथाह माया थियो। छोराले दिएको ठुलो घरमा उनी खुसी थिइन् तर त्यो घरमा उनलाई आफ्नै छोरासँग एकान्तमा बसेर कुरा गर्ने अवसर विरलै मिल्थ्यो। एक साँझ अरुण बैठकमा आए। आमा झ्यालतिर फर्केर बसिरहेकी थिइन्। ‘आमा, के भयो? एक्लै बसिरहनुभएको?’ आमाले मुस्कुराउँदै भनिन्, ‘केही भएको छैन बाबु।’
अरुणले सोधे, ‘तपाईंलाई केही चाहिएको छ ?’ आमाले भनिन्, ‘छैन, यहाँ सबै कुरा छ।’ अरुणले सन्तुष्ट हुँदै टाउको हल्लाए। उनलाई लाग्यो, आमाको हेरचाहमा कुनै कमी छैन। औषधि समयमै आउँथ्यो, राम्रो खाना पाइन्थ्यो, आरामदायी कोठा थियो।
आमा फेरि बोलिन्, ‘एउटा कुरा चाहिँ छ, बाबु।’ अरुणले सोधे– ‘के ?’ आमाले भनिन्, ‘तँ सानो हुँदा साँझ घर फर्केर मलाई दिनभरिका कुरा सुनाउँथिस्। आजभोलि तँ घर फर्किन्छस् तर कुरा गर्न तँसँग समय हुँदैन। म बिरामी हुँदा डाक्टर बोलाइदिन्छस्, औषधि किनिदिन्छस् तर कहिलेकाहीं औषधिभन्दा तैले मलाई दिने पाँच मिनेट मूल्यवान् हुन्छ।’ अरुणले आमाको अनुहार हेरे।
आमाले बिस्तारै भनिन्, ‘तँले मलाई सुख दिएको छस्। यसमा कुनै शंका छैन तर सुख र साथ एउटै कुरा होइन रहेछन् बाबु।’
अरुणको घाँटीमा केही अड्किएझैं भयो। त्यही बेला उनको फोन बज्यो। व्यावसायिक बैठकको फोन थियो। उनले मोबाइल हेरे, फेरि आमाको अनुहार हेरे। पहिलोपटक उनले फोन उठाएनन्। आमाको छेउमा बसे। त्यो पाँच मिनेट लामो कुराकानी थिएन। आमाले गाउँको पुरानो घर सम्झिइन्, छिमेकीहरूको कुरा गरिन्, अरुण सानो हुँदा गरेका संघर्ष सुनाइन्। अरुण सुन्दै बसे। कुरा सकिएपछि आमाले भनिन्, ‘आज त मेरो छोरा घर आएकोजस्तो लाग्यो।’
त्यो वाक्यले अरुणलाई भित्रसम्म हल्लायो। उनी वर्षौंदेखि आफ्नो परिवारका लागि घर बनाइरहेका थिए तर आफ्नै घरमा आफूलाई पर्खिरहेको एउटा खाली कुर्सीको अर्थ बिर्सिएका रहेछन्। सम्पत्तिले नकिन्ने कुरा त्यस रात अरुणले आफ्नो जीवनबारे सोच्न थाले। उनले सफलताका लागि गरेको मेहनत सम्झिए। रातभरि काम गरेका दिन, असफलताबाट उठेका क्षण, व्यापार विस्तार गर्न गरेका निर्णय सबै सम्झिए। आफूले परिवारका लागि दुःख गरेकोमा उनलाई कुनै पछुतो थिएन तर एउटा प्रश्नले उनलाई छाडेन– परिवारका लागि कमाएको सम्पत्तिको आनन्द परिवारले सँगै बसेर लिन पाएन भने त्यो सफलताको अर्थ के रहन्छ ? उनले मृणालिनीलाई अध्ययनकक्षमा बोलाए। ‘हामी केही कुरा गर्न सक्छौं ?’
मृणालिनीले उनलाई हेरिन्। यति वर्षमा उनले श्रीमान्को मुखबाट यस्तो प्रश्न कमै सुनेकी थिइन्। अरुणले भने, ‘मलाई लाग्छ, हामीले परिवारका लागि धेरै कुरा गर्यौं तर परिवारसँग बस्न बिर्सियौं।’ मृणालिनी चुप रहिन्। ‘मैले तिमीलाई सुविधा दिएँ तर तिमीलाई समय दिन सकेँ कि सकिनँ, थाहा छैन। छोराछोरीलाई राम्रो भविष्य दिन खोज्यौं तर उनीहरूलाई वर्तमानमा हामीसँग कस्तो अनुभव भयो, कहिल्यै सोधेनौं।’
मृणालिनीको आँखामा आँसु भरिए। ‘मलाई तिमीले सबै कुरा दिनुपर्छ भन्ने थिएन, अरुण,’ उनले भनिन्, ‘मलाई कहिलेकाहीं तिमीसँग आफ्नो दिन बाँड्न मन लाग्थ्यो। कुनै निर्णय गर्नुअघि तिमीले मेरो कुरा सुनिदिए हुन्थ्यो जस्तो लाग्थ्यो। हामी एउटै घरमा बस्ने दुई जिम्मेवार व्यक्ति मात्र होइनौं, जीवन बाँड्ने साथी पनि हौं भन्ने अनुभूति चाहिएको थियो।’
अरुणले टाउको झुकाए। ‘मलाई माफ गर,’ मृणालिनीले तुरुन्तै उनलाई अँगालो हालिनन्। उनले वर्षौंको खालीपनलाई एउटा वाक्यले पूरा गर्न सक्दिनथिन् तर उनले पहिलोपटक श्रीमान्को आँखामा आफूले खोजिरहेको कुरा देखेकी थिइन्– आफ्नो गल्ती बुझ्ने प्रयास।
‘हामी फेरि सुरु गर्न सक्छौं,’ उनले बिस्तारै भनिन्, ‘तर यसपटक घर सजाउनुभन्दा पहिले सम्बन्ध सम्हाल्न सिक्नुपर्छ।’
अर्को आइतबार श्रेष्ठ परिवारले घरमा एउटा नयाँ नियम बनायो– रातिको खाना सकेसम्म सबैले एउटै समयमा खाने, भोजन टेबलमा मोबाइल नराख्ने, हप्तामा कम्तीमा एकपटक परिवारका सदस्यले आफ्नो मनको कुरा खुलस्त भन्ने। सुरुका दिन असहज थिए। धेरै समयदेखि हराएको संवादलाई एकैपटक फर्काउन सकिँदैनथ्यो। कहिलेकाहीं सबै चुप लागेर बस्थे। कहिलेकाहीं सामान्य प्रश्नबाट पुराना गुनासा बाहिर आउँथे।
यस पटक उनीहरूले असहजताबाट भाग्ने निर्णय गरेनन्। छोरीले विदेशबाट भिडियो कल गरिन्। छोराले आफ्नो एक्लोपनबारे थप कुरा गयो। मृणालिनीले आफूलाई कहिलेकाहीं घरभित्रै अदृश्य महसुस हुने गरेको बताइन्। अरुणले कामलाई प्राथमिकता दिँदादिँदै परिवारसँगको सम्बन्ध कसरी कमजोर भयो भन्ने स्वीकार गरे। त्यो संवादले सबै समस्या तत्काल समाधान गरेन तर घरमा एउटा नयाँ कुरा जन्मियो– एकअर्कालाई सुन्ने इच्छा। केही महिनापछि उनीहरूको घरमा फेरि एउटा ठुलो समारोह आयोजना भयो। पाहुनाहरू आए। घरको प्रशंसा गरे। महँगो सजावट र खानाको चर्चा गरे। एक पाहुनाले मृणालिनीलाई भनिन्, ‘तपाईंहरू त साँच्चै भाग्यमानी हुनुहुन्छ। यस्तो घर, यस्तो परिवार, यस्तो जीवन !’ मृणालिनी मुस्कुराइन्। ‘हो, हामीसँग धेरै कुरा छन् तर हामीले एउटा कुरा ढिलो गरेर सिक्यौं– घर ठुलो बनाएर मात्र परिवार ठुलो हुँदैन। परिवार ठुलो हुन मनमा एकअर्काका लागि ठाउँ चाहिन्छ।’
त्यो साँझ पाहुनाहरू गएपछि अरुण र मृणालिनी बगैंचामा सँगै बसे। कुनै औपचारिक कार्यक्रम थिएन। कुनै क्यामेरा थिएन। कुनै प्रशंसाको प्रतीक्षा थिएन। अरुणले सोधे, ‘आज तिमीलाई कस्तो लागिरहेको छ ?’ मृणालिनीले आकाशतिर हेर्दै भनिन्, ‘आज घर अलि भरिँदै गएको महसुस भइरहेको छ।’
अरुणले उनको हात समाते। उनीहरू दुवैलाई थाहा थियो– जीवनमा फेरि व्यस्तता आउनेछ, पुराना बानी फर्किने खतरा पनि रहनेछ। सम्बन्धलाई जीवित राख्न कुनै एक दिनको प्रयास पर्याप्त हुँदैन। त्यसका लागि निरन्तर समय, संवाद र संवेदनशीलता चाहिन्छ। आज उनीहरू कम्तीमा एउटै दिशातिर हेरिरहेका थिए। त्यो घरमा अझै महँगा फर्निचर थिए, विदेशी चित्रहरू थिए, चम्किलो भुइँ र विशाल कोठा थिए। बाहिरबाट हेर्दा केही परिवर्तन भएको थिएन। परिवर्तन भएको थियो त केवल उनीहरूले एकअर्कालाई हेर्ने दृष्टिमा।
सम्पन्नता आफैंमा समस्या होइन। समस्या तब सुरु हुन्छ, जब सम्पत्ति कमाउने क्रममा मानिसले सम्बन्धलाई समय दिन छाड्छ, सुविधा दिनुलाई माया दिनुसरह ठान्छ र घरको मूल्य त्यसको आकार, सजावट तथा प्रतिष्ठाबाट मापन गर्न थाल्छ। हाम्रो समाजमा गरिबीले मानिसलाई धेरै पीडा दिन्छ तर आर्थिक सम्पन्नताले सबै भावनात्मक आवश्यकता पूरा गर्छ भन्ने भ्रम पनि उत्तिकै खतरनाक छ। आर्थिक सुरक्षा आवश्यक छ तर आत्मीयता, संवाद, सम्मान र साथको विकल्प पैसा होइन। घरमा कति कोठा छन् भन्नेभन्दा त्यहाँ आफ्नो मन खोल्न सक्ने कति मानिस छन् भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। कहिलेकाहीं संसारकै सबैभन्दा ठुलो एक्लोपन त्यही घरमा हुन्छ, जहाँ कुनै भौतिक कुराको अभाव हुँदैन तर कसैलाई कसैको मन बुझ्ने फुर्सद हुँदैन।
प्रकाशित: २८ कार्तिक २०८३ ०६:१५ शनिबार



-600x400.jpg)

