८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

संसदको गत्यावरोध हटाउन सभामुखको आग्रह

सङ्घीय संसदमा देखिएको अवरोध खुलाउन सभामुख अग्निप्रसाद सापकोटाले सरकारलाई आग्रह गरेका छन्। सभामुखको कार्यकक्षमा आज कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुसँग छलफल गर्दै सभामुखले सो आग्रह गरेका हुन्।

संसदमा लामो समयसम्म अवरोध रहिरहनु राम्रो नभएको भन्दै सभामुखले त्यसका लागि गम्भीर भएर लाग्न कानुन मन्त्री बडुलाई आग्रह गरेका हुन्। सङ्घीय संसद्को प्रतिनिधिसभाको बैठक यही माघ २६ गतेका लागि बोलाइएको छ। सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार संसद्को गत्यावरोध अन्त्य गर्ने विषयमा उनीहरूबीच छलफल भएको हो। प्रमुख प्रतिपक्षी नेकपा एमालेले सङ्घीय संसद्को बैठक लगातार अवरोध गरिरहेको छ।

राष्ट्रिय महत्वका विविध विषयमा संसद्मा छलफल हुनुपर्नेमा त्यसो हुन नसक्दा जनप्रतिनिधिको थलो संसद्ले नियमित काम गर्न नपाएको भन्दै सभामुखले सहमतिका साथ सबै दल प्रस्तुत हुन आग्रह गरेका थिए। प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज प्रधानमन्त्री निवास बालुवाटारमा पनि संसद्को गत्यावरोध अन्त्य गर्नेलगायतका विषयमा छलफल भएको छ।

प्रकाशित: २३ माघ २०७८ १४:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App