२२ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

युक्रेनमाथि शक्ति प्रयोगको नेपालले गर्‍याे विरोध

नेपालले युक्रेनमाथि रुसले गरेको शक्ति प्रयोगको विरोध जनाएको छ। परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गर्दौ रुसी कदमको विरोध गरेको हो। 

‘नेपाल सरकारले युक्रेनको घटनाक्रमलाई नजिकबाट नियालिरहेको छ। तनाव नबढाउन र सबै पक्षलाई अधिकतम संयम अपनाउन नेपाल आग्रह गर्दछ,’ परराष्ट्र मन्त्रालयले भनेको छ। 

संयुक्त राष्ट्र संघको सदस्यको हैसियतले नेपालले राष्ट्रसंघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पालना गर्न नेपालले रुसलाई आग्रह गरेको छ। 

परराष्ट्रले राष्ट्रसंघको सबै सदस्य राष्ट्रहरूले सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तहरूको पूर्ण रूपमा सम्मान गर्नुपर्ने बताएको छ। 

‘युक्रेनको डोनेट्स्क र लुहान्स्क क्षेत्रहरूलाई स्वतन्त्र संस्थाको रूपमा मान्यता दिनु संयुक्त राष्ट्र संघको बडापत्रको प्रावधानको विपरीत हो। नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देश विरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्दछ र कूटनीति र संवादबाट विवादको शान्तिपूर्ण समाधान खोज्नेमा विश्वास गर्दछ,’ परराष्ट्रले स्पष्ट शब्दमा भनेको छ। 

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आज युक्रेनमा आक्रमण गर्न सेनालाई निर्देशन दिएपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेको हो। 

प्रकाशित: १२ फाल्गुन २०७८ ०८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App