२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस चुनावी अभियानः एमसीसी पारितदेखि कोरोना खोपसम्मको प्रचार गरिने

नेपाली कांग्रेस पार्टीले ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सुरु गर्ने भएको छ।

कांग्रेसले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई केन्द्रीत गरेर एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने भएको हो। बुधबार पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता प्रकाशशरण महतले फागुन २९ गतेदेखि चैत्र २९ गतेसम्म सो अभियान सञ्चालन गर्न लागिएको जानकारी दिए।

अभियानका क्रममा कांग्रेसले स्थानीय तह निर्वाचनमा सहभागि भई लोकतान्त्रिक अधिकार प्रयोग गर्न सम्पूर्ण मतदाताहरुलाई अपिल गर्ने तथा कांग्रेसका नेता, कार्याकर्ताहरुलाई एकतावद्ध बनाएर परिचालन गर्ने उनले बताए। त्यस्तै सो अवधिमा ‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्ने नाराका साथमा पार्टीको सबै संरचनालाई पूर्णता दिइने भएको छ।

प्रवक्ता महतका अनुसार कांग्रेसले हालसम्म गरेको राजनीतिक तथा आर्थिक उपलब्धीहरुलाई जनताको माझमा राख्ने, कांग्रेसले वर्तमान सरकारको नेतृत्व गर्नुपर्नाको कारण र यस अघिको सरकारले गरेका गैरसंवैधानिक काम तथा भ्रष्टाचारहरुको सम्बन्धमा जनतालाई सुसुचित गराउने लक्ष्य राखिएको छ।

प्रवक्ता महले एमसीसी सम्झौताको सम्बन्धमा अन्य राजनीतिक दलहरुले फैलाएको भ्रमको सम्बन्धमा पनि जनतालाई सुसुचित गर्नका लागि यस सम्बन्धमा प्रशिक्षण समेत सञ्चालन गर्ने बताए। एमसीसी नेपालको आवश्यकता र हितमा रहेको कुरा जनतालाई कांग्रेसले स्पष्ट रुपमा बुझाउने उनले उल्लेख गरे।

अभियान सफल पार्नका लागि कांग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने भएको छ। फागुन २९ गते सबै जिल्लाबाट अभियानको शुभारम्भ गरिने प्रवक्ता महतले बताए। अभियानलाई सफल बनाउन पार्टी प्रदेश कमिटी र जिल्ला कमिटीले कार्ययोजना बनाउने उनको भनाई छ। स्थानीय कमिटीले स्थानीय तह निर्वाचनका लागि घोषणापत्र तयार गर्ने पनि प्रवक्ता महतले जानकारी दिए।

पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले आसन्न स्थानिय तह निर्वाचनमा गठबन्धन गर्ने सम्बन्धमा अहिले कांग्रेसले कुनै निर्णय नगरेको बताए। कांग्रेसको अभियानमा समेत गठबन्धनको सम्बन्धमा कुनै छलफल नहुने उनले स्पष्ट पारे।

आगमी दिनमा पार्टीको केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेर मात्रै यस सम्बन्धमा आधिकारिक निर्णय गरिने र सोही निर्णयको आधारमा अघि बढ्ने उनले बताए। देशको परिस्थिति, गठबन्धन सरकारको भविष्य लगायतका तत्कालिन परिस्थितिको अध्ययन गरेर मात्रै गठबन्धनबारे सुविचारित निर्णय लिइने उनले बताए।

प्रकाशित: २५ फाल्गुन २०७८ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App