नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले एमसीसी सम्झौता प्रतिनिधिसभा बैठकमा टेबुल गर्न सरकारलाई आग्रह गर्ने र सो सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेका हुन्।
संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै नेपाली काँग्रेसका नेता डा.शशांक कोईरालाले बुधबार (भोली) बोलाइएको प्रतिनिधिसभाको बैठकमा एमसीसी पेस हुने र त्यसका पक्षमा मतदान गर्ने बताएका छन्।
उनले एमसीसी नेपालका लागि राम्रो भएकाले पारित गरिनुपर्ने पार्टीको धारणा रहेको बताए। नेता कोईरालाले एमसीसीको रुपरेखाहरु नेपाल सरकारले नै बनाउने कुरा बैठकमा छलफल गरिएको समेत बताए।
नेता कोईरालाले भने, ‘रामशरण महतज्यूले एमसीसी नेपालको लागि राम्रो हो भनेर ब्रिफिङ गर्नुभयो। ९ वटा देशमा त्यस्तै कार्यक्रमहरु चलिरहेको छ। त्यहाँ कुनै अमेरिकाको सेनाहरु पनि आएका छैनन्। यसको रेखा नेपाल सरकारले गर्ने हो भन्ने छ। भोलिको बैठकमा पेस हुनसक्ने सम्भावना छ। बैठकको निस्कर्ष निस्किसकेको छैन। तर एमसीसी पास गर्नुपर्छ भन्ने कुरा हो। बैठकमा रामशरण महतजीले नेपालको लागि एमसीसी राम्रो हो। यहाँ अमेरिकाको सेना आउँदैन, उसले यहाँ हस्तक्षेप गर्दैन भन्ने कुराहरु राख्नुभएको छ।’
प्रकाशित: ३ फाल्गुन २०७८ ०७:४२ मंगलबार