गृहनगरस्थित भीमेश्वर नगरपालिकाले खोलालाई ह्युमपाइपभित्र लुकाएर त्यसमाथि हेलिप्याड र पार्क बनाउन लागेको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले विरोध जनाएका छन्।
खोलालाई ह्युमपाइपभित्र लुकाएर माथि जग्गा उबार्ने र उक्त जग्गामा हेलिप्याड र पार्क बनाउन लागेको समाचार शनिबार नागरिकन्युज र नागरिक दैनिकमा प्रकाशन भएपछि नगरको उक्त निर्णयको विरोध गर्दै कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीले भीमेश्वर नगरपालिकाको निर्णयलाई बौद्धिक दिवालियापनको संज्ञा दिएका छन्।
‘विकासका नाममा विनास निम्त्याउने यो कार्यलाई नगरवासीहरु आफैं अघि सरेर नरोक्ने हो भने भविष्यमा निम्तिन सक्ने ठूलो प्राकृतिक संकटका लागि तयार हुनु हो’, सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्दै उनले भनेका छन्। उनले तत्काल निर्णय सच्याएर खोलालाई पूर्ववत् अवस्थामा फर्काउन नगर नेतृत्वसंग आग्रह गरेका छन्। शिवाकोटी भीमेश्वर नगरपालिका १ सुष्पाक्षमावतीका स्थायी बासिन्दा हुन्।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य शोभीत उप्रेतीले समेत ह्युमपाइपभित्र खोला लुकाएर हेलिप्याड बनाउँदा मानव वस्तीलाई भविष्यमा ठूलो प्राकृतिक संकट निम्त्याउने भन्दै निर्णय पूनर्विचार गर्न आग्रह गरेका छन्। उप्रेती समेत दोलखावासी हुन्।
प्रकाशित: १५ माघ २०७८ ०८:३३ शनिबार