५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

नगरसभामा एमसिसी खारेजीको माग

भक्तपुर नगरपालिकाको बिहीबार बसेको नगर सभाको बैठकमा सदस्यहरूले एमसिसी देशघाती भएको भन्दै खारेजीको माग गरेका छन्। नगर प्रमुख एवं एघारौं नगरसभाका अध्यक्ष सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकमा अधिकांश सदस्यले एमसिसी खारेजीको माग गरेका हुन्।

सभाध्यक्ष प्रजापतिले नगरसभा वैचारिक छलफल र संघर्ष गर्ने थलो भएको बताउँदै बैठकमा एमसिसीको विरोधमा आफ्ना विचारहरू व्यक्त गर्ने सदस्यहरूलाई आफ्नो सांस्कृतिक र बौद्धिक विकासका लागि अझ थप अध्ययन–अनुसन्धान गर्न प्रेरित गरे।

एमसिसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र सत्ता गठबन्धनको एक घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चार महिनाअगाडि व्यक्त गरेका भिन्न विचारमध्ये अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले भनेजस्तै सहमतिमा एमसिसीलाई पत्राचार गरेको प्रमाणित भएको उनले बताए। यसरी दाहालले एमसिसीबारे जनतालाई ढाँटेको प्रमाणित भएको उनको भनाइ थियो।

बैठकको विशेष समयमा बनेलदै सदस्य राजेन्द्र माकले एमसिसीको विरोध गर्नुपर्नाका कारणबारे प्रस्ट पार्दै त्यो पारित भए नेपालको बौद्धिक सम्पत्तिमा अमेरिकाको एकलौटी अधिकार रहने खतरा औंल्याए। सदस्य छोरीमैयाँ सुजखूले नेपालको सार्वभौमसत्ता रक्षाका लागि भारतीय एकाधिकार पुँजी र अमेरिकी साम्राज्यवादको थिचोमिचोविरुद्ध जनतालाई सचेत र संगठित पार्दै आइरहनुपर्ने बताइन्। सदस्य तुल्सीलक्ष्मी दुमरुले देशका शासक दल र तिनका नेताहरूको सत्ता स्वार्थका लागि विदेशी शक्तिसामु झुक्ने प्रवृत्तिले देशको सार्वभौमिकता र स्वतन्त्रतामाथि खतरा बढिरहेको बताइन्।

सदस्य पूर्णगोपाल राजचलले एमसिसीको विरोधमा सुरुदेखि आवाज उठाउँदै आइरहेको अवगत गर्दै एमसिसीका नाममा अमेरिकी अनुदान पाएका कुनै पनि देशको आर्थिक अवस्था माथि नउठेको प्रस्ट पारे। सदस्यहरू रञ्जना त्वाती, शिवप्रसाद बाला, जितेन्द्र मुनंकर्मी, सूर्यप्रसाद श्रेष्ठ, बलराम न्हिसुतु र गोविन्द दुवाललगायतले पनि एमसिसीसँरा अमेरिकी साम्राज्यवादको हिन्द–प्रशान्त सैन्य रणनीतिको अंग भएको हुँदा तत्काल खारेज गर्नुपर्नेमा जोड दिए।

बैठकले आव २०७८/७९ को साउन १ गतेदेखि २०७८ माघ मसान्तसम्मको कार्यपालिका बैठक निर्णय विभिन्न समिति–उपसमितिको निर्णय, प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत तहबाट भएका सबै निर्णय, आदेश र कामकारबाही सभाबाट अनुमोदन गर्ने निर्णय सर्वसम्मतिले पारित गर्‍यो। अर्को बैठक फागुन ३ गते मंगलबार बस्नेगरी नगरसभा टुंगिएको छ।

प्रकाशित: २८ माघ २०७८ ००:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App