१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन: गाउँ पसे दलहरु

नेपाली कांग्रेस दाङले गरेको चुनाव केन्द्रित छलफल। तस्बिर: नागरिक

दाङका १० स्थानीय तह मध्य गत स्थानीय तहको निर्वाचनमा ३ गाउँपालिकामा मात्रै जीत हात पारेको नेपाली कांग्रेसले दुई उपमहानगर र एक नगरपालिकाको नेतृत्व गुमायो। अन्य तीन गाउँपालिकामा पनि हार बेहोर्यो। कांग्रेसले त्यो बेला जिल्लामा आफ्नो बिरासत् गुमेको महसुस गर्‍यो। कारण: पछिल्लो संविधानसभा निर्वाचनमा जिल्लाको बहुमत एकलौटी कांग्रेसको पक्षमा देखिएको थियो।

आसन्न स्थानीय तहको निर्वाचनमा कांग्रेस आफ्नो गुमेको बिरासत पुनः आफ्नो पक्षमा पार्न चाहन्छ। फलतः स्थानीय तहको निर्वाचनको तयारीमा यो दल सकृय बनिसकेको छ। जिल्लाका दश वटै स्थानीय तहमा आफ्नो पकड कायम राख्ने योजना मुताबिक कांग्रेस गाउँ केन्द्रित भैसकेको छ। कांग्रेस दाङका सभापति शंकर प्रसाद डाँगी भन्छन्, ‘चुनाव लक्षीत योजना अनुरुप हामीहरु गाउँ केन्द्रित भैसकेका छौँ।’

त्यसो त कांग्रेसलाई अहिले कम्युनिष्ट पार्टीमा आएको ‘छिन्नभिन्न’ ले पनि जिल्लाको बहुमत आफ्नो पक्षमा पार्ने अवसर पनि छ। तथापी कांग्रेसले यसलाई अवसर मान्दैन। आफ्नै संगठनको मजबुतीलाई उसले जीतको एकमात्रै आधार मानेको छ। फलतः अहिले कांग्रेस चुनाव केन्द्रित अभियान अन्तर्गत संगठन विस्तारमा होमिएको छ। ‘हामीहरु टोल समिति गठनदेखि पार्टीका जिल्ला, क्षेत्रीय, नगरदेखि वडा समितिका बैठकहरु नियमित गरिहेका छौँ,’ कांग्रेस जिल्ला सभापति डाँगीले भने, ‘यी सबै छलफल अनि बैठक तथा टोल समिति गठनको अभियान चुनावी तयारीसंग सम्बन्धित कार्यक्रमहरु हुन्।’ बिहीबार पनि कांग्रेसले जिल्ला स्तरीय कार्यकर्ता भेलाको आयोजना गरेर चुनाव केन्द्रित छलफल गरेको छ।

दुई उपमहानगरसहित एक नगरपालिका तथा ३ गाउँपालिकामा आफ्नो नेतृत्व कायम गरेको एमालेले यो नतिजालाई गुमाउन चाहन्न। पार्टी बिभाजन भएपछि आफूलाई कहिँ न कहिँ केही कमजोर महसुस गरेको एमालेले पनि आफूलाई सबल पार्टीको रुपमा उभ्याउन उस्तै कडा कसरत थालिसकेको छ। एमालेले त चुनाव हुने निश्चितताको प्रचार गर्दै अहिलेदेखि नै गाउँगाउँमा पुगेर स्थानीय तहको निर्वाचनका लागि भोट माग्न समेत थालिसकेको एमाले जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतले जानकारी दिए।

‘एमाले चुनाव पक्षधर पार्टी हो, यसर्थ चुनाव हुन्छ भनेर मतदाताहरुलाई ढुक्क बनाईरहेका छौँ,’ उनले भने, ‘आगामी चुनावका लागि सहयोग गर्नका लागि पनि हामीहरुले मतदाताहरुलाई अनुरोध गरिरहेका छौँ।’ प्रदेश स्तरीय चुनाव लक्षित प्रशिक्षण कार्यक्रम सकेको एमालेले यो कार्यक्रम लगत्तै आफ्नो सकृयता गाउँ केन्द्रीत गरिसकेको छ। उसले पनि आफ्नो संगठनलाई बलियो बनाउन तल्लो तहमा कमिटि गठन गरेर मतदाताहरु गोलबद्ध पारिरहेको छ। ‘हाम्रो संगठनलाई बलियो बनाउनका लागि हामीहरु गाउँगाउँमा प्रवेश गरे कमिटि गठन गरिरहेका छौँ,’ एमाले अध्यक्ष बस्नेतले भने ‘संगसंगै चुनावी कुराहरु पनि मतादताहरुसंग गरिरहेका छौँ।’

जिल्ला तहका पार्टी नेतृत्व मात्रै हैन, सिंगो लुम्बिनी प्रदेशमा चुनावी तयारी दलहरुले भरपूर थालिसकेका छन्। एमसीसी प्रकरणले मौन रहेका दलहरु एमसीसी प्रकरणको टुंगो लागेसंगै चुनाव केन्द्रित राणनीतिमा सकृय बनेका छन्।

कांग्रेस लुम्बिनी प्रदेशले सम्भावित उम्मेदवाहरुको बारेमा बिश्लेषण गरिरहेको छ। सबै जिल्लाहरुलाई चुनाव केन्द्रित कार्यक्रमहरुमा लाग्न भनिसकेको र उम्मेदवार चयनका विषयमा समेत कांग्रेस प्रदेश समितिले छलफल गरिरहेको छ। ‘कसलाई उम्मेदवार बनाउँदा चुनाव जितिन्छ भन्ने विषयमा हामीहरुले अध्ययन र छलफल गरिरहेका छौँ,’ कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले भने, ‘समामा राम्रो प्रभाव कायम गरेको व्यक्तिलाई उम्मेदवार बनाउने गरि सबै जिल्लाका साथीहरुसंग छलफल भैरहेको छ।’

एमालेले पनि प्रदेशका सबै जिल्लाहरुलाई चुनावी माहोल निर्माण गर्न भनिसकेको छ। ‘चुनाव हुनुपर्छ’ भन्ने सन्देशसहित कार्यकर्ताहरुलाई गाउँ प्रवेश गर्न भनिसकेको एमाले लुम्बिनी प्रदेश समितिले प्रदेशमा आफ्नो पकड बलियो बनाउने गरि चुनावी अभियानमा लाग्न जिल्ला समितिहरुलाई भनिसकेको छ। एमाले लुम्बिनी प्रदेश समितिका सचिव लक्ष्मण आचार्य भन्छन् ‘हामीहरु स्थानीय तहको निर्वाचनका लागि गाउँ तहमा ‘मुभ’ भैसकेका छौँ।’

यता वर्तमान सत्ता गठबन्धनको अपेक्षामा रहेको नेकपा माओवादी केन्द्रले पनि चुनाव केन्द्रित तयारीलाई ब्यापक बनाएको छ। गठबन्धनको अपेक्षामा रहेपनि अहिले भने आफ्नो एकल तयारीमा माओवादी गाउँमा खटिएको छ। उसले उम्मेदवार चयनको विषयलाई अहिले प्रमुखता दिएको छ।

‘उम्मेदवार बन्ने सहमती भैसकेको स्थानमा हामीहरुले आगामी निर्वाचनका लागि उम्मेदवार फिक्स समेत गरिसकेका छौँ,’ नेकपा माओवादी केन्द्रका लुम्बिनी प्रदेश ईन्चार्ज चक्रपाणी खनालले भने ‘जहाँ दुई, तीन जना उम्मेदवारका आकांक्षी हुनुहुन्छ, त्यहाँ भने समाजमा राम्रो प्रभाव राख्न सक्ने व्यक्ति बारे अध्ययन गर्न र क्षमतावान उम्मेदवार चयन गर्न मातहतका कमिटिलाई भनेका छौँ।’

त्यसो त माओवादी केन्द्रको अहिले प्रदेश कमिटिका पदाधिकारी मनोनयन भैसकेका छैनन्। प्रदेशका कमिटि मनोनयन यसै फागुन महिनासम्म टुंग्याईसक्ने र त्यसपछि पार्टीले चुनावी अभियानलाई झनै तीव्रता दिने खनालको भनाई छ। ‘प्रदेश कमिटिका पदाधिकारी मनोनयन टुंगिन बाँकी छ,यसै महिना भित्रै हामीले टुंग्याई सक्छौँ,’ उनले भने ‘त्यसपछि हामीहरु सांगठनिकरुपमा अझ सशक्त भएर जाने छौँ।’

प्रदेश कमिटिले अहिले गाउँपालिका स्तरिय छलफललाई तीव्रता दिन भनेको छ। फलतः अहिले पालिका स्तरिय चुनाव केन्द्रित छलफलहरु व्यापक रुपमा भैरहेको खनालले बताए। ‘हाम्रो जिल्ला कमिटि भनेको समन्वयात्मक कमिटि जस्तै हो , पालिका स्तरिय कमिटिसंग सिधै प्रदेशको कनेक्सन हुने हाम्रो पार्टीको विधान छ,’ खनालले भने, ‘फलतः प्रदेश कमिटिले अहिले पालिकाहरुलाई चुनावी रणनीति बनाउन व्यापक छलफल गर्न भनेका छौँ, र अहिले धमाधम पालिका स्तरिय छलफलहरु भैरहेका पनि छन्।’

यसैगरि माओवादीले अन्य दलका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने रणनीति बनाएर अघि बढेको छ। खनाल भन्छन्, ‘प्रदेशका धेरै जिल्लामा अन्य पार्टीका नेता कार्यकर्ताहरु हाम्रो पार्टीमा प्रवेश गरिरहनु भएको छ, हामीहरुले पार्टी प्रवेश कार्यक्रमलाई पनि चुनाव केन्द्रित अभियानसंग जोडेका छौँ।’ उसो त अहिले माओवादीले गठबन्धनको पूर्णतः बिश्वास गरिसकेको छैन। 

फलतः अहिले आफ्नो पार्टीको आन्तरिक तयारीलाई मात्रै हेरेको छ। ‘गठबन्धन हुने नहुने निश्चित छैन, फलतः हामीहरुले पार्टीको आन्तरिक तयारीलाई तीव्र पारिरहेका छौँ,उम्मेदवार चयनको प्रकृयामा छौँ,’ खनालले भने, ‘तर भोली गठबन्धन हुने अवस्था आयो भने त्यही अनुसार म्यानेज गरेर अघि बढ्ने कुरा हुन्छ।’ नेकपा एमालेबाट अलग्गिएर बनेको एकीकृत नेकपा समाजवादी पनि वडा तहसम्मै चुनावी तयारीमा सकृय बन्दै गएको छ। तर गठबन्धनकै भरमा रहेको यो पार्टीले गठबन्धन नभत्कने गरि तयारीमा लाग्न तल्लो तहका कमिटिहरुलाई भनेको छ।

‘जिल्लादेखि वडा तहसम्म नै गठबन्धनलाई समस्या नपर्ने गरि चुनावी तयारी थाल्नुस् भनेर हामीहरुले प्रदेशका सबै जिल्लाका साथीहरुलाई भनिसकेका छौँ,’ यो पार्टीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले भने, ‘त्यो अनुसार साथीहरु लागिरहनु भएको छ।’ यसैगरि एमसीसीका बारेमा ‘तथ्य’ कुरा मतदातालाई बुझाउने योजना बनाएको यो पार्टीले यो अभियानलाई पनि चुनावसंगै जोडेको छ। चौधरीले भने, ‘अहिले एमसीसीका बारेमा धेरै कुराहरु आईरहेका छन्, यो एमसीसी के हो? र यो कसरी पास भयो भन्ने विषयमा हामीहरुले आम नागरिकलाई प्रष्ट पार्नु जरुरी छ। हामी तत्काल यो अभियान लिएर प्रदेशका १२ वटै जिल्लामा पुग्दैछौँ।’

यसैगरि वर्तमान गठबन्धनमा रहेका जनता समाजबादी दल पनि चुनावी रणनीति निर्माणमा सकृय बनेको छ। उसले विभिन्न जिल्ला बैठकहरु आयोजना गरेर चुनावी योजना बनाउनुका साथै सम्भावित उम्मेदवारहरुलाई समेत आआफ्नो तयारी गर्न समेत भनिसकेको छ। ‘हामीहरु चुनावी रणनीतिक योजना कै क्रममा विभिन्न जिल्लाहरुको बैठक गरिरहेका छौँ,’ जसपा लुम्बिनी प्रदेश समितिका अध्यक्ष अशोक कुमार यादवले भने ‘अनि सम्भावित उम्मेदवारहरुलाई पनि आआफ्नो तयारीमा लाग्नुस् भनेर पनि भनेका छौँ।’

आगामी २१ गते यो प्रदेश पदाधिकारीको बैठक बसेर थप चुनावी रणनीति बनाउने यादवले बताए। ‘प्रदेशका पदाधिकारीहरुको बैठक गरेर कसरी अगाडी जाने भन्ने बारेमा रणनीति बनाउँदैछौँ,’ यादवले भने ‘प्रदेशको यो रणनीति आगामी २८ देखि ३० गतेसम्म चल्ने जसपाको संघिय परिषदको बैठकमा पनि छलफलका लागि पेश गर्नेछौँ।’ आफूहरुले गठबन्धनको आयू बारेको आधिकारिक निर्णय कुरेर बसेको र सोही अनुसार पनि आफूहरुको योजना बन्ने यादवको भनाई छ।

प्रकाशित: १९ फाल्गुन २०७८ १२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App