२१ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

स्थानीय चुनावः दलहरु आन्तरिक छलफलमा जुटे

आसन्न स्थानीय तहको निर्वाचन घोषणासँगै राजनीतिक दल र मतदाताले चुनावी बहस सुरु गरेका छन्। आगामि वैशाख ३० गते एकै चरणमा स्थानीय तहमा निर्वाचन गर्ने सरकारी निर्णयसँगै दलहरु आन्तरिक छलफलमा जुटेका हुन्। सर्वसाधारणले पनि चुनावी माहोलबारे चर्चा गर्न थालेका छन्।  

सामाजिक सञ्जालमा स्थानीय तहका सम्भावित उम्मेदवारबारे चर्चा सुरु भएको छ। लामो समयको ग्यापपछि झन्डै पाँचवर्ष अघि निर्वाचन हुँदा स्थानीय तहले बल्ल पदाधिकारी पाएका थिए। ती पदाधिकारीको अवधि सकिएर निर्वाचन मार्फत स्थानीय तहमा नयाँ पदाधिकारी चुनिनेछन्। चुनावी छलफलसँगै स्थानीय तहका हालका पदाधिकारीको कामको पनि मतदाता र दलहरुले मूल्यांकन गर्न थालेका छन्।

आगामि चुनावबारे छलफल गर्दै दलहरु मतदातामाझ जाने तयारी समेत गरिसकेका छन्। अघिल्लो कार्यकाल सकिन थालेका स्थानीय तहका पदाधिकारीको समीक्षा गर्दै नयाँ र सम्भावित उम्मेदवारबारे पनि अहिले सर्वसाधारणदेखि राजनीतिक दलसम्म बहस सुरु भएको छ। केन्द्रमा गठबन्धन गरेर सरकार हाँकिरहेका दलहरु स्थानीय तहसम्म जाँदा गठबन्धनलाई अझ बलियो बनाउने भन्दै छलफलमा समेत जुटिसकेका छन्। दलहरुले टोल टोलमा टिम बनाएर पनि छलफल थालेका छन्।  

कांग्रेस कास्कीका सचिव भानु ढकाल भन्छन, ‘सरकारले स्थानीय तहको चुनाव घोषणा गरेको छ। निर्वाचनको माहोल बनाउने जिम्मा दलहरुको पनि हो। चुनाव लागेको सन्देश पनि दिनुपर्नेछ। त्यसैले दलहरु आन्तरिक छलफलमा जुटेका छन्।’ उनका अनुसार केन्द्रमा गठबन्धन सरकार बनाएका सत्ता साझेदार दलहरु मंगलबार छलफलमा जुट्दै जिल्लामा रहेका गठबन्धनका दलहरुबीच भावनात्मक गतिविधि बढाउने गरि छलफल भएको छ।  

‘केन्द्रमा गठबन्धन सरकार रहिरहेकोले जिल्लामा रहेका गठबन्धनका उनै दलबीच भावनात्मक गतिविधि बढाउने गरि छलफल सुरु भएको हो,’ ढकालले भने, ‘केही गरि आसन्न स्थानीय तहको निर्वाचनमा यिनै दलहरुबीच गठबन्धनको माहोल बनेमा त्यसले सहज हुनेछ।’ 

गठबन्धन मबजुत बनाउने, स्थानीय तहका गतिविधि अनुगमन गर्दै सुशासन कायम गर्नका लागि पहल गर्ने र निर्वाचनको माहोल बनाउने गरि छलफल भएको उनले बताए । ‘चुनाव लागेको सन्देश दिने बेला भएको छ। अब दलहरु नै नतात्ने हो भने चुनावको माहोल बन्दैन,’ उनले भने, ‘दलहरु आन्तरिक योजनामा लागिसकेका छन्। चुनावको तयारीमा सरकारसँगै दलहरु पनि जुट्न जरुरी छ।’

नेकपा एकीकृत समाजवादीका कास्की अध्यक्ष धनराज आचार्य राजनीतिक दलहरु आन्तरिक रुपमा चुनावी तयारीमा जुटिसकेको बताउँछन। ‘हुन त निर्वाचन घोषणा भएको धेरै दिन भएको छैन, तर, दलहरुले नै निर्वाचनको माहोल बनाउने हो। दलहरु आन्तरिक तयारीमा जुटिसकेका छन,’ आचार्यले भने। आचार्यका अनुसार स्थानीय तहमा उम्मेदवार हुन इच्छुक व्यक्तिबारे चर्चा पनि सुरु भएको छ। कतिपय इच्छुक उम्मेदवार अघि पनि सरिसकेका छन। तर, संघीय सरकार गठनमा साझेदारी गरेका गठबन्धनको जवाफ कुरेको उनले बताए।  

‘केन्द्रमा सत्ता साझेदार गरेकोले जिल्लास्तरमा पनि हामी गठबन्धनका दलहरु छलफलमा बसेका हौ। आगामि निर्वाचनमा दलहरु मिलेर जानमा समस्या छैन, तर, केन्द्रको निर्देशक पर्खिने हो,’ उनले भने, ‘केन्द्रको अनुकुलमा निर्णय भएमा स्थानीय तहमा त्यही अनुसार हुन सक्छ।’ पोखरा आफैमा सुन्दर र उत्कृष्ट महागर भएपनि यसको व्यवस्थापन गतिलो नहुँदा पोखराले पहिचान बचाउन नसक्दा आगामि निर्वाचनमा पोखराको इमेज जोगाउने उम्मेदवार खाँचो रहेको उनले बताए।

‘राम्रो व्यवस्थापन हुन नसक्दा पोखरा साच्चै पोखरा हुन सकेन। पोखराको इमेज गुमेको छ। यसको आन्तरिक व्यवस्थापन उत्तिसारो गतिलो हुन सकेन,’ उनले भने, ‘त्यसैले आगामि निर्वाचनमा पोखराले उपयुक्त उम्मेदवारको खाँचो छ।’ पोखरालाई उत्कृष्ट गन्तव्य बनाउन आवश्यक भएकोले त्यही अनुसार आगामि दिनमा निर्वाचनमा दलहरुले उम्मेदवार चयन गर्नुपर्ने उनले बताए।  

एमाले कास्कीका सचिव बैनबहादुर क्षेत्री अधिकारी पनि निर्वाचनको तयारी स्वरुप आन्तरिक रुपमा छलफलमा जुटिसकेको बताउँछन्। जिल्ला र प्रदेशस्तरमा प्रशिक्षणका कार्यक्रमको तयारी भईरहेको पनि उनले बताए। उनका अनुसार भर्चुअल माध्यमबाट जिल्ला पदाधिकारीलाई निर्वाचनको तयारीबारे केन्द्रले प्रशिक्षण दिने तयारी भईरहेको छ। त्यस्तै जिल्ला कमिटिको बैठक बसेर निर्वाचनको तयारीलाई अघि बढाउने तयारी भएको पनि उनले बताए। त्यस्तै प्रदेशका ११ वटै जल्लाका पदाधिकारीको भेलाको पनि तयारी छ।  

‘दलहरु निर्वाचन तयारीमा जुटिसकेका छन। आन्तरिक तयारी भईरहेको छ,’ अधिकारीले भने। उनका अनुसार स्थानीयतहमा भएका विकास निर्माणका कामको लेखाजोखा गर्ने, हालका पदाधिकारीको कामको मुल्यांकन गर्ने, अघिल्लो पटकको घोषणापत्र र कामको विश्लेषण गर्ने तयारी भईरहेको छ। मत सर्वेक्षण पनि गर्ने तयारी भईरहेको उनले बताए। ‘समग्रमा भन्दा चुनावी छलफलमा दलहरु जुटिसकेका छन। सम्भावित उम्मेदवारको चर्चा पनि अब सुरु हुँदैछ,’ उनले भने।  

एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङ निर्वाचन तयारी स्वरुप हालका जनप्रतिनिधिले गरेका कामको स्वेतपत्र प्रकाशन गर्ने तयारी भएको बताउँछन। जनताको बीचमा पुग्न सकेका छौ वा छैनौ भनेर छलफलको तयारी भईरहेको उनले बताए। ‘अब चुनाव लागेको सन्देश दिनुपर्छ। निर्वाचनको माहोल बनाउने गरि तयारी भईरहेको छ,’ गुरुङले भने।  

प्रकाशित: २६ माघ २०७८ ०९:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App