४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अखडामै कमजोर बन्दै मधेसी दल, पकड जमाउँदै ओली

शनिबार वीरगन्जका मेयर विजयकुमार सरावगीलाई एमालेमा भित्र्याउँदै पार्टी अध्यक्ष केपी शर्मा ओली। तस्बिर: नागरिक

गत बुधबार मोरङको रंगेली नगरपालिकाका मेयर दीलिपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा भित्र्याए। सत्ताबाट बाहिरिएर प्रतिपक्षमा पुगेको नेकपा एमालेले सत्ताधारी दल नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयरलाई भित्र्याएर जती चर्चा पाएनन् त्योभन्दा बढी मधेस प्रदेशको एकमात्र महानगरपालिका वीरगन्जका मेयर विजयकुमार सरावगीलाई भित्र्याएर पाएका छन्।

शनिबार वीरगन्जको प्रसौनीविर्तामा सरावगीलाई एमाले अध्यक्ष ओलीले गम्छा पहिराएर पार्टी प्रवेश गराएका छन्। २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए। त्यसअघि सरावगीको राजनीतिक पहिचान थिएन। उनी उद्योगी व्यावसायी थिए। २०७२ को तेस्रो मधेस आन्दोलनताका राजनीतिमा सक्रिय सरावगी तत्कालीन संघीय समाजवादी फोरममा प्रवेशसँगै वीरगन्ज महानगरको मेयरको टिक पाएर निर्वाचित भएका थिए।

महानगरको मेयर बनेपछि जसपाका प्रभावशाली नेता तथा संघीय सांसद प्रदीप यादवसँग सरावगीको दूरी बढ्न थाल्यो। जसकारण उनी जसपामा केही समय निष्क्रिय थिए। केही समयअघि जसपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्ने सोच बनाएका सरावगी अचानक नेकपा एमालेमा प्रवेश गरेका हुन। कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरवहादुर देउवासँग छलफल समेत गरिसकेको बताउने सरावगी अचानक एमालेमा प्रदेश गरेको उनकै भनाइबाट प्रष्ट हुन्छ। कांग्रेसमा प्रवेश गरे पनि वीरगन्ज महानगरको मेयरको टिकट पाउने ‘ग्यारेन्टी’ नभएपछि उनी एमालेमा प्रवेश गरेको चर्चा छ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै मेयर सरावगीले आफू अर्कै पार्टीमा जाने मनसाय बनाइसके पनि पूर्वमन्त्री मोती दुगडले अध्यक्ष ओलीसँग आफ्नो भेट गराएपछि एमाले प्रवेश गरेको सार्वजनिक गरे। उनले आफू कांग्रेसमा प्रवेश गर्ने सोच बनाइसकेको समेत खुलाए। शनिबारनै बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीलाई नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीमा भित्र्याए। पालिका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गरेका हुन्।

मधेस सरकारको नेतृत्व गर्ने यस प्रदेशको ठूलो पार्टी जसपाका जनप्रतिनिधिलाई पार्टीमा भित्र्याउँदै ओलीले मधेसमा आफूले गरेको विकासको फेहरिस्त प्रस्तुत गरेका थिए। हुलाकी सडक, सिँचाइका थुप्रै काम आफू नेतृत्वको सरकारले अघि बढाएको उनको भनाइ थियो। मधेस केन्द्रित दलले जोडदार रूपमा उठाउँदै आएको नागरिकताको समस्याको समाधान पनि एमालेले नै गर्ने उनको दाबी थियो। मधेसको विकास गर्न सजिलो छ। मधेसको विकास गर्न पर्याप्त इच्छाशक्ति हुनुपर्ने अध्यक्ष ओलीको भनाइ थियो।

एक ढिक्का मधेसी शक्ति (जसपा) फुटेपछि र जनमत पार्टी जसपामाथि जाइलागेको बेला एमालेको मधेस प्रवेश फलदायी देखिन्छ। मधेसकै ठूलो दल जसपाभित्र मतभेद चुलिएको बेला यस पार्टीका असन्तुष्ट नेता तान्न एमाले केन्द्रित भएको पाइन्छ। राजनीतिज्ञ खुशीलाल मण्डलको विश्लेषणमा मधेस राजनीतिमा मूल्यमान्यताको राजनीति खस्केको पाइन्छ। मधेस राजनीतिमा मात्र नभनौं यो रोग नेपाली राजनीतिमै व्याप्छ छ राजनीतिज्ञ मण्डल भन्छन्, ‘मधेस राजनीतिमा यो अति त्यतिबेला भयो जुन बेला महन्थजी जसपा फुटाएर ओली सरकारको सारथी बन्न पुग्नुभयो।’ मधेस राजनीतिमा सिधान्तको क्षयीकरण र सत्तालिप्साको पराकाष्ठा त्योबेलादेखि व्यापक बनेको उनको विश्लेषण छ।

ठूला नेताहरूनै सिधान्तको राजनीतिमा नअडिएपछि बाँकीको अवस्था फरक हुन्छ? उनले भने, ‘स्थानीय तहको चुनाव जति जति नजिक आउँछ, उथलपुथलको राजनीति उती तेज हुँदै जान्छ। आउने चुनावमा मधेस केन्द्रित दल आफैंमा मत तानातान गर्न व्यस्त हुनेछन्।’ जसपा, लोसपा, जनमतबीच मत काटाकाटको फाइदा कांग्रेस, एमाले र माओवादीले पाउने उनले बताए। ‘अहिले त पराकम्प मात्र महसुस भएको छ राजनीतिमा भूकम्प आउन बाँकी छ,’ उनले भने। २०७२ को मधेस आन्दोलनबाट एमाले मधेसमा करिब करिब जनमत गुमाइसकेको थियो। तर मधेस केन्द्रित दलकै सत्तास्वार्थ कारण एमाले मधेसमा जोडदार ‘कमब्याक’ गरेको विश्लेष्कहरू बताउँछन्।

आन्दोलनका बखत संघीय समाजवादी फोरम र राजपाबीच मधेसी गठबन्धन बनेको थियो। जुन गठबन्धनले ६ महिना नाकाबन्दीसहितको बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्यो। तर आन्दोलन बिना सम्बोधन नै टुंगियो। गठबन्धनले आन्दोलनलाई विसर्जन मात्र गरेनन्, बिना माग पूरा सत्तामा समेत सहभागी भए। संघर्षलाई बिना सम्बोधन बिसाएर ओली सरकारको सत्तामा सहयात्री बन्न पुगे। ६ महिनासम्म जसका विरुद्ध लड्यो, तिनैले केही नदिँदा पनि समर्थन गर्न पुग्दा मधेसी नेताहरूप्रति मधेसी समाजको विश्वास र उत्साह मौनतामा बदलिएको थियो। त्यतीबेला नै मधेस राजनीतिको कोर्स फेरियो।

२०७७ वैशाख १० गत्ते उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता सामाजवादी पार्टी (जसपा) बन्यो। बलियो मधेसी शक्तिको रूपमा जनता समाजवादी पार्टी बनेसँगै मधेसमा पुनः उत्साहको संचार भयो। जसरी मधेसी शक्तिको संगठित स्वरूप जसपाको निर्माणले मधेसको मन खुसीले भरिएको थियो त्यसरी नै फुटपछि फाट्यो। मधेसी शक्तिको फुटले फाटेको मधेसी मन सिलाउन नसक्दा मधेसी दल अखाडा(मधेस)मै कमजोर बन्ने देखिन्छ।

प्रकाशित: ३० फाल्गुन २०७८ ०३:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App