पाँचदलीय गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाले घोषणा गरेको छ। सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको जनाएको हो।
राष्ट्रिय जनमोर्चाले एक विज्ञप्ति जारी गर्दै अधिकांश जनता एमसीसीको विपक्षमा सडकमा हुँदाहुँदै जनतालाई झालझेल पारेर एमसीसी पास गर्नु राष्ट्रलाई दीर्घकालिन र गम्भीर क्षति पुग्ने भन्दै गठनबन्धन त्यागेको जनाएको छ।
'हाम्रो पार्टी बाहेकका चार पार्टीले एमसीसीलाई संसद्द्वारा पारित गराउन गरेको षड्यन्त्र, जालझेल, तिकडम र साम्राज्यवादीहरूको दलाली तथा पृष्ठपोषण गर्ने काम गरेको हुनाले पाँच दलीय गठबन्धन देशको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताकोविरुद्ध खडा भएको स्थितिमा पाँच दलीय गठबन्धनलाई कायम राखिरहनु पर्ने औचित्य समाप्त भएको छ।' जनमोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएकाे छ।
राष्ट्रिय जनमोर्चाले एमसीसीको विरोधमा यही फागुन १९ देखि २२ गतेसम्म देशव्यापी जिल्ला तथा स्थानीय स्तरमा विरोध सभा गर्ने समेत जनाएको छ।
प्रकाशित: १६ फाल्गुन २०७८ १०:३३ सोमबार