१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

मन्त्री यादवको अभिव्यक्तिबारे जसपामै मतभेद

भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्तिलाई लिएर जनता समाजवादी पार्टीमा दुई प्रकारको मत देखिएको छ। संघीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराई र उनीनिकट नेताले यादवको अभिव्यक्तिको कडा आलोचना गरेका छन्। पार्टी अध्यक्ष उपेन्द्र यादव पक्षका नेताहरू भने यसबारेमा चुप देखिएका छन्। उनीहरूले रेणु यादवको बचाउ गरेका छन्।

सामाजिक सञ्जालमा भट्टराइले रेणु यादवको अभिव्यक्ति आपत्तिजनक भएको बताएका छन्। यादवको यस्तो अभिव्यक्तिलाई पार्टीले बचाउ गर्न नसक्ने भट्टराईको भनाइ छ। भट्टराईनिकट नेताहरूले पनि यो विषयलाई जोडतोडले उठाएका छन्। भट्टराईनिकट तथा जसपाका कार्यकारिणी समितिमा सदस्य गंगानारायण श्रेष्ठले रेणु यादवको अभिव्यक्ति अशोभनीय भएको बताए। ‘मन्त्रीजस्तो जिम्मेवार व्यक्तिले यस्तो अशोभनीय अभिव्यक्ति दिन मिल्छ कि मिल्दैन। त्यो उहाँले नै थाहा पाउने कुरा हो,’ श्रेष्ठले भने। गौर घटना ठिक हो भने निष्कर्ष कुनै पनि अवस्थामा निकाल्न नसकिने श्रेष्ठले बताए।  

यसैगरी भट्टराईनिकट अर्का नेता तथा जसपाका कार्यकारिणी समितिका सदस्य डम्मर खतिवडाले यादवको अभिव्यक्तिबारे छलफल गर्न पार्टीको बैठक बोलाउनुपर्ने माग राखे। तर पार्टी अध्यक्ष यादवनिकट नेताहरू भने रेणु यादवको अभिव्यक्तिलाई अनावश्यक रूपमा उचाल्न नहुने धारणा राख्छन्। यस्तो विषयमा रेणु यादवले राजीनामा गर्नुपर्ने कारण नै नभएको उनीहरूको तर्क छ। ‘आफूले दिएको अभिव्यक्तिको विषयमा उहाँ (रेणु)ले प्रष्ट पारि सक्नु भएको छ। त्यसैले यो विषयलाई अब उचाल्नु कुनै कारण छैन,’ उपेन्द्र यादवनिकट तथा जसपाका कार्यकारिणी सदस्य विजय यादवले भने, ‘न त यस्तो विषयमा उहाँले राजीनामा गर्न जरुरी छ।’ रेणु यादवको अभिव्यक्तिको विषयमा अनावश्यक विवाद सिर्जना नगर्न पनि विजयले सल्लाह दिए।  

भट्टराईनिकट नेताहरूले भने यसबारेमा कारबाही अघि बढाउन पार्टी अध्यक्ष यादवमाथि दबाब दिएका छन्। यादवले भने यस विषयमा केही बोलेका छैनन्। पछिल्लो समयमा जसपामा भट्टराई र यादव पक्षबीच विवाद बढ्दै गएको छ। भट्टराई पक्षधर नेताहरूले भट्टराइलाई कार्यकारिणी समितिमा ल्याउन चाहेका छन् भने यादव पक्षधर नेताहरू पार्टीलाई एकल अध्यक्षात्मक प्रणालीमा लैजानुपर्ने तर्क राखेका छन्। दुई अध्यक्षात्ममक प्रणाली असफल भइसकेको उनीहरूको तर्क छ।  

महन्थ ठाकुरले जसपा छाडेर लोकतान्त्रिक समाजवादी पार्टी गठन गरे पछि उनले ओगटेकेको एक कार्यकारिणी अध्यक्ष पद खाली छ। उक्त पदमा भट्टराईलाई ल्याउन भट्टराईनिकट नेताहरूले जोडबल गरिरहेका छन्।

प्रकाशित: ९ माघ २०७८ ०४:२० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App