१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

‘संसद्लाई जीवन्त र जनमुखी बनाउने काम भइरहेको छ’

सभामुख अग्निप्रसाद सापकोटाले नेपाली जनतामा उच्चस्तरको लोकतान्त्रिक आचारण र चरित्र भएकाले कसैलाई पनि अति गर्नतर्फ लान नदिने बताए।

राष्ट्रियसभा उपाध्यक्ष र सात प्रदेशका उपसभामुखबीच अनुभव आदान–प्रदान गर्न बिहीबार आयोजित कार्यक्रममा उनले जनताले अहिले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबाट भइरहेको काम कारबाहीलाई नजिकबाट हेरिरहेको उल्लेख गरे।

सभामुख सापकोटाले भने, संसद्लाई जीवन्त र जनमुखी वातावरण बनाउने काम भइरहेको छ, संसद्काबारे धेरै प्रश्न उठेको छ, मेरो पहलकदमी कहाँ पुगेको छैन, कहाँ बढाउनुपर्छ भन्नेतर्फ काम गरिरहेको छु, सभामुखको नेतृत्वमा सबै सांसदले स्वतन्त्र भएर निर्णय गर्न पाउँछन् त भन्ने प्रश्न छ, आलोचना र आएका सुझावलाई सकारात्मकरूपमा लिएको छु।'

अहिले भइरहेका बहसले हामीलाई देशहितका लागि निष्कर्षमा पुर्‍याउने उल्लेख गर्दै उनले भने, 'इतिहास राम्रो अध्ययन गरेका जनता नै सर्वाेपरी हुन्। देशभक्त भावनाले ओतप्रोत जनताले ठिक निर्णय गर्नेछन, तटस्थ, निष्पक्ष र स्वतन्त्र हुनुमा मेरो पनि ठूलो तागत छ' देशले एकपछि अर्काे गर्दै महामारी, राजनीतिक र जलवायु संकट भोग्नुपरेको उल्लेख गर्दै सभामुख सापकोटाले सकारात्मक सोच विचारले मात्रै राम्रा नतिजा हासिल गर्ने भएकाले संसद्ले मुख्य कार्यभार कानुन निर्माणमै जोड दिनुपर्ने बताए। उनले भने, 'विश्व समुदायजस्तै नेपालमा पनि नयाँ राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ, मातृभूमिप्रति इमान्दार र निष्ठामा रही बढाइने सोच र विचारले देश र जनताको हित हुनेछ।'  

सभामुख र उपसभामुखलाई सबैसँगको छलफल र अन्तरघुलनबाट सभा सञ्चालन गर्न सहज तुल्याउने बताउँदै उनले सबै उपसभामुखमा नयाँ र चुनौतीपूर्ण जिम्मेवारीले आत्मविश्वास बढाएको बताए। लोकतन्त्र प्रवचन दिने विषय नभई आत्मसात र व्यवहारमा लागु गर्ने विषय भएको जनाउँदै उनले संसद्मा लोकतन्त्रको उच्चतम अभ्यास गर्ने थलो भए पनि विविध कारणले योग्यता र क्षमताको गतिलो अभ्यास गर्न नसकिरहेको उल्लेख गरे।

राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालले पछिल्लो दुई वर्षमा कोभिड– १९ महामारीका कारण अन्य क्षेत्रजस्तै संसद् पनि प्रभावित भएका कारण कानुन निर्माण तथा संसदीय अभ्यासका काम सोचेअनुरूप गर्न नसकिएको बताइन्। उनले पर्याप्त बैठक तथा छलफल हुन नपाउँदा सदनमा आएका विधेयक तथा जनसरोकारका अन्य विषय प्रभावित हुन पुगेका तथा नियमित संसद् बैठक सञ्चालन नहुँदा सिकाइका विविध पक्ष छुटेको बताइन्।

प्रदेश १ का उपसभामुख सरस्वती पोखरेलले अत्यन्तै अप्ठेरो परिस्थितिमा प्रदेशसभाले काम गर्नुपरेको अनुभव सुनाउँदै उपसभामुखले आफ्नो अधिकारका लागि लड्नुपरेको अवस्था र घटना बताइन्। सभाको प्रारम्भ र अन्त्य गर्ने अधिकार उपसभामुखलाई दिनुपर्छ भनी गरिएको पहलपछि बाधा फुकेको भन्दै उनले अहिले मिलेर सभा सञ्चालन गरिएको बताइन्। प्रदेशमा भएका अभ्यासले महिलाको नेतृत्व विकास हुँदै गएको उनको भनाइ छ।

मधेस प्रदेशका उपसभामुख उपमाकुमारी देवले प्रदेशसभा सञ्चालन र अन्त्य गर्ने अभ्यास गरिरहेकाले पुरुषका तुलनामा कहीँ कतै कमी कमजोरी नभएकाले आफू सक्षम रहेको दाबी गरिन्। यस्तै बागमती प्रदेशका उपसभामुख राधिका तामाङले प्रदेशसभाले ६१ वटा विधेयक पारितसहित चार वर्षको अवधिमा भए–गरेका कामकारबाही तथा समावेशी र समानुपातिक प्रतिनिधित्वबारे जानकारी गराइन्। अनुभव आदान–प्रदान कार्यक्रमले कानुन निर्माणमा महिला सदस्यको सक्रियता बढाएको बताउँदै उनले कतिपय संसद्का गतिविधि मिडियाबाट मात्रै थाहा हुँदा नमिठो लागेको उनको भनाइ थियो।

गण्डकी प्रदेशका उपसभामुख सिर्जना शर्माले ५० विधेयक पारित गरेको, विशेष अधिवेशनको अभ्यास भएको, राष्ट्रिय राजनीतिको अवस्थाले कानुन निर्माण र विकासलगायतका काम अप्ठ्यारो परेको बताइन्। संसदीय समिति र मन्त्रिमण्डलमा महिलाको प्रतिनिधित्व कमजोर हुँदा संविधानको मर्म र भावना आत्मसाथ गर्न नसकेको अनुभूति सुनाउँदै उनले सभा चलाउने जिम्मेवारी सभामुखको पालो दिनेमात्रै उपसभामुखको हो भन्ने बेलाबखतमा आभास भएको बताइन्।

कर्णाली प्रदेशका पुष्पा घर्तीले उपसभामुखको पद ‘माया बैगुनी नभई नहुने’ जस्तो रहेको आफूले अनुभव गरेको प्रतिक्रिया दिइन्। संविधानको मर्म र भावनाअनुरूप आगामी दिनमा सात प्रदेशमध्ये कम्तीमा तीन जना सभामुख महिला हुने व्यवस्था सुनिश्चित गरिनुपर्नेन उनको माग थियो। 

सुदूरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालले प्रदेश सरकारमा दुई मन्त्री, तीन राज्यमन्त्री तथा दुईवटा समिति सभापतिको नेतृत्व महिलाबाट भइरहेको जानकारी दिइन्। प्रदेशसभाले चार वर्षमा ४१ ऐन तर्जुमा गरे पनि कतिपय प्राविधिक कारणले जनसरोकारसँग जोडिएका कानुन तर्जुमा गर्न अझै नसकिएको उनको भनाइ थियो। कर्मचारीको अभावले विकास निर्माण काम प्रभावित भएको उनले बताइन्।

प्रकाशित: २८ माघ २०७८ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App