२२ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

दुर्गाको दाबी: विदेशीको प्लानमा सिंहदरबार जलाए, अब देश टुक्राउँदैछन्

फाइल।

मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंले नेपालमा २००४ सालदेखि नै देशलाई विखण्डन गर्ने योजनाबद्ध र गम्भीर षड्यन्त्र चलिरहेको दाबी गरेका छन्।

सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले त्यसको कार्यान्वयनमा राजनीतिक दलका नेतादेखि बौद्धिक व्यक्तित्वहरूसम्म प्रयोग भएको आरोप लगाए।

प्रसाईंले देश टुक्रयाउने विदेशी योजना अब अन्तिम चरणमा पुगेको समेत दाबी गरे। ‘देश विखण्डन हुँदैछ, देश टुक्रिँदैछ,’ उनले भने, ‘मधेसबाट सिके राउतले र पूर्वतिरबाट मंगोल नेसनल अर्गनाइजेसन भन्नेले टुक्रयाउन खोज्दैछ।’

उनले विगत ७६ वर्षको नेपालको राजनीतिक इतिहासलाई एउटै षड्यन्त्रको श्रृंखलाको रूपमा व्याख्या गरे। प्रसाईंले २००४ सालमा नेपाली कांग्रेस र २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना, २०२८ सालमा राजा महेन्द्रको हत्या, २०३६ को जनमत संग्रह, २०४६ को आन्दोलन, २०५२ मा माओवादी जनयुद्धको सुरुवात, २०५८ को दरबार हत्याकाण्ड र २०६२/६३ को जनआन्दोलन सबै विदेशी शक्ति, विशेषगरी पश्चिमाहरूको डिजाइनमा भएको दाबी गरे।

‘यो ७५-७६ वर्षको विदेशीहरूको, खासगरी पश्चिमाहरूको प्लानमा आज देश विखण्डनको अवस्थामा पुगेको हो,’ उनले भने। उनका अनुसार, २०७२ सालमा संविधान जारी गर्दा हिन्दू राष्ट्र र राजसंस्थालाई स्थायी रूपमा हटाउनु यही योजनाको अन्तिम परिणति थियो।

प्रसाईंले नेपालका प्रतिष्ठित व्यक्तित्वहरू समेत विदेशी एनजिओ र आईएनजिओको सञ्जालमा रहेको दाबी गरे। उनले विश्वप्रसिद्ध आँखा चिकित्सक डा. सन्दुक रुइतलाई ‘भगवान’ बनाइएको तर उनी पनि फाउन्डेसनबाट सञ्चालित भएको आरोप लगाए।

उनले एनजिओ र आईएनजिओले डलरको प्रलोभनमा पारेर नेपाली बौद्धिक वर्ग र नागरिक समाजलाई देश हितविपरीतका गतिविधिमा संलग्न गराएको बताए।

प्रसाईंले देश टुक्रयाउने विदेशी योजनाबारे राजा महेन्द्र जानकार रहेको र त्यसैलाई रोक्न २०१७ सालमा ‘कु’ गरेको दाबी गरे।

‘त्यतिखेर राजा महेन्द्रले देश विभाजनमा लान्छन् भनेर बुझेरै बीपीलाई थुनेर ‘कु’ गरेर देश चलाएको थिए,’ उनले भने। तर राजा वीरेन्द्रमा त्यो आँट नभएको उनको टिप्पणी थियो।

प्रसाईंले यी सबै षड्यन्त्र बुझेपछि आफू राष्ट्रियताको पक्षमा उभिएको र अब पुराना राजनीतिक दलहरूको औचित्य समाप्त भएको जिकिर गरे।

प्रकाशित: २७ आश्विन २०८२ १७:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App