४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पार्टी कार्यालय बनाउन बागलुङ कांग्रेस सक्रिय

बागलुङ कांग्रेसले आफ्नै पार्टी कार्यालय बनाउने अभियानलाई क्रमशः सार्थकता दिलाउन थालेको छ।

पार्टी कार्यालयका लागि कांग्रेस बागलुङले छोटो समयमै घडेरी व्यवस्थापन गरिसकेको छ। चौधौं महाधिवेशनपछि सभापति जीत शेरचनले निर्वाचनपछि आफ्नै पार्टी कार्यालय बनाउने घोषणा गरेका थिए।

अहिले नेपाली कांग्रेसको पार्टी कार्यालय बनाउने अभियानअन्तर्गत  बागलुङ नगरपालिका–३ नारायणचोकमा १४ आना जग्गा व्यवस्थापन भइसकेको र भवन निर्माणका लागि सहयोग संकलन अभियान तीव्रता दिएको कांग्रेस बागलुङका सभापति जीतबहादुर शेरचनले बताए।

शेरचनले रु. दुई करोड पाँच लाखमा जग्गा खरिद गरेर भवन निर्माणका लागि नक्शाको काम भइरहेको बताए। सुविधा सम्पन्न पार्टी कार्यालय विपी स्मृति भवन निर्माणका लागि अहिले नेपाली कांग्रेसका नेता तथा शुभेच्छुकहरुले धमाधम सहयोग प्रदान गरिराखेका छन्। शेरचनले सुविधा सम्पन्न भवन निर्माणका लागि पाँच करोड खर्च अनुमान गरिएको बताए।

जग्गा खरिदसहित भवन निर्माणका लागि पार्टीले अहिलेसम्म विभिन्न व्यक्तिबाट रु.३० लाख संकलन गरिसकेको छ। कांग्रेस बागलुङले जग्गा खरिद, भवन निर्माण र कार्यालय सञ्चालनका लागि कोष निर्माण गर्न भन्दै आफूहरूको रु १० करोड उठाउने लक्ष्य रहेको जनाएको छ।

कांग्रेसका धेरै नेता, कार्यकर्ता र शुभेच्छुकहरूले उत्साहजनक रूपमा पार्टीको भवन निर्माणका लागि सहयोग गरिराखेका छन्, छोटो समयमै रु. ३० लाख बढी रकम संकलन भइसकेको छ’, सभापति शेरचनले भने, ‘१० करोड उठाउने लक्ष्य छ। सबैले सहयोग गर्छौं भनिरहेका छन्। उठेको रकममध्ये जग्गा व्यवस्थापन र भवन निर्माणपछि बाँकी रकम पार्टी व्यवस्थापनमा खर्च गरिनेछ।’

पार्टी कार्यालयका लागि १० आनामा भवन बन्ने छ। भवन ६ तलाको बन्ने सभापति शेरचनले बताए। उनले दुई वर्षमा पार्टीको कार्यालय निर्माण भइसक्ने बताए। अहिले बागलुङ नगरपालिका–२ लोकतान्त्रिक चोक नजिकै घर भाडामा लिएर पार्टीको कार्यालय सञ्चालन गरिंदै आएको छ। कार्यालय सञ्चालनका लागि पार्टीले मासिक २० हजार घरभाडा तिर्दै आएको छ। भवन सभाहलसहितको हुनेछ। 

प्रकाशित: २६ माघ २०७८ ०७:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App