८ वैशाख २०८१ शनिबार
राजनीति

मतदाता रिझाउन दलहरु गाउँमा

स्थानीयतहको निर्वाचन नजिकिदै गर्दा जुम्लाका राजनीतिक दलहरु गाउँमा प्रवेश गर्न थालेका छन्। अघिल्लो स्थानीयतहको निर्वाचनदेखि गाउँ नगएका दलहरु निर्वाचन नजिकिदै गर्दा गाउँ-गाउँमा जान थालेका छन्।

जुम्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका अन्य साना दलले पनि गाउँमा गएर मतदाता रिझाउन सुरु गरेका छन्। अहिले हरेक स्थानीयतहमा कार्यकर्ता प्रशिक्षणमा जुटेका दलहरु बिहान बेलुकीको समयमा मतदाताको घरदैलोमा पुगेर प्रचार-प्रसार गर्न थालेका हुन्।  

निर्वाचनताका मात्र गाउँजाने दलहरुलाई स्थानीयले आक्रोश पोखीरहेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष बीरबहादुर कुँवरले निर्वाचनका कार्यक्रम अघि बढिसकेको बताए। उनका अनुसार चैत ५ गतेदेखि औपचारिक निर्वाचन प्रचारप्रसारका काम अघि बढाउन थालिएको छ। उनले भने,‘गाउँमा कार्यकर्ता तथा जन भेटघाटलाई तीव्र पारीएको छ। हरेक मतदाताको दैलोमा पुग्ने पार्टीको रणनीति छ।’

माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसालेर एक चरण गाउँसम्म पुगिसकेको जनाएको छ। पहिलो चरणमा आम मतदाताको अवस्था बुझ्ने काम भएको छ। एमसिसीबारे माओवादी केन्द्रको धारणा समेत तल्लो कमिटीसम्म पुर्‍याउने काम गरिरहेको छ। एमसिसी एमाले कांग्रेसले जस्ताको तस्तै सदनबाट पारीत गराउने चाहेका थिए।

उनले भने,‘१२ वटा व्याख्यात्मक टिप्पणी सहित माओवादी अघि बढ्यो। यही विषयमा जनस्तरमा फैलिएको भ्रम चिर्नु पहिलो कर्तव्य हुन आएको छ। पार्टीको एजेण्डा लिएर गाउँमा पुगिसकेका छौँ। नेताहरुको कार्यविभाजन गरेर कार्यकर्तालाई सक्रिय बनाउने काम भइरहेको छ। जिल्लाका एक नगरपालिका सहित ७ गाउँपालिकामा चुनाव लक्षित कार्यक्रम भइरहेको दलहरुले बताएका छन्।

नेकपा एमालेका जिल्ला अध्यक्ष शान्तिलाल महत २६ गते जिल्ला समितिको बैठक बसेर औपचारिक रुपमा चुनावी प्रचार अभियानमा गाउँमा गइसकेको बताउँछन्। स्थानीयतहमा प्रचारप्रसार र प्रशिक्षण भइरहेको उनले जानकारी दिए। फागुन २८ गते तातोपानी गाउँपालिकामा चुनाव लक्षित कार्यक्रम गरिएको छ।

चेत्र १ गते चन्दननाथ,चैत ५ पातारासी, चैत ७ गते गुठिचौर गाउँपालिकामा कार्यकर्ता प्रशिक्षण कार्यक्रम राखिएको छ। चैत ८ गतेदेखि ११ गतेसम्म जुम्ला प्रदेश (ख) क्षेत्रमा चुनाव प्रचारप्रसारको कार्यक्रम प्रारम्भ हुने भएका छन्। पहिलो चरण गाउँ पुगेर आइसकेपछि समिक्षा हुनेछ। समिक्षा पश्चात नयाँ रणनीति अनुरुप चुनावी कार्यक्रम अघि बढाउने तयारी एमालेको छ।

अहिले गाउँ गाउँमा जनता उत्साहित छन्। विभाजन पछिको एमाले अझै सुदृढ बन्दै छ। मुल पार्टी भनेको नेकपा एमाल नै हो भन्ने जनताको धारणा अहिले पनि छ। अध्यक्ष महतले भने,‘ चुनावी कुरा प्राविधिक हो। अहिलेसम्म जनता एमाले पक्षमा रहनु प्रमुख विषय हो।’ उनले सम्भावित उम्मेदवार छान्न र चुनावका लागि आधार बनाउन गाउँ-गाउँ पुग्ने गरेको बताए।

एकीकृत समाजवादीले पनि चुनावी अभियानलाई घनिभुत रुपमा अघि सारेको छ। सबै स्थानीय तहमा भेला, गोष्ठी, सङ्गठन विस्तारको अभियान चलाइएको नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचिव तथा आदिप्रसाद न्यौपानेले बताए। अहिले संगठन सुदृढ र प्रचार अभियानमा छौँ। उनले भने,‘सबै नेता कार्यकर्ता गाउँ केन्द्रीत छन्। जनताको भावना र चाहना बुझ्ने काम भइरहेको छ। गाउँमा मतदाता निकै खुसी छन्।’

यता नेपाली कांग्रेस जुम्लाले घरघर जाऔँ, नेपाली कांग्रेस जिताऔँ भन्ने अभियानलाई घरदैलोसम्म पुर्‍याएको छ। कांग्रेस उपसभापति कार्मा बुढा घरदैलोमा पुगेर जनतालाई कांग्रेसमा उत्साहित बनाउन थालेको बताउँछन्। वामपन्थीहरुले एमसिसीबारे जनस्तरमा फैलाएको भ्रम चिरफार गर्दै जनताको मन मष्तिष्कमा बस्ने कार्य चलिरहेको उनले बताए।

नेपालमा एमसिसी कांग्रेसको पहलमा आएको हो। यसले समृद्ध नेपाल बनाउन सहयोग गर्नेछ, उनले भने,‘यो नेपाली जनताको हितमा छ। पूर्ण निशुल्क अनुदान हो। भ्रममा नपर्दा उपयुक्त होला।’ देशमा जे जति ठूला विकास निर्माण भएका छन्। सबै कांग्रेसको पालामा भएको दाबी गरे। निर्वाचन नजिकिँदै गर्दा पालिकाका अधिकांश जनप्रतिनिधिहरु पनि चुनावी गृहकार्यमा जुट्न लागिसकेको उनले बताए।

गाउँमा रहेको वडादेखि पालिकासम्मका जनप्रतिनिधिहरु पार्टीको चुनावी गृहकार्यमा जुटिसकेका छन, उनले भने, ‘पार्टीको निर्देशनानुसार सबै जनप्रतिनिधिदेखि नेता तथा कार्यकर्तासम्म चुनावी माहोल बनाउन लागेका छन्।’ अहिले गाउँका चिया पसलदेखि चौक चौतारासम्म आगामी बैशाखमा हुने स्थानीय तहको निर्वाचनकै चर्चा परिचर्चा चलिरहेको छ।

गाउँमा विभिन्न राजनीतिक दलका कार्यकर्ताहरु चुनावी रणनीति लिएर गएको बताउँदै उनले कांग्रेस पनि चुनावी रणनीति लिएर मतदाता आफ्नो पक्षमा पार्न अघि बढेको बताए। स्थानीय तहमा अहिले सञ्चालन गरिरहेको सरकारको समीक्षा गर्दै आगामी रणनीति र मतदाताका पिरमर्का बुझिरहेको उनले बताए।

हामी मतदाताका पीरमर्का र उनीहरुलाई एकतावद्ध गर्दै चुनावी माहोल बनाउन गाउँ छिरेका छौँ उपसभापति बुढाले भने, उनले भने, ‘कांग्रेससँगै अहिले सबै राजनीतिक दल गाउँ केन्द्रीत बनेकाले गाउँको माहोलै फरक देखिएको छ।’ स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा गाउँको माहोल सपार्न अहिले राजनीतिक दलका नेताहरू गाउँ तथा टोल केन्द्रित भएका छन्।

अहिले राजनीतिक दलहरुले टोल भेला गर्नुका साथै गाउँ तथा नगरमा आम भेलाको तयारी गर्न थालेका छन्। स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै यहाँका सक्रिय राजनीतिक दलका नेताहरु मतदातालाई आफ्नो पक्षमा आकर्षित गर्नुका साथै चुनावी माहोल बनाउन गाउँ टोल छिरेको बताउँछन्।

जिल्लाका साना दलहरु राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदूर किसान पार्टी लगायत दलले पनि स्थानीय चुनाव लक्षित अभियानमा लागेको बताएका छन्। सबै दल गाउँ जान थालेपछि गाउँमा चहलपहल निकै बढेको छ। पहिले वास्ता नगर्ने, बाटो काटेर हिड्ने नेता अहिले गाउँमा पुगेर भोट मागिरहेको स्थानीय बताउँछन्।

प्रकाशित: ३० फाल्गुन २०७८ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App