१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

बारा कांग्रेसको निर्वाचन दोस्रो चरणमा

जिल्ला सभापति चयनका लागि बुधबार भएको नेपाली कांग्रेस बाराको निर्वाचन दोस्रो चरणमा हुने भएको छ।

कांग्रेसको विधान अनुसार सभापतिमा निर्वाचित हुनका लागि कुल खसेको मतको ५१ प्रतिशत मत सभापतिका ३ जना उम्मेदवार मध्ये कसैले प्राप्त गर्न नसके पछि निर्वाचन दोस्रो चरणमा पुगेको हो।

बुधबार भएको निर्वाचन अन्तर्गत सभापतिका उम्मेदवारहरु मध्ये राजेश राय यादवले ८३३, शम्भुबहादुर बुढाथोकीले ८०९ र रामान्द यादवले ७०८ मत प्राप्त गरे पछि निर्वाचन दोस्रो चरणमा प्रवेश गरेको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बताएका छन्।

सभापतिका ३ जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि अब सभापतिका लागि पहिलो चरणमा प्रथम र दोस्रो मत ल्याएका राजेशराय यादव र शम्भु बुढाथोकीबीच प्रतिस्पर्धा हुने उप्रेतीले बताए। सभापतिमा निर्वाचित हुनको लगि १२ सयभन्दा बढी मतको आवश्यकता रहेको र पहिलो चरणमा कुनै पनि उम्मेदवारले मत नपाएको कारणले निर्वाचन दोस्रो चरणमा गराउनु परेको उप्रेतीले बताए।

कलैयास्थित श्री ३ चन्द्र मावि परिसरमा भएको पहिलो चरणको निर्वाचनमा कुल २ हजार ४ सय ९३ मत मध्ये २ हजार तीन सय ९९ मत खसेको  निर्वाचन समितिले जनाएको छ।

दोस्रो चरणको निर्वाचनको लागि उम्मेदवारहरुसँग छलफल गरेर अर्को मिति तोकिने उप्रेतीले बताए।

सभापतिको उम्मेदवार बुढाथोकीलाई पार्टी सभापति शेरबहादुर देउवाको विश्वास पात्र तथा सह महामन्त्री फरमुल्लाह मंसुरको समर्थन रहेको छ भने कलैया उपमहानगरपालिका प्रमुख समेत रहेका राजेश राय यादवलाई काँग्रेसका पूर्व केन्द्रीय सदस्य राधेचन्द यादवको समर्थन रहेको छ। राजेश राय यादव राधेचन्द यादवका छोरा हुन्।

त्यसअघि गत शनिबार कांग्रेस बाराको निर्वाचन, करिब ५० प्रतिशत मत खसेर धाँधली भएको भन्दै स्थगित भएको थियो।

प्रकाशित: २६ फाल्गुन २०७८ १२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App