१६ चैत्र २०८० शुक्रबार
राजनीति

निर्वाचन तयारीमा जुटे दलः मतदाता तान्न आरोप–प्रत्यारोप

प्रमुख राजनीतिक दलले वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका साथै त्यसपछि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचन परिणाम आफ्नो पक्षमा पार्न सक्रियता बढाएका छन्। अन्य पार्टीका नेता तथा कार्यकर्ता तान्न मात्र होइन, अर्को पार्टीलाई खराब प्रमाणित गरेर आफूलाई अब्बल साबित गर्न शीर्ष नेताहरू नै अग्रसर भएका छन्।

जनताको मन जित्न निर्वाचन लक्षित नयाँ अजेन्डा, कार्यक्रम लिएर जनतामाझ जानु स्वाभाविक भए पनि दलका शीर्ष नेताहरूले एकअर्कालाई होच्याउँदै नयाँनयाँ कार्ड फाल्न थालेका छन्। आफ्नो प्रभाव देखाउन अन्य दलका नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गराउने होड सुरु भएको छ। त्यही क्रममा एक दर्जन स्थानीय तहका प्रमुख र उपप्रमुखले नै निर्वाचन मिति घोषणापछि दल अदलबदल गरेका छन्। यो क्रमले तीन तहको निर्वाचन नसकिँदासम्म निरन्तरता पाउनेछ।

सरकारको नेतृत्व गरेको नेपाली कांग्रेसले आइतबारदेखि एकमहिने अभियान लिएर जिल्ला हुँदै टोलसम्म पुग्ने लक्ष्य बनाएको छ। सत्ता गठबन्धनमा रहेका राजनीतिक दलप्रति कांग्रेसले केही नरम रणनीति बनाएको छ। तर प्रमुख प्रतिपक्षी एमालेप्रति कांग्रेस आक्रामक बन्ने देखिएको छ। २०७४ को आमनिर्वाचनपछि गठन भएको केपी ओली नेतृत्व सरकारको गलत कामको सूचना गाउँ तहसम्म पुर्‍याउने रणनीति उसले अख्तियार गरेको छ।

एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेकपा नेतृत्व सरकारको समयमा व्यापक आर्थिक अनियमितता भएको आरोप कांग्रेसले लगाउँदै आएको छ। कांग्रेसले एमसिसी र त्यसलाई संसद्बाट पारित गर्ने विषयमा सत्ता गठबन्धनकै दलहरूले सुरुमा राखेको असहमतिका साथै त्यसका विषयमा उठेका प्रश्नलाई चिर्ने जनाएको छ। गठबन्धनमै रहेका दलहरूले एमसिसीका विषयमा आमजनतामा भ्रम सिर्जना गरेको कांग्रेसको निचोड छ।

आन्तरिक विवादका कारण केही समयअघि विभाजन भोगेको तथा संघदेखि प्रदेशसम्मका सरकारबाट बाहिरिएको एमालेले संगठन विस्तारलाई तीव्र बनाएको छ। प्रदेश तहका प्रशिक्षण कार्यक्रम सकेर जिल्ला छिरेको एमालेले गत निर्वाचनमा आफूलाई अन्य प्रदेशको तुलनामा सबैभन्दा कमजोर पाएको मधेस प्रदेशलाई केन्द्रमा राखेको छ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीका साथै राष्ट्रिय प्रजातन्त्र पार्टीसँग आगामी निर्वाचनमा मिलेर अघि बढ्ने रणनीति बनाएको एमाले माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीविरुद्ध आक्रामक देखिएको छ। नेकपा एकीकृत समाजवादीमा रहेका नेता तथा कार्यकर्तालाई एमालेमै फर्काउने उसको रणनीति छ।

प्रतिनिधिसभा विघटन गर्ने आफ्नो निर्णय बदर गर्दै सर्वोच्च अदालतले शेरबहादुर देउवा नेतृत्वमा सरकार गठन गर्न आदेश दिएपछि एमाले अध्यक्ष केपी ओली रुष्ट छन्। सोही आदेश अनुसार गठन भएको देउवा नेतृत्वको सरकारलाई परमादेशको सरकार भन्दै उनले रोष प्रकट गर्दै आएका छन्। अहिलेको सरकारलाई जराबिनाको मुलाको संज्ञा दिंदै ओलीले शनिबार आयोजित कर्मचारी संगठनको कार्यक्रममा उन्मत्त चिम्पान्जीहरू कुस्ती खेल्न छाती पिटेजस्तै अहिलेका मन्त्रीहरूले कुस्ती खेल्न जोडी खोजेझैं गरिरहेको बताए। 

माओवादी र माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीलाई ऐंजेरुको संज्ञा दिंदै ओलीले आगामी निर्वाचनबाट उनीहरूको जरो उखेलिने दाबी गरे।

पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाललाई दशा लागेको बताउँदै नेपाल प्रेस चौतारीको कार्यक्रममा ओलीले भने, ‘प्रचण्डलाई दशा लाग्यो। माधव नेपाललाई पनि दशा लाग्यो। त्यही भएर हुँदाखाँदाको एकताबद्ध पार्टी छाडेर दल विभाजन गरे। त्यसबेला जंगे थिए, अहिले बुंगे भए ।’ दाहाल र नेपालले अहिले कांग्रेसको आश गरेर बस्नुपरेको भन्दै उनले थपे, ‘अहिले ढोकाबाहिर चिहाएर बस्छन्, कतै ढोकाबाहिर प्रसाद ल्याउँछन् कि भनेर।’ रानीपोखरी, धरहरा पुनर्निर्माण, संसद्बाट नयाँ नक्सापास गरेको विषयलाई लिएर चुनावी प्रचारमा जाने संकेत ओलीले गरे।

स्थानीय तह निर्वाचन केन्द्रित हुँदै माओवादी केन्द्र पनि जिल्ला तहका कार्यक्रममा जुटेको छ। प्रदेशस्तरीय कार्यक्रममा सहभागी हुन माओवादी केन्द्रका अध्यक्ष दाहाल पछिल्ला दुई दिनदेखि पूर्व र सुदूरपश्चिमका कार्यक्रममा सक्रिय छन्। सोही क्रममा आइतबार विराटनगर पुगेका दाहालले एमालेसँग अहिले सहकार्यको सम्भावना नरहेको स्पष्ट पारे। आफूहरू राष्ट्रिय स्वाधीनताको जटिल र संवेदनशील विषयमा सहमति हुन्छ कि भनेर केपी ओलीलाई भेट्न जाँदा असाध्यै नकारात्मक रूपमा प्रस्तुत भएको भन्दै उनले थपे, ‘नकारात्मक, निषेधात्मक र अहंकारबाहेक केही छैन।

त्यसैले अहिले एमालेको केपी गुटसँग तत्काल कुनै सहमति वा सहकार्य हुने सम्भावना छैन ।’ एमालेप्रति आक्रामक दाहालले अहिले पनि संसद् चल्न नदिएर आफैंले गरेको विघटन जायज थियो भन्ने देखाउन खोजेको बताए। ओलीलाई परिवर्तनविरोधीको संज्ञा दिंदै उनले भने, ‘आगामी चुनाव परिवर्तनलाई संस्थागत गर्ने र उल्ट्याउन खोज्नेहरूबीचको लडाइँ हो। गठबन्धनका पार्टीबीच तालमेल होस् भन्ने हाम्रो जोड हुन्छ।’

माओवादी छाडेर धेरै नेता कार्यकर्ता एमालेमा प्रवेश गरिरहेका बेला दाहालले उनीहरू पहिले नै खुट्टा उचालेर बसेकाले पार्टीलाई केही फरक नपर्ने दाबी गरे। माओवादी छाडेर एमाले प्रवेश गरेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्टराईसहितका नेता दाहाललाई अभावको अनुभूति गराउन र नयाँ पार्टीमा आफूलाई स्थापित गर्न माओवादीका नेता तथा कार्यकर्ता तान्न लागि परेका छन्। त्यसले पार्टीबाट नेपालसहितका नेताहरू अलग हुँदा पनि निर्वाचनमा खास फरक नपर्ने एमालेको विश्लेषण छ।

तर एमालेबाट अलग भएर नेकपा एकीकृत समाजवादी गठन गरेका नपालसहितका नेता भने तीनै तहको निर्वाचनसम्म अहिलेको गठबन्धन कायमै राखेर एमालेलाई देखाइदिने पक्षमा छन्। त्यही कुराको संकेत गर्दै शनिबार धादिङमा आयोजित एक कार्यक्रमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘अहिले नेपाली कांग्रेस, माओवादी र जसपाले हामीसँग भनिरहेका छन्, राजमोले पनि भनिरहेको छ, हामी मिलेर जाऔं। हामी मिलेर गयौं भने सबै ठाउँ जित्नेछौं, केपी ओलीको पार्टी धुलोपिठो हुनेछ। त्यो पार्टीको भविष्य खत्तम छ।’

त्यसका लागि एमालेकै नेता तथा कार्यकर्तालाई आफ्नो पक्षमा पार्न नेकपा एकीकृत समाजवादी सक्रिय छ। शनिबार भक्तपुरमा पार्टी प्रवेश कार्यक्रममा नेता सो दलका नेता झलनाथ खनालले एमाले अध्यक्ष ओलीजस्ता धेरै नक्कली कम्युनिस्ट नेता र पार्टी देशमा रहेको बताए। ‘ओलीजस्ता कम्युनिस्टको खोल ओढेर बसेकालाई जनताले अब चिन्नुपर्छ’, नेता खनालले भने, ‘यस्ता नेता र पार्टीलाई वैशाख ३० गते हुने निर्वाचनमा सजाय दिनुपर्छ।’

नवगठित दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पनि चुनाव लक्षित अभिव्यक्ति दिन थालेका छन्। उनले कांग्रेस र कम्युनिस्ट पार्टीले आलोपालो शासन गरेर ब्रह्मलुट मच्चाएको आरोप लगाएका छन्। उनले कांग्रेस र कम्युनिस्टको विकल्प खोज्नुपर्ने बताए। उनले भने, ‘कांग्रेस र कम्युनिस्टलाई भोट दिएर यो देश गरिबीबाट मुक्त हुन सक्छ? त्यसैले विकल्प खोज्नुपर्ने बेला आएको छ।’

प्रकाशित: १ चैत्र २०७८ ०१:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App