७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
राजनीति

झुटो बोलेको भन्दै एमालेले माग्यो स्वास्थ्यमन्त्री खतिवडाको राजीनामा

नेकपा एमालेले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको राजीनामा मागेको छ। मन्त्री खतिवडाले कोरोनाविरुद्धको पहिलो डोज खोप आफूले लगाएको झुटो दाबी गरेको उसले बताएको छ।  

एमालेको स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख योगेश भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘झुट बोल्ने व्यक्ति नैतिकरुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ।’

मन्त्री खतिवडाले हालै एउटा अन्तर्वार्ताका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयमले कोरोनाको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनेको एमाले स्वास्थ्य विभागले उल्लेख गरेको छ। भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ।’

संघीय सांसदहरुलाई निःशुल्क खोप उपलब्ध गराएको बेला खतिवडाले १९ फागुन २०७७ मा सिभिल अस्पतालमा पहिलो मात्र कोरोना खोप लगाएका थिए। ‘सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र।सं। ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षर समेत गर्नुभएको छ,’ विभागले भनेको छ, ‘उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले Batch no. 4120 Z 004  को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ।’

स्वास्थ्यमन्त्री खतिवडाले पूर्ववर्ती सरकारलाई बदनाम गर्नकै लागि आम जनसमुदायलाई गलत सूचना दिई कोभिड जस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गरेको एमालेको विज्ञप्तिमा भनिएको छ।  लक्षित वर्गले निःशुल्क खोप प्राप्त गर्ने खोप ऐन, २०७२ र खोप नियमावली, २०७४ को सामान्य ख्यालसमेत नगरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक भएको एमालेले जनाएको छ।

एमालेको विज्ञप्तिमा भनिएको छ, 'यति झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न हाम्रो पार्टी माग गर्दछ। साथै, आफ्ना मन्त्रीको यस्तो गैरजिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उहाँलाई मन्त्री पदबाट बर्खास्त गर्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षण गराउँछौँ।'

प्रकाशित: ३ फाल्गुन २०७८ ११:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App